मधेसवादी दलहरूसँग तीन बुँदे सम्झौता



काठमाडौं, (नेस)
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई सुनिश्चितसमेत गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डु ले प्रधानमन्त्रीका लागि मतदान हुनुअघि मंगलबार मधेसी दलहरुसँग तीनबुँदे सम्झौता गर्नुभएको छ। सोही सहमतिअनुसार ती पार्टीहरुले प्रधानमन्त्री पदको मतदानका क्रममा देउवालाई मत दिएका थिए।

संविधान संशोधनलगायत तीनबुँदे सहमतिसँगै राजपाले प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा सभापति देउवालाई समर्थन गर्ने निर्णय गरेको थियो। उक्त सहमतिपत्रमा कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डु र राजपाका अध्यक्ष मण्डलका नेता महेन्द्र राय यादव, शरद्सिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले हस्ताक्षर गर्नुभएको छ।

अघिल्लो सरकार गठनका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता, संघीय आयोग गठन, संविधान संशोधन, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, घाइतेलाई उपचार र पीडितलाई क्षतिपूर्तिका बाँकी काम पूरा गर्नाका साथै स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा वृद्धि गर्ने सैद्धान्तिक सहमति भएको छ।

सहमतिको तेस्रो बुँदामा प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा कांग्रेस सभापति देउवाका पक्षमा मतदान गरिने उल्लेख छ। राजपाबाट व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने २४ सांसद हुनुहुन्छ।

यसै गरी संघीय समाजवादी फोरम नेपालसँग पनि सोही तीनबुँदे सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा काँग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ। फोरमसँग व्यस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने १५ सांसद हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्