लक्ष्मीकुमार साह, महोत्तरी
असार १४ गते हुने दोस्रो स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै महोत्तरीलगायत सर्लाही र रौतहटमा तीन दिनका लागि सीमानाका सिल गरिने भएको हो।

बिहारको सीतामढी जिल्लासँग नेपालतर्फका महोत्तरीको ३६ किलोमिटर दूरी, सर्लाहीको ५२ किमि दूरी र रौतहटको १६ किमि गरी जम्मा १ सय ४ किलोमिटरको दूरी जोडिएको सीमानाकामा ३ दिनका लागि सिल गरिने भएको हो।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अध्यक्षतामा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकास्थित छिनमस्ता सशस्त्र प्रहरी गणमा सम्पन्न सीमा सुरक्षा समितिको संयुक्त बैठकमा प्रजिअ यादवले असार १४ गते हुने दोस्रो स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरिएको बताउँदै निर्वाचनलाई लक्षित गर्दै बिहारको सीतामढी जिल्लासँग नेपालतर्फ जोडिएको १ सय ४ किलोमिटरको दूरीमा दुवैतर्फका केन्द्रीय निकायबाट आपराधिक गतिविधि हुन नदिन सजगता अपनाइने निर्णय गरिएको बताए। उनले आवागमन गर्नेमाथि कडा निगरानी राख्ने, आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने र शान्ति व्यवस्था सबल बनाउन दुवैतर्फले केन्द्रीय निकायमा अनुरोध गर्ने निर्णय गरेको बताए। निर्वाचन अवधिभर दुवैतर्फका सुरक्षाकर्मीले सीमाक्षेत्रमा सघन गस्ती र सुरक्षा परिचालन बढाउने सहमतिसमेत भएको छ।

बैठकमा भारतको सीतामढीका डीएम राजीव रोशनले असार १४ गते हुने दोस्रो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै संयुक्त बैठकले भारतको सीतामढीसँग नेपालतर्फ जोडिएको १ सय ४ किलोमिटरको दूरीमा असार ११ गते मध्यरातदेखि १४ गते हुने निर्वाचन मतदान अवधि अबेर रातिसम्मका लागि सीमानाका पूर्णरूपले सिल गरिने निर्णय भएको बताए।

बैठकमा महोत्तरी प्रजिअ वीरेन्द्रकुमार यादव, सर्लाही र रौतहटका प्रजिअहरू प्रदीपराज कँणेल र उद्धव थापा र तीनै सुरक्षा निकायका प्रमुखहरू र विहारको सीतामढी जिल्लाका डीएम राजीव रोशन नेतृत्वमा अन्य सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY