देउवाले यसरी छान्दैछन मन्त्री, माओबादीलाई ८ मन्त्रालय



नेपाल समाचारपत्र, काठमाडौं ।
नेकपा एमाले भरतपुर प्रकरणमा सर्वोच्च अदालतको निर्णय मान्न तयार भएपछि आज बस्ने संसद बैठकमार्फत नयाँ प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।
आज दिउँसो १ बजे बस्ने पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने र त्यहि बैठकमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र संसदमा पढेर सुनाउने कार्यतालिका तय भएको छ ।

त्यसपछि आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन प्रकृया सुरु हुनेछ । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकोमात्र उम्मेदवारी परेपनि संसदमा मतविभाजन गर्नुपर्दछ ।

दोस्रो बैठकमा समर्थक र प्रस्तावकले बोलेपछि निर्णायर्थ प्रस्तुत गरिनेछ । देउवाको समर्थनमा झण्डै दुई तिहाईको संख्यामा सांसदहरुको समर्थन गर्ने निश्चित भएको छ । योसँगै देउवा चौथो पटक प्रधानमन्त्रीका रुपमा निर्वा्चित हुने छन् ।
उनी गणतन्त्र स्थापनापछिको दशौं तथा नेपालको ४० औं प्रधानमन्त्रीका रुपमा झन्डै दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री हुदैछन् ।
सोमबार साँझ सभामुख ओनसरी घर्ती मगरसहित बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा भएको सहमतिपछि प्रमुख प्रतिपक्षी दल एमाले संसदको अबरोध हटाउन तयार भएपछि देउवा आज प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
गत आइतबार नै प्रधानमन्त्रीको निर्वाचन हुने कार्यतालिका रहेपनि भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै एमालेले संसद चल्न नदिने बताएपछि एमालेकै आग्रहमा संसद बैठक मंगलबार १ बजे बस्ने गरीस्थगित गरेकी थिइन् ।
कांग्रेस सभापति देउवालाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, नेकपा संयुक्त लगायतका गरी झन्डै दुई तिहाई सांसदको समर्थन छ ।
प्रधानमन्त्रीमा निर्वाचित हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा आफ्नो पार्टीबाट तीनजना मन्त्री बनाउने भएका छन् । उनले रामचन्द्र पौडेलसँग पनि कुरा गरेर मन्त्री छानेको कांग्रेस स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पहिलो चरणका गोपालमान श्रेष्ठ, महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने देउवाले सोच बनाएका छन । गोपालमान श्रेष्ठले उपप्रधानमन्त्री दावी गरेको बुझिएको छ ।

पार्टी भित्रैबाट कृष्ण सिटौलालाई उपप्रधानमन्त्री बनाउन देउवालाई दबाव परिरहेको बुझिएको छ । सत्ता सहयात्री र विपक्षी दलहरुसँग डिल गर्नका लागि पनि गोपालमान भन्दा सिटौला सहज हुने उनीहरुको तर्क छ ।

महेश आचार्यलाई अर्थमन्त्री बनाउने र भौतिक पूर्वाधार मन्त्रालय ज्ञानेन्द्रवहादुर कार्कीलाई दिने तयारी देउवाको छ । आचार्य कांग्रेसमा रामचन्द्र पौडेल समूहका हुन् । तर, उनी देउवासँग पनि त्यति टाढा छैनन ।

देउवा समूहमा अर्थमन्त्रालय चलाउने प्रभावशाली नेता छैनन् । रामशरण महत, डा. नारायण खड्का, महेश आचार्य सबै पौडेल पक्षमा छन् । तीमध्ये आचार्यलाई देउवाले आफू अनुकुल ठानेर अर्थमन्त्री बनाउन लागेको बुझिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय पछिल्लो समय देउवाले आफ्ना विश्वासपात्रलाई मात्रै दिने गरेका छन् । यसअघि विमलेन्द्र निधी र रमेश लेखकलाई भौतिक पूर्वाधार मन्त्री बनाएका देउवाले यसपटक ज्ञानेन्द्र कार्कीलाई दिन लागेका हुन् ।

वरिष्ठताका हिसाबले गोपालमान श्रेष्ठले उपसभापति दाबी गर्दै आए पनि श्रेष्ठलाई भने देउवाले आफू नेतृत्वको सरकारमा ल्याएर पार्टीमा निधीलाई उपसभापति मनोनित गर्ने बाटो खुलाउन लागेका हुन् ।

उनलाई संसदीय दलको उपनेता बनाउने चर्चा पनि चलिरहेको थियो । यसपटक उनले उपप्रधानमन्त्री दावी गरेका छन् ।

यता शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा माओवादीले ८ वटा मन्त्रालय पाउने भएको छ । सुरुमा माओवादीले दुई मन्त्री पठाउने तयारी गरेको छ ।
स्रोतका अनुसार माओवादीले अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्मालाई गृहमन्त्री बनाउने भएको छ ।

माओवादीका तर्फबाट सरकारको नेतृत्व भने कृष्णबहादुर महराले गर्नेभएका छन् । महराले उपप्रधानमन्त्रीसहित मन्त्रालय सम्हाल्ने छन् ।

महराले सम्हाल्ने मन्त्रालयको टुंगो अझै लागिसकेको छैन । तर, माओवादीले महरालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बनाउनुपर्ने माग गरेको छ ।

उर्जामन्त्रीका रुपमा काम गर्दा लोडसेडिङ हटाउन भूमिका खेलेका कारण चर्चा कमाएका जनार्दन शर्मा पनि दोर्होयाएर मन्त्री बन्न पाउने भाग्यमानी ठहरिएका छन् ।

माओवादीभित्र गृहमन्त्रीका रुपमा अग्नि सापकोटा र शक्ति बस्नेत लगायतको चर्चा चले पनि धेरै नेताहरुको रोजाइमा जनार्दन परेका छन् ।

त्यसो त माओवादी नेता टोपबहादुर रायमाझीले पनि उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गरेका थिए । तर, उर्जामन्त्री हुँदा मुकेश काफ्लेसँग मिलेर कुलमान घिसिङलाई जिम्मेवारीविहीन पारेको र लोडसेडिङ बढाएको आरोपका कारण टोपबहादुरको छवि माओवादीभित्र राम्रो छैन ।

रायमाझी सीमांकन हेरफेर र संविधान संशोधन प्रस्तावमा पार्टी नीतिको खुलेआम विरोध गर्दै केपी ओलीसँग नजिक बनेको आरोप पनि माओवादी भित्र लाग्दै आएको छ । यही कारणले गर्दा टोपबहादुर महाराभन्दा पछि परेका छन् ।

त्यसो त महरा पनि माओवादीभित्र खासै सक्षम र सफल नेता मानिँदैनन् । तर, थोरै सांसदहरु भएका कारण उनी सदाबहार मन्त्री भइरहन पाउने भाग्यमानी ठहरिएका हुन ।

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई पनि पूर्वअनुभवका आधारमा गृहमन्त्री बनाइनुपर्ने माओवादीभित्र केही नेता कार्यकर्ताले लबिङ गरेका छन् । तर, पहिलोचरणको स्थानीय चुनावमा बस्नेतको गृहजिल्ला जाजरकोटले राम्रो नतिजा ल्याउन नसकेको र जनार्दन शर्माले रुकुममा सबै सीट जितेका कारण बस्नेत पार्टीको छनोटमा पछि परेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्