आठवटा खानेपानी योजना सम्पन्न



म्याग्दी, २४ जेठ । जिल्लामा चालु आर्थिक वर्षमा आठवटा खानेपानी योजना सम्पन्न भएका छन् ।

जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाबाट यस वर्ष जिल्लामा १६ वटा नयाँ खानेपानी आयोजनासहित थप २० वटा खानेपानी योजनामा निर्माण र त्यसपछि मर्मतका लागि योजना छनोट गरिएको थियो ।
यसै वर्षदेखि निर्माण सुरु गरिएका नयाँ १६ वटा खानेपानी आयोजनामध्ये अहिलेसम्म आठवटा आयोजना निर्माण भएको परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आगामी असार महिनाभित्र थप दुईवटा खानेपानी आयोजना निर्माण हुनेछ भने हाल बाबियाचौरको पात्लेपानी खानेपानी तथा सरसफाइ योजना, ओखर बोटको खालखोला, बिमको ओख्ले बिम्वाङ, घारको विरौटा, अर्मनको पिपलबोट, रुमको सेउलुङ अधिभारा, बङरजाको बाघ हान्ने गौँडा र डेगखोला खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएका हुन् ।

त्यस्तै पाखापानीको कालाबाङ र ओखरबोटको कालपोहर खानेपानी तथा सरसफाइ योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण भएका आठवटा खानेपानी आयोजनाबाट ४४७ घरधुरी लाभान्वित भएका छन् ।
चालु आर्थिक वर्षमा सो परियोजनाले जिल्लाका १६ वटा खानेपानी आयोजना र २० वटा योजनाका लागि नेपाल सरकार, फिनल्यान्ड सरकार, जिल्ला समन्वय समिति, वडा कार्यालयको आर्थिक अनुदान र उपभोक्ताको श्रमदान गरी कुल रु पाँच करोड ५७ लाख २२ हजार लागेको थियो रासस

प्रतिक्रिया दिनुहोस्