धुर्मुस–सुन्तली नमुना नेपाल बनाउँदै



हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले राजधानीमा नेपालभित्रै नमुना नेपाल बनाउने भएका छन्। २ वर्षअगाडि गएको प्रलयकारी भूकम्पछि राज्यसमेत अलमलिरहेका बेला ३ ठूला एकीकृत बस्ती बनाएर राष्ट्रिय नायक सावित भएका सीताराम–कुञ्जनाले फेरी पनि नेपाललाई विश्वमा चिनाउने परियोजनास्वरूप नमुना नेपाल निर्मँण गर्ने घोषणा गरेका हुन्।

भूकम्प गएलगत्तैदेखि केहीअगाडिसम्मको समयमा देशमा ३ प्रधानमन्त्री फेरिए पनि पुनर्निर्माणको कार्य अगाडि बढ्न नसकेको समयमा काभ्रेको डाँडागाउँमा एकीकृत पहरी बस्ती, सिन्धुपालचोकको गिरानचौरमा गिरानचौर एकीकृत बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरी हस्तान्तरण गरेका सीतारामले परियोजनाबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित कार्यक्रममा नमुना नेपाल घुमेपछि जोसुकैले सिंगो नेपाल घुमेको अनुभूति गर्ने बताए। सीताराम र कुञ्जनाद्वारा सञ्चालित धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सीतारामले परियोजनाका लागि ५ अर्ब लाग्ने र प्रत्येक नेपालीले २ सय रुपियाँ सहयोग गरे यथेष्ट हुने बताए।


‘सोलुबाट बुबाआमाको हात समाउँदै झापा झरेको एउटा डरपोक बालक आज कलाकारिता हुँदै देश सेवामा निस्केको छ’, सीतारामले परियोजनाको अवधारणाबारे तयार पारिएको भिडियो सार्वजनिक गरेपछि भने– ‘मनमा खुसी पनि छ, उमंग पनि छ, आँट पनि छ। अनि त्यत्तिकै मीठो डर पनि छ, त्रास पनि छ, के हुने हो भनेर। एउटा साधारण किसानको छोरो म, देश बनाउन सकिन्छ भनेर दिन–रात घर–परिवार र पेसा नभनी, गरिब, दुःखी र पीडितका लागि भारी बोकेर हिँडिरहेको छु। यो अवधिमा यसरी नै खटेर हामीले आफूलाई मात्र ध्यान दिएका थियौं भने पनि राम्रै कमाउन सक्थ्यौं होला। तर, हामीलाई कमाई भन्दा देश बनाउनु छ। आज गरिब देशको नागरिक भएकै कारणले हामी नेपालीले विभिन्न ठाउँमा विभेद भोगिरहनुपरेको छ। हाम्रो अभियान त्यो विभेदको अन्त्य गर्न पनि हो।’ सीतारामले भने– ‘आज हामी युरोप पुगेर मिनी युरोप घुमेर आयौं भन्छौं, थाइल्यान्डलगायत अन्य देशमा बनेका डिज्नील्यान्ड घुमेर मग्नमुग्ध हुन्छौं, भारतको अक्षयधाम पुगेर नतमस्तक हुन्छौं। अब हामी हाम्रै नमुना नेपाल घुमेपछि गर्वले भन्ने छौं नेपालभित्रको नेपाल, नमुना नेपाल घुम्यौं। एकदिन विश्वभरिका मानिसले यसै गरी भन्ने छन्– हामीले पनि नेपालमा बनेको नमुना नेपाल हेरेर आयौं भनेर।’ उनले थपे– ‘हामीले जति पनि काम गर्यौं सरकारलाई सघाउनकै लागि गरेका छौं। त्यसैले यो नमुना नेपाल अभियानमा सरकारले खुलेर साथ र सहयोग गर्नेछ भन्नेमा हामी विश्वस्त छौं र सरकारको साथ मिलेन भने पनि हामी नमुना बनाउने छौं भन्ने पनि प्रण गर्दछौं। १७ सय रुपियाँ बोकेर राजधानी छिरेको मलाई र मेरो परिवारलाई यो ५ अर्ब निकै नै ठूलो रकम हो।

