२७ घरमा चोरी गरेको अभियोगमा दुईजना पक्राउ



नेपाल समाचारपत्र, बुटवल । बुटवल तथा आसपासका क्षेत्रमा चोरीका २७ वटा घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरी डाका तथा चोरी मुद्धा चलाएको छ । त्यस्तै उनीहरुले चोरी गरेका सामाग्रि किन्ने ४ जनालाई पनि पक्राउ गरि कारवाही अंगाडी बढाएको प्रहरीले बताएको छ ।
२०७१ फागुन यता बुटवल तथा आसपासका क्षेत्रहरु तिलोत्तमा, सैनामैना देवदह लगायतका २७ वटा चोरीका घटनामा संलग्न रहेको आरोपमा रुपन्देहीको देवदह नगरपालिका वडा नं. ३ टटेराका ३० वर्षीय हिरा चौधरी र नवलपरासीको सुनवल नगरपालिका वडा नं. २ बत्रौलीका २६ वर्षीय सन्तोष कलवारलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै उनीहरुले चोरी गरेका सामाग्रि खरिद गरेको आरोपमा प्रहरीले नेपालगञ्जका ५२ वर्षीय दामोदर सुनार, ४२ वर्षीय राजकुमार थापा, ३२ वर्षीय अमित सोनी र खजुरा–४ बाँकेका ३६ वर्षीय भिमबहादुर खत्रीलाई पक्राउ गरि आवश्यक कारवाही अंगाडी बढाएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले जानकारी गराउनु भयो ।
रातको समयमा झ्यालको ग्रिलमा लगाएको स्क्रुप पेचकसले खोली झ्यालको ग्रिल निकालेर भित्र पस्ने र घर भित्र भएका नगद, मोवाईल, ल्यापटप, आईप्याड तथा सुनका गरगहना, धनमाल चोरी गर्ने गरेको र चोरी गरेको सामान सस्तो मुल्यमा खरिद गर्ने गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई चोरी मुद्धामा अदालतबाट म्याद थप परि हिरासतमै अनुसन्धान अंगाडी बढाईएको उहाँले बताउनु भयो ।
उनीहरुको साथबाट प्रहरीले १ लाख ४४ हजार रुपैंया नगर सहित सुनको मुन्द्रा, लकेट सहितको सुनको सिक्रि, सुनको औंठी २ थान, सोनी कम्पनीको क्यामेरा, ७ वटा मोवाईल सेट, सुनको ढिक्का दुई थान बरामद गरेको छ ।
हिरा र सन्तोष मिलेर बुटवलको ढवाहा स्थित पबित्रा आचार्यको घरमा ३ लाख ८ हजार एक सय बराबरको सुनका गरगहना चोरी गरेको, जितगढीका सन्तोष जिसीको कोठाबाट ८ लाख ३० हजार नगद तथा सुनका गरगहना चोरी गरेको, वेलबासकी गीता वञ्जाडेको घरबाट ३ लाख २४ हजार बराबरको नगद तथा सुनका गरगहना चोरी गरेको, त्यस्तै बेलबासकै पासाङ् पथमा बिष्णु विष्टको घरबाट १ लाख १५ हजार बराबरको नगद तथा गरगहना चोरी गरेको, सुख्खानगर बस्ने सुरजबहादुर कवरको डेराबाट २ लाख ६१ हजार ७६३ रुपैंया बराबरको सुनका गरगहना चोरी गरेको अभियोगमा प्रहरी पक्राउ गरेको हो ।
आचार्यको घरमा २०७३ जेठ २ गते, जिसीको घरमा २०७३ पुस १४ गते, वञ्जाडे र विष्टको घरमा २०७४ बैशाख ५ गते र कवरको डेरामा २०७४ बैशाख १९ गते चोरी भएको थियो । त्यस्तैगरी २०७३ असार १९ गते तिलोत्तमा २ योगिकुटीका दयानीधि पौडेलको घरमा चोरी गरेको, २०७३ भदौ २१ गते राती सैनामैना कालिका चोकका बिष्णु गौतम, सोही स्थानका अंकिता घिमिरे र सुनगाभा टोलकी अस्मिता भुसालको घरमा चोरी गरेको, त्यहि कात्तिक ६ गते राती तिलोत्तमा भलवारीकी लक्ष्मी भण्डारीको घरमा चोरी गरेको उनीहरुलाई अभियोग छ ।
त्यसबाहेक उनीहरुलाई प्रहरीले २०७३ माघ ४ गते सैनामैना पुकारबाल्टीका रेशमराज अर्यालको घरमा चोरी गरेको, माघकै १७ गते तिलोत्तमा २ का बसन्त भट्टराईको घरमा चोरी गरेको, फागनु १० गते जानकरी नगरकी मीना अधिकारीको घरमा चोरी गरेको, फागुनकै २० गते मणिग्रामका विजुला सापकोटाको घरमा चोरी गरेको, चैतको १० गते तिलोत्तमा डिंगरनगरका पार्वतीकुमारी पौडेलको डेराबाट चोरी गरेको र २०७४ बैशाख ११ गते तिलोत्तमा नयाँमिल स्थित कमला काफ्लेको डेरामा चोरी गरेको अभियोगमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यस बाहेर पुराना ११ वटा मुद्धामा उनीहरु उपर मुद्धा चलेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्