पहिले पुर्जा अनि बल्ल भोट



हामी जग्गा भएर पनि पुर्जा नपाएका पीडित हौं। हरेक चुनावमा पुर्जा बनाइदिने आश्वासनमा भोट दिइरहेका छौं। लालपुर्जा नहुँदा सरकारी बैंकबाट पाइने सहुलियतपूर्ण ऋण तथा बाली बिमासमेत गर्न हामीलाई समस्या छ। जमिन धितो राखेर व्यापार व्यवसाय गर्ने सोच भए पनि लालपुर्जा नहुँदा हामीले केही गर्न पाएका छैनौं। नेताबाट आजसम्म आश्वासन मात्र पाएका छौं।

स्थानीय तह दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मत माग्दै गाउँटोलमा आउन लागेका छन्। हामी जसले लालपुर्जा दिलाउँछ उसैलाई भोट दिन्छौं। कमाइ खाने जमिन नै आफ्नो नाममा नहुँदासम्म हाम्रो प्रगति हुँदैन। हामी रैकवारविचवा गाविसमा पर्ने शान्तिटोलका सबै थारू समुदायको सामूहिक माग हो लालपुर्जा। यहाँ बसोबास गर्ने अधिकांशसँग जमिन भए पनि लालपुर्जा छैन। यसकारण जग्गा बेचबिखन तथा धितो राखेर व्यापार व्यवसाय गर्न नसकिने भएको छ।

हामी सबैसँग पाँच–सात कठ्ठादेखि एक–डेढ बिघासम्म जमिन छ तर लालपुर्जा कसैसँग पनि छैन। यहाँको जमिनको पटक–पटक नापी र कित्ताकाटसमेत भइसकेको छ। तर हालसम्म कसैले पनि लालपुर्जा पाएका छैनन्। यस विषयमा हामीले माग गरे पनि पूरा भएको छैन। हामी पीडितको समस्यामा साथ दिनेलाई मात्रै अब हामी भोट दिने हौं। यसअघिका निर्वाचनमा पनि हाम्रो प्रमुख माग लालपुर्जा नै थियो। तर नेताले त्यसतर्फ चासो दिएनन्। पुर्जा मात्रै हैन, यहाँको बस्ती मोहना नदीको कटानसँगै होचो ठाउँमा भएकाले बाढीको समेत उच्च जोखिममा छ। मोहना नदीले बर्सेनि कटान गरेर खेतीयोग्य जमिन बगाउँदै लगेको छ। तर, पनि हाम्रो पहिलो माग पुर्जा हो अनि बल्ल नदी कटान नियन्त्रण। सबैजसो उम्मेदवारले माग पूरा गर्ने बचन दिएका छन् तर तर भरपर्दाे गरी कसैले पनि प्रतिबद्धता जाहेर गरेको देखिँदैन। हामी हाम्रो माग जसले पूरा गर्छ त्यसैलाई गाउँभरिको मत दिएर विजयी गराउँछौं। आश्वासन बाँड्नेलाई हामीले चिनिसकेका छौं। त्यसकारण काम गर्नेले भोट माग्न आउनुहोला।
– भागीराम चौधरी, कञ्चनपुर

हामी कतारवासी नेपालीले दुःख पाउने हौं कि ?
सोमबार साउदी अरब, इजिप्ट, बहराइन, युएई, लिबिया र यमनले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरे। घोषणा अन्त्यसँगै यहाँ रहेका नेपाली कामदारलाई असर पर्ला कि नपर्ला भन्ने विषयले हामी सबैको ध्यान तानेको छ। वर्षौंदेखि कमाइका लागि यहाँ आएका हामीहरुको अब के हुने हो, थाहा छैन। हामी डराएर बसेका छौं। नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारमा ७ देखि ८ लाखसम्म नेपाली रहेका छन्। कतारमाथि नै ६ वटा मुलुकहरुले कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि त्यहाँ बस्दै आएका नेपालीमाथि स्वतः प्रभाव पर्ने विज्ञहरुले बताएको खबर पनि आमसञ्चारमाध्यममा आइरहेको छ। कामदाहरुमाथि प्रभाव परे पनि तत्काल आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उनीहरुले बताए पनि हामी निक्कै चिन्तामा छौं।

कतारमा रहेका नेपालीमध्ये धेरैजसो ड्राइभर छन्। अधिकांश ड्राइभरहरुले ठूला लहरी चलाउँछन्। उनीहरुको काम भनेको कतारबाट साउदी सामान ओसारपसार गर्नु हो। यस्ता काम गर्नेको बिजोग पो हुने हो कि के हो, हामीलाई चिन्ताले सताएको छ। यसका अलावा बहराइन, युएई र साउदी अरबमा कतार एयरवेजमा काम गर्ने नेपाली छन्। ती देशहरुमा उडान नै नभरेपछि ती कर्मचारीलाई कतार एयरवेजले स्वदेश फिर्ता पठाउला कि अन्य स्थानमा खटाउला भन्ने प्रश्नचिह्न खडा भएको छ।

