शव चाँडै ल्याउन सरकारसँग माग



काठमाडौं, (नेस)
रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका प्युठानका विक्रम एमसीको सवारी दुर्घटनामा परी मृत्यु भएपछि मृतकका आफन्तले यथाशक्य चाँडो नेपालमा शव ल्याउन सरकारसँग गुहार मागेका छन्।

प्युठान नगरपालिका–८ धर्मावती रानिकाम्ला निवासी एमसीको गत वैशाख ३० गते एमयल ट्रान्सपोर्टेसन नामक कम्पनीको ट्रक चलाइरहेका बेला साउदीको दमाम शहरमा दुर्घटनामा परी मृत्यु भएको थियो।

एमसीको विदेश गएको तीन महिनामै मृत्यु भएको हो। उनी २०७३ माघ २४ गते विदेश गएका थिए भने उनको मृत्यु यही वैशाख ३० गते भएको आफन्तले बताएका छन्।

एमसीको मृत्यु भएपछि श्रीमती कमला एमसीसँगै उहाँका छोराहरू निकै मर्कामा परेको मृतकका दाजु विदुर एमसीले नेपाल समाचारपत्रलाई जानकारी दिए। उनले भने– ‘२ लाख २० हजार रुपियाँ ऋण मागेर दुई छाक गुजारा चलाउन क्षितिज इम्प्लोइमेन्ट सर्भिस प्रालि काठमाडौं, वसुन्धारामार्फत गत माघ २४ गते भाइ विक्रम विदेश गएका थिए। विदेश गएको चार महिना नपुग्दै मृत्यु भएपछि घर परिवारको विचल्ली भएको छ।’

रोजगारीका लागि काम गर्दागर्दै मृत्यु भएमा बीमा गरेको रकमको केही रकम सरकारले उपलब्ध गराउने भने पनि आफूहरूले अहिलेसम्म एक पैसासमेत नपाएको र सरकारले आफूहरूलाई कुनै वास्ता नगरेको मृतकका अर्का दाइ रामबहादुर एमसीले बताए।

उनले भने– ‘हामी परिवारका सदस्यहरू समूह नै बनाएर शव ल्याउन माग गर्दै काठमाडौं हानिएका हौं। कमसेकम सरकारले छिटोभन्दा छिटो शव नेपाल ल्याउन पहल गरिदिए र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइदिए हुन्थ्यो। हामीलाई विदेशबाट शव ल्याउन निकै हम्मेहम्मे भयो।’

मृत्यु भएको ५० दिन बितिसक्दा पनि अझै एमसीको शव नेपाल आउन नसक्दा पीडितहरू निकै समस्यामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्