गर्मीले जनजीवन हायलकायल



कृष्णउदास खनाल, वीरगन्ज
जेठको दोस्रो सातादेखि गर्मी अत्यधिक बढेका कारण पर्सासहित मध्यतराईको जनजीवन प्रभावित भएको छ। जेठको दोस्रो साता यता एक दिन मात्र पानी परे पनि तापक्रम भने अत्यधिक वृद्धि भई चर्को गर्मी र प्रचण्ड घामका कारण सर्वसाधारणको दैनिकी नै अस्तव्यस्त बनेको छ।

बाराको सिमरा विमानस्थलमा रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार जेठ ११ गतेदेखि पर्सा बारा र आसपासको क्षेत्रमा ४० डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहँदै आएको छ। गत बुधबार ३६, बिहीबार ३८, शुक्रबार ३६, शनिबार ३७, आइतकार ३७, सोमबार ३५, मंगलबार ३८ र बुधबारको अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम विज्ञान विभाग फिल्ड कार्यालयका प्रमुख केशवराज खरेलले जानकारी दिनुभयो।

जेठ ११ गते अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको थियो। एक साता यता बिहानदेखि नै चर्को घाम लाग्दै आएका कारण सडक तथा बजारमा मानिसहरूको चहलपहल पनि निकै कम हुने गरेको छ। चर्को गर्मी र प्रचण्ड घामका कारण ज्यलादारीमा काम गर्ने मजदुरलाई सास्ती भएको छ। ग्रामीण क्षेत्रमा खेतमा काम गर्ने कृषि मजदुर तथा शहर बजारमा रिक्सा र ठेला चलाउने मजदुरहरूको जनजीवन पनि गर्मीका कारण कष्टकर बनेको छ।

टाउको नै फुट्ने खालको उर्खाउलो गर्मी छ, बसपार्क क्षेत्रमा दिउँसो आराम गरिरहेको अवस्थामा भेटिएका रिक्सा चालक रौतहटको सन्तपुरका रामलखन साहले भन्नुभयो– ‘दिउँसो यति धेरै चर्को घाम लाग्छ कि रोडमा निस्कने हिम्मत नै गर्दिन, त्यसैले बिहान र बेलुकी मात्रै रिक्सा चलाउँछु, दिउँसो भने आराम गरेर बस्छु।’ गर्मी अत्यधिक भएपछि विद्यार्थीलाई पनि सास्ती भएको छ। वीरगन्जका अधिकांश सामुदायिक र निजी विद्यालयका कक्षाकोठामा विद्युतीय पंखा नभएका कारण दिउँसोको समयमा विद्यार्थीलाई सास्ती हुने गरेको हो।
गर्मी अत्यधिक बढेका कारण वीरगन्जका अस्पताल र निजी स्वास्थ्य क्लिनिकहरूमा बिरामीको चाप पनि बढेको छ। वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पछिल्ला दिनमा बिरामीको चाप बढेको अस्पतालका निमित्त मेसु डाक्टर चित्तरन्जन साहले बताउनु भयो। गर्मी बढेदेखि अस्पतालमा भाइरल ज्वरो र झाडा पखालाका बिरामीहरूको संख्या बढेको साहले जानकारी दिनुभयो। गर्मीको समयमा पातलो कपडा लगाउन र पानी तथा झोलयुक्त खाना बढी सेवन गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। गर्मीबाट बच्नका लागि बिहान बेलुका मात्र घर बाहिर निस्किने, सकेसम्म दिउँसो चर्को घाम लागेका बेला घरबाट बाहिर निस्किने, निस्कनै परे पूरा शरीर ढाक्ने गरी कपडा लगाउने र छाताको प्रयोग गर्ने, चिसो र रसिलो तरल पदार्थहरू बढी सेवन गर्नुपर्ने डाक्टरहरूको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्