कतारमा दैनिक जीवनमा उपयोग गरिने खाद्यान्न अधिकांश साउदीबाट नै आउने गर्छ। केही दिनपछि ती सामानहरुको अभाव हुने र नेपाली कामदारको तलवले त्यसलाई धान्न नसक्ने अर्को दमदार समस्या छ। कतारसँग कूटनीतिक सम्बन्ध अन्त्यसँगै कतारको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ। त्यस्तै अवस्था रहिरहे नेपाली कामदार स्वदेश फर्कनुको विकल्प नहुने कुरा पनि सुनिएको छ। बाध्यताले विदेशिएका हामी नेपालीलाई यहाँ पनि साह्रै समस्या पो पर्ने भयो। काठमाडौंबाट कतार आउने धेरै एयरलाइन्सहरु यमन, दिल्ली, युएई ट्रान्जिट भएर जाने हुदाँ नेपाली कामदारलाई केही समस्या पर्ने पनि देखिएको छ। लहरी चलाउने नेपाली कामदारलाई सबैभन्दा बढी समस्या पर्ने देखिन्छ। नेपाली कामदारले कमाएको रकमले खानसमेत नपुग्ने स्थिति आउन सक्छ। यस विषयमा सम्बन्धित निकायले बेलैमा सोच्न जरुरी छ।

अहिले देखिएको समस्या कूटनीतिक तहबाट समाधान नभए कतारमाथि आक्रमण हुन सक्ने भएकोले नेपाली कामदार स्वदेश फर्कनुको विकल्प नभएको कुरा पनि बाहिर आइरहेका छन्। यस विषयमा सरकारी निकायबाट जवाफ चाहिएको छ। ठूलो संख्यामा रहेका नेपाली कामदार स्वदेश फिर्ती भए कतारको आर्थिक क्षेत्र झन् डामाडोल हुन्छ। ६ देशले कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि १४ दिनभित्र कतार छाड्न सम्बन्धित देशले आफ्ना नागरिकसँग आग्रह गरिसकेका छन्। यस विषयमा नेपालबाट उच्चस्तरीय धारणा आउन जरुरी छ। हाम्रो अवस्था के हुने हो, दुर्घटना हुन नदिन सरकारले बेलैमा सोचोस्।
– हरि तामाङ, सुर्खेत⁄हालः दोहा, कतार

सुन तस्करलाई तह लगाऊ
प्रहरीले एक किलो सुन र ४० लाख रुपियाँसहित बौद्धमा २ जनालाई पक्राउ गर्यो। कपडा पसलमा सुनको कारोबार गरिरहेको अवस्थामा मनोजकुमार अग्रवाल र राजन नेपाली पक्राउ परे। गत पुसमा विमानस्थलमा ३३ किलो सुन फेला परेपछि सुनको कारोबार रोकिए पनि पछिल्लो समय तस्करी पुनः शुरु भएको देखिएको छ। दैनिकजसो तस्कर पक्राउ पर्दा सुनका तस्करहरु सलबलाएको पुष्टि हुन्छ।

पछिल्लो समय दुबईमा रहेका सुन तस्कर समूह पुनः सक्रिय भएको खबर मिडियामा आइरहेको छ। वैदेशिक रोजगारीबाट फर्कने क्रममा तोकिएको ५० ग्रामभन्दा बढी सुन ल्याउनेहरू पक्राउ पर्ने गरे पनि संगठितरूपमा सुन भित्र्याउने समूह पक्राउ परेको खबर सुन्न पाइएको छैन। अहिले काठमाडौंको सुन बजार तस्करीको सुनले नै धानिरहेको भन्ने खबर पनि आइरहन्छ। सरकारले तोकेको खरिद गर्न पाउने सुनको परिमाण बढाएको छैन। वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन बिक्री गर्ने गरेका र दैनिक ४० किलो माग हुने सुन बजारमा सुनको अभाव छैन। तातोपानी हुँदै हुने तस्करी सो नाका बन्द भएपछि केरुङ सरेको र ३३ किलो सुन फेला परेसँगै विमानस्थल प्रहरी र भन्सार कर्मचारीको संलग्नतामा विमानस्थलमार्फत हुने गरेको सुन तस्करीको जालो सार्वजनिक भएको थियो। तर अहिले सल्बलाइरहेको भनिएको तस्करको जालोका विषयमा थप अनुसन्धान हुनु जरुरी छ।
– प्रशान्त खनाल, काठमाडौं

प्रतिक्रिया दिनुहोस्