डाम्ने शैली



भारतीय सञ्चार माध्यमले नेपालमा नयाँ प्रधानमन्त्री निर्वाचित मात्रै हुनुपर्छ भारत निकटको भनेर लोगो भिराइदिइहाल्छन्। शेरबहादुर देउवा (शेबदे) हिजो मात्रै प्रधानमन्त्री के हुनुभएको थियो उहाँलाई ‘अमर उजाला’ नामको भारतीय पत्रिकाले त्यस्तै उपमा दिएर हिजो ठूलै समाचार बनाएको देखियो।

यसअघि माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराईदेखि सुशील कोइरालासम्मलाई पनि हावाकै भरमा यस्तो लोगो झुण्डइइने गरेको थियो। केपी ओलीलाई पनि शुरूमा उहाँ भारतसँग निकटकै भनिए पनि पछि भने भारतीय मिडिया तर्सेको धरहराले देखेको हो।

कुन अर्थमा निकट वा विकट भनिएको हो कुरा बुझिनसक्नु छ। सीमासमेत खुला भएको छिमेकी त्यसै पनि नजिक भइहाल्छ। त्यस देशको कार्यकारी प्रमुख खुला सिमाना भएको अर्को छिमेकीसँग नजिक नहुने कुरै भएन। तर, गलत अर्थ लाग्ने गरी शुरूमै डाम्ने काम भयो भने त्यसले कस्तो असर गर्ला? विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र उपभोग गरिरहेका छिमेकका मिडियाले बेला बखतमा रमाइलो गर्छन्।

हेर्दै जाऔं– नवनिर्वाचित प्रम शेबदेले कस्तो भूमिका खेल्नुहुन्छ आगामी दिनमा? पहिला त उहाँ अरू समर्थकभन्दा पनि नेपाल र नेपालीको समर्थक बन्नुपर्ला। त्यसपछि अरूसँग पनि झगडा गर्दै हिँड्ने त कुरै भएन। परस्पर लाभहानिका आधारमा समर्थक वा विरोधी हुनुपर्ला। कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्