हामी अध्ययन गर्छौं, पढ्छौं। अनि भनिन्छ, मानिस चेतनशील प्राणी हो। बौद्धिक प्राणी हो। तर, अहिले अध्ययनको अर्थ कोरा ज्ञानमा सीमित छ। व्यावहारिक शिक्षाको हाहाकार छ। पढेर मात्रै केही अर्थ राख्दैन। पढेको कुरालाई जीवनोपयोगी गराउन सकियो भने मात्रै त्यसको दिगो अर्थ रहन सक्छ। समयअनुकूल, गुणस्तरीय र व्यावहारिक शिक्षा आजको आवश्यकता हो। यी मध्ये कुनै पनि शिक्षा नेपालमा पूर्णतः लागू हुन सकेको छैन। लागू हुन्थ्यो भने किन बेरोजगारी बस्नुपर्ने बाध्यताको सृजना हुन्थ्यो होला र ? विवेकशील जनशक्ति उत्पादन गर्न शिक्षा अपरिहार्य छ। सबै पक्षको समानान्तर विकासको प्रमुख आधार भनेको शिक्षा हो।

त्यसकारण जीवनको बाटो देखाउने अत्यावश्यक पक्ष शिक्षा भएकोले शिक्षाको अपरिहार्यता र महत्व दिनानुदिन बढ्दै पनि गएको छ। शिक्षित जनशक्ति उत्पादन आजको आवश्यकता हो। व्यक्तिले आर्जन गरेको ज्ञानको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षाको ध्येय हुन्छ। कुनै पनि ठाउँको सामाजिक, आर्थिक, राजनीतिक र समयसापेक्ष विकासको लागि शिक्षाको विकल्प छैन। आजको शिक्षा जुन मात्रामा व्यावहारिकरूपमा हुनुपथ्र्यो त्यो मात्रामा प्रयोगमा ल्याइएको छैन। व्यावहारिक शिक्षाको लागि सर्वप्रथम सरकारी नीति आवश्यक छ। जुन नीति कडाइका साथ लागू होस्।

शिक्षाविनाको मानव त कल्पना पनि गर्न सकिँदैन। सबैको एउटै लक्ष्य ज्ञान लिने, सिक्ने, बुझ्ने र भविष्यमा आफ्नो ज्ञानको प्रयोग गरी समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्ने नै हो। दिनानुदिन हाम्रो शिक्षा व्यावहारिक भन्दा सैद्धान्तिक बढी भएको छ। यद्यपि शिक्षाको सैद्धान्तिक पद्धतिलाई परिमार्जन गर्न अति आवश्यक छ। तसर्थ पढेका कुराहरूलाई व्यवहारमा उतार्ने र समय अनुकूल रोजगारमूलक शिक्षा हुने हो भने पक्कै पनि शिक्षाको उपलब्धि अर्थपूर्ण मानिन्छ। त्यसका लागि सरकारले शिक्षा नीति फराकिलो बनाउनुपर्छ, योजनासहित।
– निशान्त सिटौला, इलाम
व्यवस्थित पार्किङतर्फ ध्यान जाओस्
काठमाडौं महानगरपालिकामा व्यवस्थित पार्किङ छैन। पार्किङ भए पनि वैज्ञानिक प्रकृतिको छैन। कारहरू पार्किङ गर्नुपरे सडकछेउमै गर्नुपर्छ। मोटरसाइकललगायत अन्य सवारीसाधनको हालत पनि त्यही हो। सरकारले आधुनिक शहरको परिकल्पना गर्नु स्वाभाविक हो। तर, देशकै ठूलो शहरमा पार्किङको संकट हुनु दुर्भाग्यको कुरा हो। सरकारले महत्वाकांक्षी योजनाहरू ल्याए पनि मानिसका दैनिकीसँग सम्बन्धित योजना ल्याउन सकेको देखिँदैन। कमसेकम ठाउँ–ठाउँमा व्यवस्थित पार्किङ भइदिए सवारीधनीहरूलाई केही न केही सहज त हुन्थ्यो। यसका लागि काठमाडौं महानगरपालिकाले सोच्नै पर्छ। पार्किङ भइदिए दुर्घटना न्यूनीकरणका साथै सवारी आवागमनमा सहजता त आउने थियो।
– देवी भण्डारी, नेपालटार, काठमाडौं
निगमको बिजोग
नेपाल वायु सेवा निगमले भाडामा जहाज माग्दै टेन्डर खोलेको झन्डै डेढ महिना बित्न लाग्दा पनि आवेदन नपरेको खबरले आश्चर्यचकित बनायो। निगमको हबिगत साह्रै बिग्रिएछ। अब त विश्वास पनि गुमाएको जस्तो लाग्यो। जहाज मागेको एक महिना पुग्न लाग्दा समेत कसैले पनि यसमा आवेदन दिएका छैनन् भन्नु लाजमर्दो कुरा हो। शुरुवातमा वैशाख २५ गतेसम्मको म्याद राखेर निगमले सूचना प्रकाशित गरेको थियो। त्यसमा कसैको पनि आवेदन नपरेपछि निगमले अहिलेसम्म तीन पटकसम्म सूचना निकालिसकेको छ। जुन १ मा निकालिएको तेस्रो सूचनाको म्याद पनि सकिँदै छ।

