श्रम बजार भारतीय मजदुरको कब्जामा



नेपाल समाचारपत्र
हेटौंडा
बाराको कलैयाबाट करिब चार वर्षअघि हेटौंडा आएर घर बनाउने ठेकेदारी काम गरिरहेका रामलखन यादव घरधनीसँगको बार्गेनिङ अनुसार घर बनाएको ज्याला तय गर्छन्।

वर्गफुट वा हचुवाको भरमा भए पनि पैसा लिने गरी आफूहरूले काम गर्ने उनले बताए। उनले आफ्नो ‘पकड’ मा रहेका निर्माण मजदुरलाई अन्यत्र जान नदिन ठूलै मेहनत गर्नुपर्छ।

त्यहाँ कामको खोजीमा आउनेमध्ये अधिकांश भारतीयमूलका मजदुर हुन्छन्। रक्सौल, मोतीहारी र घोडासनलगायतका ठाउँबाट भारतीय मजदूर बढी आउने गरेको ठेकेदार यादवले बताए।

कतिपय ठेकेदारहरूले यहाँको श्रम बजार उपयुक्त देखेर यही घडेरी किनेर घर बनाएका छन्। यसो गर्दा स्थानीय घरधनीसँग परिचय बढ्ने र आफ्नो पेशा विस्तार हुने यादवको विश्वास छ।

ठेकेदार चित्त नबुझे मजदुरहरू अर्को ठेकेदारको खेमातिर पुग्छन्। र, उनीहरूले भनेबमोजिम निर्माणको काम गर्छन्। लामो समयदेखि चल्दै आएको यस्तो बजारमा घरधनीलाई आकर्षित गरेर ठेक्का हत्याउन ठेकेदारहरू कम्मर कसेर लागिरहेका देखिन्छन्।

उनीहरू घर निर्माण गरिदिने ज्याला, इँट्टा, ढुंगा, बालुवा, रड र सिमेन्टलगायत निर्माण सामग्री निर्माणस्थलमा ल्याउन घरधनीले कुनै प्रकारको दुःख गर्नु नपर्ने आश्वासन बाँड्छन् र कामको ठेक्का लिन्छन्।
हेटौंडा बजारको मुख्य क्षेत्रमा हरेक दिन विहान असंगठित क्षेत्रका करिब पाँच सय मजदुरको भीड लाग्छ। दिनहुँ काम खोज्ने र काम दिने पक्षबीचको अस्तव्यस्त बजारका रूपमा रहेको उक्त सीमित घेरालाई मजदुरहरूले ‘लेवर चोक’ नाम दिएका छन्।

त्यहाँ घर बनाउन ठेक्का लिने पक्ष, घरधनी, सिकर्मीदेखि घर बनाउन आवश्यक कच्चापदार्थ आपूर्तिकर्ताहरू निकै व्यस्त र तनाव अवस्थामा रहन्छन्। करिब एक घण्टाको व्यस्ततापछि उक्त चोक रित्तिन्छ। किनकि, मजदुरहरू आ–आफ्नो कार्यस्थलमा जिम्मा लिएको काम गर्न जान्छन्। यो नै हेटौंडा क्षेत्रको सम्भवतः एकमात्र ‘श्रम बजार’ हो।

हाल मजदुर र मिस्त्रीको ज्याला निकै महंगिएकाले ठेक्काको दर बढाउनुपरेको ठेकेदार दिवेश रायको भनाइ छ। कामदारलाई प्रतिदिन कम्तिमा ७ सय रुपियाँ र मिस्त्रीलाई एक हजार रुपियाँ ज्याला दिनुपर्ने भएकाले घर निर्माण खर्च बढेको उनले बताए।

मुख्य बजारको फुटपाथमा काम खोज्ने र काम दिनेहरूको बाक्लो जमघट रहने भएकाले फुटपाथबाट हिँड्ने सर्वसाधारण पैदलयात्रुलाई भने मर्का पर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्