‘उधारो उठाउन मुस्किल पर्छ’



शिवहरी न्यौपाने
प्रोप्राईटर, शिव इन्टरप्राइजेज
भुकम्पपछी नेपाली बजारमा पाइप तथा फिटिङ सामाग्रीको माग बढ्न थालेको छ । पुनर्निर्माण कार्य तथा लोडसेडिङको अन्त्यसँगै भवन निमार्ण कार्य बढेको हुँदा फिटिङ सामाग्री बजारमा अत्याधिक खपत भइरहेको हो ।

पहिलेको भन्दा बजार धेरै राम्रो छ तसर्थ भविष्यमा पनि बजार झन् राम्रो होला भन्नेमा पाइप तथा फिटिङ व्यवशायी विश्वश्त छन् । नेपालजस्तो विकासशील राष्ट्रमा नवनिर्माण त हुने नै भयो, भूकम्पको कारण पुनर्निर्माणका आयोजना तीब्र गतिमा बढीरहेका छन् । शहरीकरण तीब्र गतिमा हुँदै छ त्यसकारण हाम्रो बजारको भविष्य उज्ज्वल देखिन्छ ।

अन्य निर्माण सामाग्री झैं पाइप तथा फिटिङ सामाग्रीको मूल्यमा वृद्धि नभएको व्यवशायीको दावी छ । बजार प्रतिश्पर्धी भएकाले सर्बसाधारणले सोचे झैं फाईदा धेरै हुन्छ भन्ने हुँदैन । जताजतै हार्डवेयर पसल भएकाले हामीले सस्तोमा सामान बेच्नुपर्ने हुन्छ ।

मूल्यको कुरा गर्नुपर्दा पाईप तथा फिटिङ्गसको मूल्यमा ५० प्रतिशत डिस्काउन्टसम्म पाइन्छ । उपभोक्ता ठगिने सम्धावना नभएपनि मूल्यमा १० प्रतिशतसम्म फरक भने पर्न सक्छ । मूल्य ब्राण्ड हेरेर फरक पर्छ । यसमा उपभोत्ता ठगिने कुनै डर हुँदैन किनभने कम्पनीले नै आफ्नो उत्पादनको रेस्पोन्सिबिलिटी लिएका हुन्छन् । त्यसकारण ग्राहक वर्गलाई मूल्य दाँजेर गुणस्तरमा कम्प्रमाईज नगर्नु राम्रो हुन्छ ।

माग यत्तिको रुपमा बढीरहेको अवस्थामा पनि यहाँको मागलाई स्थानीय उत्पादनले धान्न भने सकेको छैन । नेपालमा वार्षिक १ अर्ब ३४ करोड रुपियाँ बराबारको पाइप एन्ड फिटिङका सामाग्री भारतबाट आयात हुने गरेका छन् । चीनबाट भित्रिने सामाग्रीको मूल्य त्योभन्दा पनि बढी छ ।

आपुर्तिमा नेपाली उत्पादनको हिस्सा एकदमै थोरै छ । नेपालमा उपभोग हुने अधिकांश पाईप तथा फिटिङ्गसको सामाग्री भारत अथवा चीनबाट आयात हुने गर्छ । भारतबाट आयातित सामाग्री बढी टिकाउ हुने तथा अन्यभन्दा तुलनात्मक रुपमै अलि महंगो हुने भएकाले उच्च आर्थिक हैसियत हुनेहरु भारतीय सामाग्री किन्न रुचाउँने गरेका हुन् । त्यस्तै चीनबाट आयातीत सामाग्रीको मूल्य तुलनात्मक रुपमै कम तथा गुणस्तर पनि कम हुने भएकाले अर्काथरी ग्राहकको रोजाईमा चीनबाट आयातीत सामाग्री पर्ने गर्छन् । चीनबाट आयातीत निर्माण सामाग्री तुलनात्मक रुपमा कम टिकाउका हुन्छन् ।

पाइप एन्ड फिटिङ व्यापार लाईन भनेको उपभोत्ताको खल्ती रित्तीसकेपछि खर्च गर्ने लाईन भएकाले व्यवशायीले विभिन्न चुनौतीको सामना गर्नुपरेको छ । साधारणतया घरको स्ट्रक्चर बनिसकेपछि अन्त्यमा पाइप तथा फिटिङको काम गर्ने गरिन्छ । तसर्थ घर निर्माणकर्ताले यसका लागि भनेर खासै रकम छुट्याएको हुँदैन, छुट्याएपनि सक्किईसकेको हुन्छ ।

त्यसकारण अलिअलि पैसा हुनेपनि सस्तो सामान किन्न चाहन्छन् । यसका लागि निर्माणकर्ता चिनेको मान्छे कता छ, उधारो कता पाइन्छ भन्ने खोज्न थाल्छन् । ठूलो परिमाणमा बेचेको सामानको पैसा उठाउन लाई साधारणतया २–३ वर्ष लाग्ने गरेको छ ।

पैसा सकाइसकेका उपभोक्ता उधारोमा सामान किन्न चाहन्छन् । सामान स्टकमा रहनुभन्दा बेचियोस् भन्ने व्यवशायी चाहन्छन् । तसर्थ उनीहरु उधारो चलाउन बाध्य हुन्छन् । तर उधारोमा बेचको सामानको पैसा उठाउन व्यवशायीलाई हम्मेहम्मे पर्ने गरेको छ ।

समग्रमा भन्नुपर्दा पेमेन्ट सिस्टम गन्जागोल हुने गरेको छ । तसर्थ पाइप तथा फिटिङ व्वशायीको माग भनेको अमेरिकाको जस्तो एउटा सरकारी संयन्त्र बनोस् जसले जोसुकैलाई लोनमा सामान दिएपनि सहजै उठाउन सकियोस् भन्ने हो ।

(पाइप तथा फिटिङ व्यवशायी शिवहरी न्यौपानेसँग नेपाल समाचारपत्रका लागि रोविन पौडेलले गरेको कुराकानीमा आधारित ।)

प्रतिक्रिया दिनुहोस्