तर, सरकारका लागि यो सामान्य हो। प्रत्येक नेपालीले मात्र २ सय रुपियाँ प्रतिव्यक्ति सहायता गर्दा पनि ६ अर्ब जुट्दो रहेछ, हाम्रो त अनुमानित बजेट त मात्र ५ अर्ब हो। प्रत्येक विदेशी भूमिमा दुःख गरिरहनुभएका नेपालीले प्रतिव्यक्ति २ हजार नै सहायता गर्दा पनि ८⁄९ अर्ब रकम जुट्दो रहेछ। यसरी नै रकम जुटाउन सकिन्छ भनेर पनि हो हामीले नमुना नेपालको आँट गरेको।’ सीतारामले जग्गाको व्यवस्थापन र आर्थिक पुँजी व्यवस्थाको ग्यारेन्टी भएकै दिन परियोजनाको शिलान्यास गर्ने र कहिले सम्पन्न गरी हस्तान्तरण गर्ने भन्ने निर्धारण पनि सोही दिन गर्ने बतँए।

कार्यक्रममा बोल्दै फाउन्डेसनकी कोषाध्यक्षसमेत रहेकी कुञ्जनाले अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल भन्ने अवधारणाका साथ यो परियोजनालाई अगाडि बढाइन लागेको बताइन्। ‘कलाकारितामा मग्न हामी श्रीमान्–श्रीमतीलाई स्वदेश तथा विदेशका कार्यक्रमले भ्याईनभ्याई हुन्थ्यो। अनाथ असहाय वृद्ध तथा पीडितका लागि विभिन्न समयमा सक्दो सहयोग गरिरहेका थियौं। घर, आँगन, बाटो, नाला, कार्यालय सबै सफा हुनुपर्छ, हाम्रो मन सफा हुनुपर्छ, हाम्रो मस्तिष्क सफा हुनुपर्छ भन्ने उद्देश्यले बाग्मति सरसफाइ होस् वा पूर्व–पश्चिम राजमार्ग सफाइ होस् अथवा सम्पूर्ण सरसफाई अभियानमा हामी पुगेकै हुन्थ्यौं’, कुञ्जनाले सुम्झिइन्– ‘२०७२ वैशाख १२ को भूकम्पले मेरी आमा करङ भाँचिएर ढल्नुभयो। सानी छोरीको चौरको बास भयो। कार्यक्रमको दौरानमा अमेरिकामा भएका हामी धेरै अतालियौं, रोयौं, कहिले नेपाल पुगौंजस्तो भयो। नेपाल आएर हेर्दा सबैको पीडा मेरैजस्तो देखें। आजसम्म हसाएका दर्शकको आँसु पुछ्नुपर्छ भन्ने लाग्यो र ३ एकीकृत बस्ती निर्माण गर्न पनि सफल भयौं।’ उनले नमुना नेपाल सिंगो देश नेपाललाई जोड्ने प्रयास तथा सम्पूर्ण जातजाति, धर्मसंस्कृति र रीतिरिवाजको साझा फूलबारी हुने बताइन्। बस्ती निर्माणमा जस्तै यो परियोजनालाई सफल पारिदिन पनि उनले सबैलाई आग्रह गरिन्।

राज्यकै लागि महत्त्वकांक्षी हुन सक्ने यो परियोजनामा एउटै कम्पाउन्डभित्र हिमाल, पहाड र तराईको संरचनासहित देशका सम्पूर्ण जातजातिको प्रतिनिधित्व हुने जनाइएको छ। ‘पीडित परीवारको एकीकृत बासस्थान हो नमुना नेपाल। सुन्दर पर्यटकीय गन्तव्य र देशकै गौरवको परियोजना हो’, परियोजनाबारे निर्माण गरिएको भिडियोमा भनिएको छ– ‘जहाँ विभिन्न स्वयम्भुनाथ, पशुपति, मुक्तिनाथ, जानकी मन्दिर, चर्च, मस्जिदजस्ता भिन्न–भिन्न धर्म संस्कृतिका केन्द्रहरू रहनेछन्।

पूर्ण नेपालको पहिचान झल्कने, विशाल राष्ट्रिय संग्रहालय, भूकम्पले भत्काएको धरहराको सम्झनामा आकर्षक भ्यु टावर, हिमाल पहाड र तराई जोड्ने मनोरञ्जनात्मक रेल सेवा, खेल मैदान, विद्यालय, रगंशाला, नेपालको संग्रहालय, सामुदायिक भवन, अतिथि गृह, चमेना गृह, अध्ययन अवलोकन पर्यटन र मनोरञ्जनको केन्द्र रहनेछ भने जंगल सफारी पनि गर्न सकिनेछ।’

प्रतिक्रिया दिनुहोस्