जोकोभिच फ्रेन्च ओपनमा क्वार्टरफाइनलबाटै बाहिरिए



पेरिस, (एजेन्सी)
नोभाक जोकोभिचको फ्रेन्च ओपन उपाधि जोगाउने योजना अस्ट्रियाका डोमिनिक थिएमले विफल तुल्याइदिएका छन्।

बुधबार पेरिसमा भएको क्वार्टरफाइनल खेलमा थिएमले जोकोभिचलाई सीधा सेटमा ७–६ (७–५), ६–३, ६–० ले पाखा लगाएका हुन्। थिएमको अन्तिम चारमा सामना नौ पटकको विजेता राफाल नाडालसँग हुनेछ। स्पेनका नाडालले आफ्नै राष्ट्रका पाब्लो कारेनो बुस्टाले खेल परित्याग गरेपछि अन्तिम चारमा स्थान बनाए। खेल परित्याग गर्न अगाडि बुस्टा ६–२, २–० ले पछि परेका थिए।

जोकोभिचले गत वर्ष फ्रेन्च ओपन उपाधि जितेर वर्षमा हुने चारै ग्रान्डस्लाम जित्ने खेलाडीको सूचीमा आफूलाई सूचित गरेका थिए। यसपछि ३० वर्षीय सर्बियालीको प्रदर्शन खस्कँदै गएको छ। उनले सोही वर्ष विम्बल्नडनमा तेस्रो चरण पार गर्न सकेनन् भने यूएस ओपनको फाइनलमा उनी पराजित भएका थिए। यस वर्ष पनि उनको प्रदर्शन अगाडि बढेन। अस्ट्रेलियन ओपनमा उनी दोस्रो चरणबाटै बाहिरिएका थिए। फ्रेन्च ओपनमा सन् २०१० पछि पहिलो पटक उनको यात्रा क्वार्टरफाइनलसम्म रह्यो।

म्याच प्वाइन्ट बचाएर जितिन् हालेपले
यसै गरी फ्रेन्च ओपन महिला सिंगल्सतर्फकी उपाधि दाबेदार सिमोना हालेप पनि अन्तिम चारमा पुगेकी छिन्। बुधबार भएको क्वार्टरफाइनल खेलमा म्याच प्वाइन्ट बचाएर रोमानियाकी हालेपले सनसनी जित दर्ता गरेकी हुन्। हालेपले युक्रेनकी एलीना स्विटलिनालाई ३–६, ७–६, ६–० ले हराएकी थिइन्। हालेप ६–३, ५–१ ले पछाडि भएर हारकै निकट थिइन्। तर त्यसपछि लगातार गेम जितेर उनले सेट टाइब्रेकमा जितेर कारोलिना पिलिस्कोभासँग खेल्ने पक्का गरिन्। चेक गणतन्त्रकी पिलिस्कोभाले फ्रान्सकी कारोलिन गार्सियालाई ७–६, ६–४ ले हराएकी थिइन्। योसँगै फ्रान्सकी महिला खेलाडीले सन् २००० पछि आफ्नै घरेलु कोर्टमा उपाधि जित्ने आशा पनि समाप्त भएको छ।

बर्थ डे गल्र्स सेमीफाइनलमा
बर्थ डे गल्र्स टिमिया बेकसिनज्की र यलेना ओस्टापेन्को फ्रेन्च ओपनको महिला सिंगल्सतर्फ सेमिफाइनलमा पुगेका छन्। मंगलबार वर्षाका कारण ढिलो भएको खेलमा लात्भियाकी ओस्टापेन्कोले क्यारोलिन वोजनियाकीलाई ४–६, ६–२, ६–२ ले हराएकी थिइन्। २० वर्षमा लागेकी ओस्टापेन्को महिलाको सेमिफाइनल पुग्नेमा २००७ पछिको पहिलो युवा खेलाडीसमेत हुन्।

डेनमार्ककी वोजनियाकीको पहिलो ग्रान्डस्लाम जित्ने सुन्दर अवसर समाप्त गरेकी ओस्टापेन्कोले स्विजरल्यान्डकी बेकसिनज्कीसँग खेल्नेछिन्। २८ टेकेकी स्वीस खेलाडीले फ्रान्सको घरेलु खेलाडी क्रिस्टिना मिलाडेनोभिचलाई ६–४, ६–४ ले हराइन्।

प्रतिक्रिया दिनुहोस्