बुटवलमा कला र संगीतबारे बहस



बुटवल, (नेस)। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुधबार बुटवलमा यस क्षेत्रको कला, साहित्य, संगीत, संस्कार र संस्कृतिको विषयमा अन्तरक्रिया गरिएको छ।

अन्तरक्रियामा नेपाली कला, साहित्य, संगीत, संस्कृति, नृत्य तथा नाट्य कला विज्ञ व्यक्तित्वहरूको सहभागिता रहेको थियो। एकदिने उक्त अन्तरक्रियामा प्रदेश नम्बर ५ मा पर्ने भूगोलको लोकसंगीत तथा लोकनाट्य, लोकगीत, लोकनृत्य, लोकबाजा, लोकलय, लोकनाट्य, लोकगाथा, लोककथा र लोकसंस्कृतिको विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूले प्रकाश पारेका थिए। अन्तरक्रियामा आएका सुझावलाई प्रतिष्ठानको ग्रन्थमा समेट्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको हो। सोही अन्तरक्रियामा बोल्दै लेखक तथा गजलकार बुँद रानाले बुटवलमा आयोजित अन्तरक्रियाले यस क्षेत्रको नाट्यकला, संस्कृति, साहित्य, संगीतका विषयमा अध्ययन गर्नका सहज बनाइदिने चर्चा गरे।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. राजाराम सुवेदीले वाणिज्य केन्द्रको रूपमा रहेको रूपन्देही प्राचीन कालदेखि नै महत्त्वपूर्ण मानिँदै आएको चर्चा गरे। अन्तरक्रियाबाट आएका सुझावहरूलाई ग्रन्थमा समावेश गरिने प्राध्यापक डा. सुवेदीले बताए। प्राध्यापक डा. कपिलदेव लामिछानेले रूपन्देहीको रंगमञ्च र नाट्य कला, सहप्राध्यापक मुकुन्दराज शर्माले पाल्पाको जात्रा र नेवारी भजनबारे कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै डा. हिरण्यलाल ज्ञवालीले लुम्बिनी क्षेत्रको संस्कृति र परम्पराबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उन्नति बोहोरा शिलुको अध्यक्षता तथा साहित्यकार बालकृष्ण भट्टराईको स्वागत र दीपक ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो।

प्रतिक्रिया दिनुहोस्