८२ प्रतिशत रकम केन्द्रको नियन्त्रणमा राख्नु ऐनविपरीत



नेपाल समाचारपत्र
रसुवा
नयाँ संरचनाअनुसार सिंहदरबारको काम गाउँबाटै हुने बताए पनि मन्त्रालयबाट बजेट गाउँमा नगएकाले ५ वर्षमा विकास गर्न कठिनाइ हुने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनुभयो।

अहिले विनियोजन गरिएको बजेट स्वायत्त शासन ऐनअनुसार गाउँपालिका वा नगरपालिकाको परिषद्बाट पारित गरेर खर्च गर्न सकिने भए पनि बजेट केन्द्रीय मन्त्रालयको नियन्त्रणमा रहेकाले सोर्सफोर्सको आधारमा रकम जिल्लामा जानसक्ने चुनौती रहेको पाण्डेको भनाइ थियो।

नेकपा एमाले जिल्ला कमिटी रसुवाले आज सदरमुकाम धुन्चमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शभकामना ज्ञापन कार्यक्रममा पाण्डेले भन्नुभयो– ‘गाउँमा १८ प्रतिशत रकम गएको र बाँकी ८२ प्रतिशत रकम केन्द्रमा नै रहेको छ’। केन्द्रले नै कार्यक्रम बनाउने र बजेट पठाउने भएपछि विकास निर्माणले कसरी गति लिन्छ उहाँले प्रश्न गर्नुभयो। एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका पाण्डेले पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई दोस्रो चरणको चुनाव सकिएपछि बजेट बनाउने, योजना बनाउने तथा कानुन बनाउनेलगायतका प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।

जननिर्वाचित प्रतिनिधि भोज तथा रमाइलो गर्नेभन्दा जनताको आवश्यकता बुझेर काम थाल्नुपर्ने उँहाको भनाइ थियो। ‘५ वर्षपछि हुने अर्को निर्वाचनमा नयाँ जनप्रतिनिधिलाई जिम्मा लगाउँदा अहिलेको जस्तै जिम्मा लगाउने वातावरण सिर्जना हुन नदिनका लागि आजैदेखि योजना बनाउन थाल्नुपर्छ’ –पाण्डेले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्