शेयर बजारका लगानीकर्ताले ४० अर्ब कमाए



नेपाल समाचारपत्र
काठमाडौं
सरकार परिवर्तनसँगै साताको तेस्रो दिन मंगलबार शेयर बजारमा पनि उर्लिएको छ। पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै शेयर बजारमा ओरालो लागेको थियो। तर, सरकार परिवर्तनको चर्चासँगै शेयर बजारमा सुधार भएको थियो।

मंगलबार बजार खुल्नासाथ निरन्तर उकालो लागेको नेप्से बजार बन्द हुँदा ३४ दशमलब ७२ अंकले बढेर १६३७ दशमलब ३७ पुगेको हो। कूल १४८ कम्पनीको १४ लाख ९६ हजार कित्ता शेयर ९१ करोड १६ लाख रुपियाँ बराबरमा किनबेच भयो। कारोबार रकम अघिल्लो दिनको तुलनामा २९ करोडले बढी हो। नेप्से करिब ३५ अंकले वृद्धि हुँदा शेयर बजारका लगानीकर्ताले ४० अर्ब रुपियाँभन्दा बढी कमाएका छन्। यसदिन समग्र बजार पुँजीकरण १९ खर्ब १५ अर्ब रुपियाँ पुगेको छ। अघिल्लो दिन १८ खर्ब ७५ अर्ब रुपियाँ थियो।

यस दिन बीमा समूहको १ सय ७२ दशमलब ५७ अंकले बढेको छ। त्यस्तै होटल समूह ६२ दशमलब ३८, बैंकिङ समूह ३५ दशलब ८२ अंक, जलविद्युत् ३५ दशमलब ६८, विकास बैंक ३५ दशमलब ३८, अन्य समूह १५ दशमलब ६२ र फाइनान्स समूह ७ दशमलब ३१ अंकले बढेको छ। तर, उत्पादन समूह भने १४ अंकले ओरालो लागेको छ।

यस दिन उच्च कारोबार हुनेमा सिभिल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ इन्स्योरेन्स, नेपाल लाइफ र हिमालयन जनरल इन्स्योरेन्सलगायतका कमपनी रहेका छन््। जसमध्ये सिभिल बैंकको ७ करोड २५ लाख, स्टान्डर्ड चार्टर्ड बैंकको ६ करोड ८२ लाखको कारोबार भएको छ।

त्यस्तै मिथिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशत, आरएसडीसीका लगानीकर्ताले ९ दशमलब ९ र वल्र्ड मर्चेन्ट बैंकिङका लगानीकर्ताले ८ दशमलब ५ प्रतिशतले कमाउँदा बोटलर्स नेपाल तराईका लगानीकर्ताले २ दशमलब ९ प्रतिशतले गुमाएका छन्। मंगलबार बैंक अफ काठमाण्डु, एनएमबी माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सको थप शेयर सूचीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस्