नयाँ प्रधानमन्त्री, असीग्रामदेखि सिंहदरबारको चौथो यात्रासम्म



सुरेश तामाङ, काठमाडौं
माओवादी केन्द्र, राप्रपा तथा मधेस केन्द्रितका साथै साना दलहरूको समर्थनमा संसद्को ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको ४०औं प्रधानमन्त्री बन्नुभएको छ।

देउवा यसअघि तीनपटकसम्म प्रधानमन्त्री भइसक्नुभएको छ। उहाँ झन्डै दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो। देउवा २०७२ फागुन २० देखि २४ मा भएको कांग्रेसको १३औं महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएको हो।

विसं २००३ जेठ ३१ मा सुदूरपश्चिमको डडेल्धुरा असीग्राम गाविस–५ मा जन्मनुभएका देउवाले विभिन्न समयमा राजनीतिक संघर्षका क्रममा १० वर्ष जेलजीवन बिताइसक्नुभएको छ।
त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा कानुनमा स्नातक गर्नुभएका उहाँ त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्दै बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्समा रिसर्च फेलो हुनुभएको थियो।

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसंघको प्रथम सभापति हुँदै २०४६ सालमा प्रजातन्त्र आएपछिका तीनवटै संसदीय निर्वाचन र दोस्रो जनआन्दोलनपछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुँदै आउनुभएको छ।

४५ वर्षको उमेरमा गृहमन्त्री बनेको ५ वर्ष नबित्दै उहाँ प्रधानमन्त्रीको कुर्सीमा आसीन हुन पुग्नुभएको थियो। २०४८ सालको आमनिर्वाचनपछि गृहमन्त्री बन्नुभएका उहाँले २०५२ सालमा १८ महिना, २०५८ सालमा साढे १४ महिना र २०६१ सालमा ८ महिना गरी तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ।

पार्टीभित्रको विमतिहरूलाई लोकतान्त्रिक विधिले व्यवस्थापन गर्नुभन्दा नेतृत्वलाई अप्ठइरो पार्ने कदम चाल्ने, गुटबन्दीमा रमाउने र पार्टी नेतृत्वलाई असहयोग गर्ने भनी यसअघि उहाँलाई आरोप लाग्ने गर्दथ्यो।

पार्टीलाई विभाजन गरेको र दरबारमा प्रजातन्त्र बुझाएको, आफू प्रधानमन्त्री भएका बेला सांसद खरिदविक्रीलगायत विकृतिजन्य काम गरी संसदीय प्रणालीलाई बदनाम गरेको, विधान सम्मतरूपबाट पार्टीको विभिन्न विभाग गठनलगायत अन्य समितिहरू गठनका क्रममा नेतृत्वलाई असहयोग गरेको समेत बेलाबेलामा पार्टीभित्र कुरा उठ्ने गर्दछ।

त्यस्तै गरी, देउवालाई राजनीतिमा मनी र मसललाई हावी गराएको, आफ्नो निजी र गुटगत स्वार्थका लागि कृष्णप्रसाद भट्टराईको इतिहास र व्यक्तित्वलाई दुरुपयोग गरेको, कार्यकर्तासमक्ष राजकीय ठाँटबाँटका साथ प्रस्तुत हुने, आन्दोलनका बेला र कठिन समयको बेला संघर्षको मैदानबाट भाग्ने र आशीर्वादबाट सत्ताको खोजी गर्ने, पार्टीमा योगदान गरेका, दुःख पाएका कार्यकर्ताहरूको उपेक्षा गर्ने र नवकांग्रेसीहरूमाथि बढी भर गर्ने गरेको आरोप लाग्ने गर्दछ।

आम नेपालीको जस्तै संघर्षशील पारिवारिक पृष्ठभूमि रहेको, ऐतिहासिक विद्यार्थी संगठनबाट राजनीतिमा उदय, विचार र लक्ष्यमा एकोहोरो लगाव, अद्यावधिक निर्णय क्षमता, संयोजन कार्यमा लचकता, राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिको अध्ययन, नवीन निर्णयमा ‘रिक्स’ लिनसक्ने खुबी, उदार मन र सरलता तथा अहम् र दम्भको अभाव उहाँमा रहेको पार्टी कार्यकर्ताको मूल्यांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्