कूटनीतिक सक्रियता बढाऊ



खाडी क्षेत्रका मुलुकबीच देखिएको कूटनीतिक समस्याको प्रभाव नेपाल तथा नेपालीमा पनि देखिन थालेको छ । साउदी अरेबिया, युएई, इजिप्ट तथा बहराइनलगाएत ६ वटा मुलुकले सयुक्तरुपमा कतारसँगको कूटनीतिक सम्बन्ध तोडेसँगै खाडी मुलुकमा रहेका लाखौं नेपालीमा अन्योलता छाएको छ । खाडी क्षेत्रमा देखिएको कूटनीतिक तनावको प्रत्यक्ष असर नेपालमा पनि देख्न थालिसकेको छ । साउदी अरेबिया र युएईका एयरलाइन्सहरुले काठमाडौंबाट दोहा जाने यात्रु नलाने घोषणा गरे । जसको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेशी तथा विदेशी सयौं यात्रुहरु अलपत्र परेको देखियो ।

कतारको छिमेकीसँगको सम्बन्धमा समस्या आएसँगै त्यहाँ रहेका करिब ६ लाख नेपालीको रोजगारमा पर्न सक्ने असरका बारेमा नेपालले कूटनीतिक छलफल अघि बढाउनुपर्छ । साथै कतार प्रवेश गर्न दुबईको ट्रान्जिट प्रयोग नपाउने भएसँगै दुबई हुँदै कतार प्रवेश गर्ने नेपाली कामदारलाई समस्या पर्ने निश्चित छ । सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको कतारमा लाखौं श्रमिकहरुको माग छ । कतार वैदेशिक रोजगारीमा जाने नेपालीहरुको पनि आकर्षणको केन्द्र बन्दै गएको थियो । नेपालीको वैदेशिक रोजगारीको प्रमुख केन्द्रका रुपमा रहेका खाडी मुलुकहरुमा देखिएको समस्याको कारण वैदेशिक रोजगारीका लागि त्यहाँ जाने तयारीमा रहेका लाखौं नेपालीको भविष्य के हुने भन्ने अन्योल भएको छ । त्यसैले पनि नेपाल सरकारले कूटनीतिक सक्रियता बढाएर नेपालीहरुले खाडी मुलुकमा सुरक्षित र सहज तरिकाले काम गर्न पाउने वतावरण बनाउनुपर्छ ।

इत्तिहाद, फ्लाई दुबईलगायत अन्य एयरलाइन्सहरुले कतारका लागि उडान रद्द गरेसँगै आउजाउमा समेत समस्या देखिएको छ । नेपाल सरकारले यसबारेमा पनि कूटनीतिक पहल गरी यात्रुहरुको सहज आउजाउको वातावरण बनाउने प्रयास थाल्नुपर्छ । कतारलाई आतंकवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमनचयनमा समस्या सृजना गरेको गम्भीर आरोप लगाइएको छ । यो तनाव बढ्दै जाँदा यी देशहरुबीच युद्ध नहोला भन्न पनि सकिँदैन । यदि यस्तो परिस्थिति आइहाल्यो भने रोजगारीका क्रममा खाडी मुलुकमा रहेका आफ्ना लाखौं जनतालाई कसरी सुरक्षित तरिकाले स्वदेश फर्काउने भन्ने बारेमा पनि नेपाल सरकारले बेलैमा ध्यान पुर्याउनुपर्छ । खाडी मुलुकहरुमा बढेको तनावमा लाखौं नेपालीले दुःख नपाऊन् भन्ने हेतुका साथ नेपाल सरकारले कूटनीतिक सक्रियता बढाउन ढिलाइ गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्