जिल्ला अस्पताललाई ६० लाख खर्च गर्न सकस



धनवीर दाहाल, रुकुम
आर्थिक वर्षको अन्तिमतिर जिल्ला अस्पताल रुकुमको भौतिक पूर्वाधार निर्माणका लागि आएको ६० लाख रकम खर्च गर्न अस्पताललाई सकस भएको छ। टेन्डर गर्नका लागि पनि समय अभाव भएका कारण अस्पताललाई सकस भएको हो।

बजेटको अभावले अस्पतालको स्तर उन्नति हुन नसकिरहेको अवस्थामा आर्थिक वर्षको अन्तिममा रकम आउनुले अस्पताललाई निल्लु न ओकल्नु भएको छ।

जिल्ला अस्पताल रुकुममा केही भौतिक पूर्वाधार निर्माणका लागि ६० लाख रुपियाँ हालै मात्र सरकारले छुट्याएको छ तर आर्थिक वर्ष सकिनै लाग्दासमेत त्यसलाई कसरी खर्च गर्ने अन्योल जिल्ला अस्पताललाई परेको छ। आएको बजेटलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा चुनौती रहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डक्टर राजेन्द्रबहादुर जिसीले बताउनुभयो। भौतिक पूर्वाधार निर्माण तथा जिल्ला अस्पतालको शैय्या थप गर्ने विषयमा पहल थालिएको भए पनि आएको बजेटलाई कसरी कार्यान्वन गर्ने भन्ने विषयमा अस्पताल टिम अलमल परेको छ। तर, जिल्ला अस्पताल रुकुमलाई आधुनिकीकरण गर्नका लागि पहल थालिएको भने बताइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय रुकुमका अनुसार आधुनिकीकरण र १५ शैय्याबाट ५० शैय्याको अस्पताल बनाउन पहल थालिएको हो। सरकारले हरेक स्थानीय तहमा ५० शैय्याको अस्पताल बनाउने घोषणा गरेको भए पनि २०४५ सालमा बनेको जिल्ला अस्पताल १५ शैय्याबाट अझै पनि बढ्न सकेको छैन। तर, जिल्ला अस्पताल विकास समितिले यथाशीघ्र ५० शैय्याको बनाउन पहल गरिरहेको जिल्ला अस्पताल रुकुमका अध्यक्ष शिवलाल आचार्यले जानकारी दिनुभयो।
यस्तै सरकारले स्वास्थ्य संस्थाहरूको क्षमतावृद्धिसँगै दुर्गमका जनताहरूलाई जतिसक्दो बढी सेवा दिने उद्देश्यले केही नयाँ नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको भए पनि रुकुममा भने पूर्णरूपमा कार्यान्वयन भएको देखिँदैन। जिल्ला अस्पतालमा सरकारले सञ्चालन गरेको स–शुल्क फार्मेसी सेवा तथा सरकारको स्वास्थ्यसम्बन्धीको नीति तथा कार्यक्रमबारे रुकुमका स्थानीयलाई भने केही जानकारी छैन।

प्रतिक्रिया दिनुहोस्