निर्दोषलाई पनि सजाय



लक्ष्मीकुमार साह, महोत्तरी
महोत्तरीका एक व्यक्तिले आफूले नगरेको अपराधमा १५ दिनसम्म कारागारमा सजाय काटेका छन्।

महोत्तरी गाउँपालिकाको वडा नं. १ अलिपट्टी बस्ने ऐनुल राईनले आफू निर्दोष हुँदाहुँदै पनि अदालतको आदेशले १५ दिनसम्म कारागारमा सजायका साथै जरिवाना पनि तिरेको खबर बाहिर आएको हो।

जिल्ला अदालत महोत्तरी तथा नेपाल प्रहरीको लापरबाहीका कारण ऐनुल निर्दोष हुँदाहुँदै आफू १५ दिनसम्म कारागारमा सजाय काटेको गुनासो गरेको छ। प्रहरीले जबरजस्ती पक्राउ गरेर अदालतमा बुझाएपछि अदालतले पनि सत्य तथ्य न पता लगाई आफूलाई कारागार चलान गरेको ऐनुलले गुनासो गरेको छ।

आफ्नै भाइ जैनुल हकले गरेको अपराधको सजायस्वरूप कारागारमा ऐनुललाई कुटपिट मुद्दामा बस्नुपरेको थियो। अदालतबाट कैद सजाय पाई फरार रहेकाहरूको खोजतलास गरी पक्राउ गर्ने क्रममा ऐनुललाई पिपरा प्रहरीले जेठ ८ गते पक्राउ गरेका थिए। पक्राउ पश्चात् सोही दिन अदालतमा पेस गरिएका उनलाई अदालतले झुक्किएर ऐनुललाई नै सजायको भागिदार बनाएका थिए।

महोत्तरी गाविस–८ (तत्कालीन) बस्ने विष्णुदेव मण्डल धानुकलाई कुटपिट मुद्दामा अदालतले जैनुल राईलाई दोषी ठहर गर्दै २०५१ जेठ १५ गते फैसला गरेका थिए । फैसलामा जैनुललाई २ हजार ५ सय जरिवाना र एक महिना कैद सजायको फैसला गरेपछि उनी फरार रहँदै आएका थिए।

तर, प्रहरीले पक्राउ गरेपछि अदालतले जैनुलको ठाउँमा ऐनुललाई नै सजाय स्वरूप र जरिवाना तिराउन कारागार चलान गरेका थिए। तर, पछि ऐनुलले अदालतमा आफ्नो नागरिकता पेस गरेपछि उनलाई अदालतले छाड्ने आदेश दिएपछि उनी रिहा भएका थिए। सोमबार रिहा भएका उनले आफू कुनै पनि अपराधमा संलग्न नरहेको बताए पनि प्रहरीले केही नसुनी पक्राउ गरेर अदालतमा पेस गरेको गुनासो पोखेका थिए।

अदालतको फैसलापश्चात् फरार रहेका जैनुल एक वर्षदेखि अपहरण मुद्दामा झुमका कारागारमा रहेको जनाइएको छ। ऐनुलले अदालतको फैसलाअनुसार नै रसिद नम्बर ४८७ बाट अदालतले तोकेको २ हजार ५सय रुपियाँ पनि तिरिसक्नुभएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दीपक पोखरेलले आफूहरूले अदालतको आदेशअनुसार पक्राउ गरेको बताए।

प्रतिक्रिया दिनुहोस्