कतै ससुरा–बुहारी, कतै दाजु–भाइ भिड्दै



अनिल खत्री, गुल्मी

दोस्रो चरणको निर्वाचनको मिति नजिकिन थालेसँगै विभिन्न खाले उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन्। गुल्मीमा एकै पदमा एउटै घरका ससुरा–बुहारी फरक–फरक पार्टीबाट उम्मेदवार बनेपछि चुनावी रौनकता फरक खालको बनेको छ। इस्मा गाउँपालिकाको वडा नम्बर ६ साविकको अमरपुरमा नेकपा माओवादी केन्द्रले ससुरा हुमबहादुर सार्कीलाई वडा सदस्यको उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले उनकी बुहारी हुमकला सार्कीलाई वडा सदस्यमै उम्मेदवार बनाएको छ।

चुनाव जित्तुहुन्छ त भन्ने प्रश्नमा बुहारीले भनिन्– ‘जनताले मलाई जिताउने कुरामा म ढुक्क छु।’ माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुमबहादुर भन्छन्– ‘हेर्नुस् राजनीति हो बुहारी भन्ने कुरै हुन्न प्रतिस्पर्धा नचल्ने कुरै भएन, म जनयुद्ध कालदेखि राजनीतिमा लागेको मान्छे हुँदा जनताले मलाई नै जिताउने कुरामा म पनि ढुक्क छु।’ २०७० सालसम्म नेकपा एमालेमा रहेकी बुहारी कांग्रेसमा प्रवेश गरेर उम्मेदवार बनेकी छन्। उनका ससुरा भने २०५८ सालदेखि नै माओवादीमा लागेको बताउँछन्।

अर्कातर्फ दोस्रो चरणमा हुने स्थानीय निर्वाचनमा गुल्मीमा एकैघरका दाजुभाइ पनि चुनावी मैदानमा उत्रिएका छन्। बिहान उठेदेखि भाइका विरुद्ध दाजु चुनावी प्रचारमा जुट्ने गरेका छन्।

मुसिकोट नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट यमबहादुर खत्री उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट उनका भाइ ओमबहादुर खत्री वडामा अध्यक्षका उमेदवार बनेका हुन्।

भाइ ओमबहादुर पनि दाजु एमबहादुरलाई हराएरै चुनाव जित्ने बताउँछन् भने दाजु एमबहादुर पनि भाइलाई हराएरै चुनाव जित्ने दाबी गरेका छन् । उनीहरुका स्वर्गीय पिता भीमबहादुर खत्री पनि तत्कालीन जिल्ला पञ्चायतको सदस्य हुँदै लामो समयदेखि राजनितीमा होमिएका व्यक्ति थिए।

उनकै प्रेरणाबाट उनका माइला छोरा एमबहादुर नेपाली कांग्रेसमा र काइँला छोरा ओमबहादुर नेकपा एमालेको सक्रिय राजनीतिमा लामो समयदेखि जुट्दै आएका छन्। एउटै घरका दुई दाजुभाइ दुई पार्टीबाट उम्मेदवार बन्दा आफन्तलाई भने कसलाई भोट दिने भन्ने संकट परेको छ।

प्रतिक्रिया दिनुहोस्