नयाँ च्याम्पियन बन्ने पक्का



पेरिस, (एजेन्सी)
फ्रेन्च ओपनमा सबैभन्दा पाको उमेरकी खेलाडी भेनस विलियम्स पराजित भएसँगै प्रतियोगिताको महिला सिंगल्सतर्फ नयाँ खेलाडीले पहिलो ग्रान्डस्लाम जित्ने पक्का भएको छ।

आइतबार रोलान्ड ग्यारोसको रातो माटोको कोर्टमा भेनसलाई टिमिया बेकसिन्जकीले ५–७, ६–२, ६–१ ले चौथो चरणमा हराएकी थिइन्। ३६ वर्षीया अमेरिकी खेलाडीले सात ग्रान्डस्लाम जिते पनि फ्रेन्च ओपनमा भने च्याम्पियन बन्न पाएकी छैनन्। यसपटक नाम चलेका खेलाडी बाहिरिनुले भेनसले पहिलो फ्रेन्च ओपन जित्ने आशा राखेकी थिइन्।

शीर्ष खेलाडी सेरेना गर्भवतीका कारण प्रतियोगितामा सहभागी भइनन्। मारिया सारापोभाले वाइल्डकार्ड नपाएपछि खेल्न पाइनन् भने डिफेन्डिङ च्याम्पियन गार्बिन मुगुरुजा पनि चौथो चरणबाट बाहिरिइन्। त्यस्तै अर्का उपाधि दाबेदार जर्मन खेलाडी एन्जेलिक केर्बर पहिलो चरणबाटै बिदा भएकी थिइन्। यी सबै खेलाडी नभएपछि प्रतियोगितामा चौथो चरणको समाप्तिसम्ममा ग्रान्डस्लाम च्याम्पियन खेलाडी कोही पनि बचेका छैनन्।

बेकसिन्जकीले भेनसलाई हराएर लगातार तेस्रो पटक फ्रेन्चओपनको अन्तिम आठमा स्थान बनाएकी छिन्। उनको सामना फ्रेन्च महिला खेलाडी क्रिस्टिना मिलाडेनोभिचसँग हुनेछ। क्रिस्टिनाले गत वर्षकी महिला सिंगल्स च्याम्पियन स्पेनी खेलाडी गार्बिनलाई तीन सेटमा हराएकी थिइन्।

यसै गरी प्रतियोगिताको उपाधि दाबेदारीमा सबैभन्दा अगाडि रहेकी सिमोना हालेप पनि अन्तिम आठमा सहजै पुगिन्। रोमानियन खेलाडीले स्पेनकी कार्ला स्वारेज नभारोलाई ६–१, ६–१ ले हराएकी थिइन्। उनको सामना युक्रेनकी एलिना स्वीटोलीनासँग हुनेछ। स्वीटोलीनाले क्रोएसियाकी पेट्रा मार्टिचलाई ४–६, ६–३, ७–५ ले हराएकी थिइन्। मार्टिच तेस्रो तथा निर्णायक सेटमा ५–२ र ३–० ले अगाडि थिइन्।

प्रतिक्रिया दिनुहोस्