माओवादी केन्द्रको भागमा १० मन्त्रालय, ७ प्रदेशबाट मन्त्री, समावेशी रूपमा छनोट गर्ने



मधुसूदन रायमाझी, काठमाडौं
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारमा १० वटा मन्त्रालय लिने भएको छ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग सहमति जुटाएर थप मन्त्रालयको टुंगो लगाउने निर्णय गरेको हो।

देउवा नेतृत्वको सरकारमा धेरै पार्टीहरूलाई समावेश गर्नुपर्ने भएकाले राप्रपा, फोरम लोकतान्त्रिक नेपालसहितका साना दलका नेताहरूलाई भागवण्डा गरेर मात्र दुई दलबीच मन्त्रालयको भागवण्डा गर्ने सहमति भएको छ।

बुधबार बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले उपप्रधान मन्त्रीसहित तीन जना मन्त्रालाई सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रबाट सरकारको नेतृत्व कृष्णबहादुर महराले गर्नुभएको छ।

महरा उपप्रधानसहित परराष्ट्र, जनार्दन शर्मा गृह र प्रभु शाहलाई विना विभागीय मन्त्री बनाउने निर्णय गरेको थियो। महरा प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित अर्थमन्त्री रहनुभएको थियो भने शर्मा ऊर्जा मन्त्री हुनुहुन्थ्यो। प्रभु शाहलाई कांग्रेससँग मन्त्रालय भागवण्डामा समझदारी नजुटेको कारण विना विभागीय मन्त्री बनाइएको छ।

पार्टी केन्द्रीय कार्यालयको बैठकले सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी ७ जनालाई मन्त्री बनाउने निर्णय गरेको छ। प्रचण्ड नेतृत्वको सरकारमा माओवादीले ८ वटा मात्र मन्त्रालय लिएको थियो।

यसपटक कांग्रेसले सरकारको नेतृत्व गरेको हुनाले बढी मन्त्रालय पाउनुपर्ने अडान माओवादीले अगाडि सारेको छ। केन्द्रीय कार्यालयका सदस्य मणि थापाले मन्त्री छनोट गर्दा सात प्रदेशबाट ७ जना र समावेशी ढंगले मन्त्री छनोट गर्ने निर्णय भएको बताउनुभयो।

उहाँले कति मन्त्रालय लिने भन्ने विषयमा कांग्रेससँग समझदारी हुन बाँकी रहेको बताउँदै कांग्रेससँग सहमती भए लगत्तै २ दिनभित्र नै पार्टीबाट मन्त्री बन्नेहरूको टुंगो लाग्ने बताउनुभयो। नेता थापाले भन्नुभयो– ‘मन्त्री छनोटमा पार्टीभित्र विवाद छैन, कांग्रेससँग सहमति जुटेपछि पार्टीबाट सरकारमा जाने मन्त्रीहरूको टुंगो लाग्छ।’

प्रदेश नम्बर ५ बाट कृष्णबहादुर महरा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्नुभएको छ। त्यसै गरी प्रदेश नम्बर ६ बाट जनार्दन शर्मा गृहमन्त्री र प्रदेश नम्बर २ बाट प्रभु साह बिनाविभागीय मन्त्री बन्नुभएको छ। अब चारवटा प्रदेश ४ जनामा प्रदेश नम्बर १ बाट शिवकुमार मण्डल, प्रदेश नम्बर ४ बाट हितराज पाण्डे मन्त्री बन्ने सूचिमा रहनुभएको छ।

पाण्डे प्रचण्ड नेतृत्वको सरकारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री रहेर राप्रपा सरकारमा सहभागी हुने भएपछि मन्त्री पद छोडनुभएको थियो। प्रदेश नम्बर ७ बाट कर्णबहादुर विकलाई मन्त्री बनाउने तयारी गरिएको माओवादीका एक नेताले बताए।