सञ्चालनमा रहेको बोइङलाई हेभी मर्मत गर्नुपर्ने भन्दै निगमलाई भाडामा जहाज चाहिएको भनी विज्ञापन गरेकोमा कसैको दरखास्त परेको छैन। भाडामा लिएको जहाज क्वालालम्पुर, दोहा, दिल्ली, बैंगलोरजस्ता गन्तव्यमा उडाउने निगमको योजना सफल हुने या नहुनेमा शंका छ। निगमले ४५ दिनदेखि २ महिनासम्मका लागि मात्रै भाडामा जहाज खोजेको कारण पनि आवेदन नपरेको हो जस्तो लागेको छ। एकदमै छोटो अवधिका लागि मागिएकाले आवेदन नपरेको हो। छोटो अवधि भएकाले कम्पनीहरूको आकर्षण नभएको जस्तो देखिएको छ। निगमले भाडामा जहाज भेटेन भने दैनिक उडान अवरुद्ध हुने देखिएको छ।

निगमसँग अहिले भएका थोरै मात्र अन्तर्राष्ट्रिय उडान भर्ने विमानले धान्न नसक्ने देखिएको छ। यो विषयमा थप गम्भीर हुन जरुरी देखिन्छ। निगमसँग भएका दुईवटा बोइङ बी ७५७–२०० पुरानो भएर लिलामीमा राखिएको छ भने बी ७५७–२०० एम मर्मतको लागि एक महिनासम्म सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा बस्नेछ। त्यो बन्दासम्म उडान प्रभावित हुने देखिएको छ। विमान बढेसँगै फ्लाइट क्यान्सिल कम भएका छन्, जसका कारण यसमा यात्रुको आकर्षण बढेको छ। त्यही साख कायम राख्न भए पनि निगमले भाडामा जहाज खोजेर उडान नियमित गर्नुपर्ने बाध्यता छ। तर आवेदन नपर्दा अवधिको बारेमा सोच्नुपर्छ कि ?
– प्रशान्त शर्मा, ललितपुर
हाम्रो सडक कहिले बन्ने ?
गुणस्तर विवादले गर्दा जिल्लावासीले लामो समयदेखि निर्माणको प्रतीक्षा गरेको जनता सडक र आत्माराम पथको निर्माण कछुवाको गतिमा चलेको छ।

यो विषयमा सोच्न जरुरी देखिएको छ। विश्व बैंकअन्तर्गतको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमले लगानी गरेका दुवै सडकमा प्रयोग भएको निर्माण सामग्री गुणस्तर मापदण्डभित्र नपरेको विवादले झन्डै ६ महिनायताको काम सुस्त हुँदा पनि सम्बन्धित निकाय मौन छ। जितपुरदेखि सोनवर्षासम्म साढे १७ किमि लामो जनता सडक कालोपत्रे गर्ने ठेक्का पप्पु कन्स्ट्रक्सनले १८ करोड रुपियाँमा पाएको छ। वीरगन्ज–पोखरिया खण्डअन्तर्गत तिलाबे खोला पुलदेखि दक्षिण–पश्चिम हुँदै पकाहामैनपुरसम्मको १३.०५ किमि लामो आत्माराम पथ निर्माणको ठेक्का गौरी–पार्वती निर्माण सेवाले ९ करोड रुपियाँमा लिएको छ। जनता सडकको काम ३५ देखि ४० प्रतिशत मात्र र आत्माराम पथको करिब ३० प्रतिशत मात्र सम्पन्न भएको सरकारी कर्मचारीले नै बताएका छन्।

दुवै ठेकेदारको म्याद चालू आवमा सकिन लागेको छ। ठेकेदारले समयमा निर्माण सामग्री ल्याउन नसक्दा कामले गति लिन सकेको छैन। जनता सडकमा सबबेस र नाला निर्माणको काम सकिएर हाल कल्भर्ट निर्माणको काम जारी छ। आत्माराम पथमा सबबेसको काम केही बाँकी रहेको र त्यसपछि मात्र बेस र कालोपत्रे गर्ने काम हुने कुरा बाहिर आइरहेको छ। जनता सडक कालोपत्रे भएपछि जिल्लाको उत्तरी–पश्चिमी भेकका जनताले यातायात सुविधा पाउनेछन्। त्यस भेकका किसानले उत्पादन गरेको कृषि उपजलाई सहजै जितपुर, सिमरा, वीरगन्जजस्ता ठूला बजारसम्म ल्याएर बिक्री गर्ने अवसर पनि मिल्नेछ। त्यस भेकका बासिन्दाले लामो समयदेखि यो सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै आएका थिए।

बाराको जितपुरदेखि रंगपुर हुँदै ठोरीसम्म पुग्न सकिने यो सडकको रंगपुरसम्मको भाग मात्र हाललाई कालोपत्रे भए त्यस भेकका २ दर्जन बढी गाउँका बासिन्दा प्रत्यक्ष–अप्रत्यक्षरूपमा लाभान्वित हुनेछन्। आत्माराम पथ पनि अत्यधिक व्यस्त सडक मानिन्छ। विशेषगरी जिल्लाको दक्षिण–पश्चिम भेकका दर्जन बढी गाउँका बासिन्दाको सदरमुकाम आवागमनको यो छोटो र सहज बाटो हो। आरोप–प्रत्यारोपमा विकासको काममा ढिला भएको हो। ठेकेदारले सरकारी निकायलाई र सरकारी निकायले ठेकेदारलाई दोष थोपर्ने गरेको देखिन्छ। जे भए पनि काम चाँडो सम्पन्न हुनुपर्यो।
– सीता शाह, पर्सा

LEAVE A REPLY