ललितपुरको ढुंगाखानीमा अज्ञात समूहले एक्स्काभेटर जलायो



नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुरको देविचौर स्थित ढुंगाखानीमा गएराती एक एक्स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका छन् ।

बिनायक एग्रिगेट प्रालिद्वारा संचालित ढुंगा खानीमा ढुंगा उत्खनन् गर्न राखिएको उक्त एक्स्काभेटर पूर्ण रुपमा जलेको महागनगरीय प्रहरी वृत चापागाउँले जनाएको छ ।

प्रारम्भिक रुपमा घटनाको प्रकृति र वातावरण हेर्दा जलाईएको हुन सक्ने भन्दै प्रहरी वृत चापागाउँका प्रमुख डिएसपी श्याम राईले घटनामा संलग्न व्यक्तिहरुलाई चाँडै पक्राउ गर्ने बताउनुभयो । ‘हामीले घटनामा संलग्नलाई खोजविन गर्ने कार्यलाई तिव्रता दिएका छौँ ।’, उहाँले भन्नुभयो, ‘चाँडै पक्राउ गरी सार्वजनिक गछौँ ।’

बेलुका साँढे ११ बजेतिर १०–११ जनाको समूहमा आएको र त्यसपछि केही समयपछि ठूलो आवाज सहित एक्स्काभेटरमा आगलागी भएको देखिएको खानीमा कार्यरत कर्मचारीहरुले बयान दिएका छन् ।

२ सय १० सिसिको उक्त एक्स्काभेटर पूर्णरुपमा जलेर ९० लाख बराबरको क्षेती भएको संचालक मध्येका एक संदिप ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्