प्रदेश नम्बर ३ बाट तीन जना मात्र सांसद् रहेका छन्। अग्नी सापकोटा दुई पटक हरिबोल गजुरेल पनि यसअघि मन्त्री भइसकेकाले यस पटक ३ नम्बर प्रदेशबाट श्यामकुमार श्रेष्ठलाई मन्त्री बनाउने गृहकार्य भएको ती नेताले बताए।

सापकोटा र गजुरेल दुवैले दाबी गरेको अवस्थामा नयाँ अनुहारबाट श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने माग पनि पार्टीभित्र उठेको छ। मन्त्री बन्ने सूचीमा गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेतलगायतको सूचि पनि रहेको छ। कांग्रेससँग मन्त्रालयको टुंगो लगाएपछि प्रचण्डले पार्टीकोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने तयारी गर्नुभएको छ।

केन्द्रीय कार्यालयको बैठकमा प्रचण्डले अहिले सरकारमा अनुभवी र राम्रो काम गरेकाहरूलाई पठाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो। ‘हामीले चुनावमा चामल पनि बेच्न सकेनौं। अबको दोस्रो चरणमा यो कुरालाई मनन गर्न जरुरी छ’ –प्रचण्डको भनाइ उद्धृत गर्दै नेता थापाले भन्नुभयो– ‘पहिलाको भन्दा हामी सुधे्रका छौं।

माओवादी सकियो भनेका पनि थिए।’ अब माओवादी उठ्यो। सबैले म मन्त्री हुन्छु भनेर पनि भएन। दाबी गर्ने साथीहरूलाई भावी दिनमा हेर्दै जाऔंला।’

प्रचण्डले नवनियुक्त गृहमन्त्री जनार्दन शर्मालाई ‘स्टार अफ दी क्याम्पेनर’ घोषणा गर्नुभएको छ। मन्त्री छनोटका क्रममा उहाँले शर्मालाई ‘स्टार अफ दी क्याम्पेनर’ घोषणा गर्नुभएको हो। प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री रहनुभएका शर्मा बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्रीको शपथ लिन जानुभन्दाअघि बसेको बैठकमा प्रचण्डले प्रशंसा गर्नुभएको थियो।
शर्माले उर्जामन्त्रालयको नेतृत्व सम्हालेपछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्नुभएको थियो। घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि वर्षौदेखि लोडसेडिङ रहँदै आएको मुलुकलाई लोडसेडिङमुक्त गराइएको थियो।

प्रचण्डले शर्मालाई गृहमन्त्रीमा सिफारिस गर्दा सहभागी नेताहरूले एकमतले समर्थन जनाएको बैठकमा सहभागी एक नेताले बताए।

बैठकमा नेताहरूले उर्जा मन्त्रालयकोजस्तै सफलता गृहमन्त्रालयमा पनि पाउने गरी काम गर्न गृहमन्त्री शर्मालाई शुभकामना दिएका थिए। केही मन्त्रीले पार्टीको काम कार्यकर्ताको काम गरेन जो मन्त्री जो उसैको सन्तानको निमित काम गरे। यदि मन्त्रीमण्डलमा काम पुराना असफल निरन्तरता दिए भने सार्वजनिक रूपमा मन्त्रीहरूको आलोचना शुरू गर्छौं।

माओवादीबाट सरकारमा सहभागी हुनका लागि टोपबहादुर रायमाझी, अग्नी सापकोटा, हरिबोल गजुरेलले माग गरे पनि पहिलो चरणमा मन्त्री बन्न सक्नुभएन। बैठकमा नेता थापाले अब बन्ने मन्त्रीहरूले राम्रो काम गरेनन् भने आफू सार्वजनिक रूपमा विरोधमा उत्रिने चेतावनी दिनुभएको थियो। पार्टी एकताले माओवादीको शाख बढेको बताउँदै उहाँले यसलाई अझैं बढाउन जनताको पक्षमा काम गर्ने कुरामा जोड दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्