नेताको भोट बैंक बन्दै डोटीको बोगटान सडक



विमल विष्ट, डोटी
डोटीको दक्षिणी क्षेत्रमा पर्ने सहजपुर बोगटान सडक वर्षौंदेखि यहाँका राजनैतिक दलहरूको भोट बैंक बन्न थालेको छ। बोगटान सडक निर्माण कार्य थालनीको वर्षौं बितिसक्दा समेत यो सडक अझै सम्पन्न हुन सकेको छैन। चुनाव चलेका समयमा यहाँका राजनैतिक दलका नेताले यसै सडकलाई अघि सारेर जनता माझ भोट माग्ने गरेको तथा चुनाव सकिएपछि कसैले पनि खासै वास्ता नगर्ने गरेको स्थानीयको आरोप छ।

कैलालीको सहजपुरबाट डोटीको बीपीनगर, बोगटान हुँदै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायल पुग्ने भनिएको सडक निर्माण कार्य शुरू भएको ३२ वर्ष पुगिसक्दा पनि जम्माजम्मी ३२ किलोमिटर धुले सडक निर्माण भएको छ।

प्रजातन्त्र आएपछि त यो सडक निर्माण कार्यले तीव्र गति लेला भन्ने आश बोकेका यहाँका स्थानीयबासी सडकले खासै गति नलिएपछि निरास भएको स्थानीय प्रकाशबहादुर कलेलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘बाजेका पालादेखिको यो सडक बन्ने आस अझै पूरा भएनन्, अब कहिले होला।’ २०४८ सालमा प्रतिनिधिसभाको चुनाव लड्दा नेपाली कांग्रेसका उम्मेदवार सिद्धराज ओझाले सहजपुर–बोगटान–दिपायल सडकलाई मुख्य नारा बनाएका थिए।

सडककै नाराले ओझा देशमै सबैभन्दा बढी मतान्तरले जितेका थिए। आफूले बोगटानीलाई दिएको आश्वासन (सहजपुर–बोगटान–दिपायल सडक निर्माण) सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा नपारेको भन्दै २०४९ सालमा ओझाले सांसद पदबाट राजीनामासमेत दिएका थिए। सडक निर्माणलाई तीव्रता दिने आश्वासनसहित ओझाले राजीनामा फिर्ता लिएका थिए। ओझाको सांसद पद त जोगियो तर सडक निर्माण कार्यले गति लिन सकेन। सहजपुर–बोगटान–दिपायल सडक निर्माण कार्य अघि बढाएको भन्दै सिद्धराज ओझाले २०५१ सालको मध्यावधि निर्वाचनमा भोट मागे र पुनः जिते पनि। २०५६ सालको संसदीय निर्वाचानसम्म यो सडकको १८ किलोमिटर ट्रइक खुलिसकेको थियो। त्यति बेला सडक निर्माणका लागि छुट्टै परियोजना कार्यालय डोटीको बीपीनगरमा खोलेको जस लिँदै ओझाले यसै ठाउँबाट तेस्रोपटक पनि चुनाव जिते। सडक निर्माणको आशामा जनताले तीन⁄तीन चुनाव जिताएका ओझा तीनपटक मन्त्री पनि भए। २०६४ सालको संविधानसभाको निर्वाचनमा समेत सो क्षेत्रमा ओझा नै नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बने। तर, उनले पराजय भोग्नुपर्यो। ओझाको जीवनकालमा १८ किलोमिटर सडक मात्रै बन्यो। अहिले नेता ओझाको निधन भइसकेको छ।

संविधानसभाको पहिलो निर्वाचनमा चुनाव जित्ने तत्कालीन नेकपा माओवादीका सभासद् खेम बमले अवरुद्ध सहजपुर–बोगटान–दिपायल सडक निर्माणलाई मुख्य नारा बनाएर भोट मागेको थिए। तर माओवादीबाट निर्वाचित भएका सभासद् बमले पनि केही लछारपाटो नलाएको स्थानीयको आरोप छ। २०७० सालको संविधानसभाको दोस्रो चुनावमा सहजपुर–बोगटान–दिपायल सडक निर्माणको अधुरो काम आफूले पूर्ण गर्ने भन्दै भोट मागेका नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर आलेमगरलाई बोगटानीबासीले भोट हालेर जिताए। सांसद आलेमगरले उक्त सडकमा आफूले ८४ करोड रकम विनियोज गराएको दाबी गरेका छन्। जसले जे भने पनि बोगटान सडकलाई निकट भविष्यमै दिपायल जोडेर पिच रगाएरै छाड्ने लक्ष लिएको सभासद् आलेमगरले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘म अरूको जस्तो हावादारी गफ गर्दिनँ, यो सडक पिच गर्न सकेन भने राजनीतिबाट नै संन्यास लिन्छु।’ ८४ करोड बजेट विनियोन भएपछि अहिले उक्त सकडले गति लिनेमा यहाँका स्थानीयहरू हर्षित भएको पाइएको छ।

त्यस्तै सभासद् आलेमगरले आफ्नो पहलमा उक्त सडक सरकारको बहुवर्षे योजनामा समेत राख्न सफल भएको दाबी गरेका छन्। यही असार १४ गते हुने स्थानीय तहको चुनावका लागि दलहरूले तय गरेका उम्मेदवारहरूले पनि सहजपुर–बोगटान–दिपायल सडकको मुद्दा उठान गरिरहेको स्थानीयबासी बताउँछन्। उनीहरू भन्छन्– ‘फेरि पनि त्यही सडकको नाममा बोगटानी जनताको आँखामा छारो हाल्ने काम भएको छ, यो सडक बन्ला भन्ने आशै मरिसक्यो।’ अहिले उक्त सडकको लम्बाइ जम्मा १ सय ५ किलोमिटर मात्रै रहेको छ। गाउँघरमा भोटमाग्न आएका नेतालाई अहिले यहाँका स्थानीयबासीले बोगटान सडक निर्माणका विषयमा कुनै माग नगर्ने गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्