नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ



सन्तोष अधिकारी, गोरखा
जिल्ला प्रहरी कार्यालय गोरखाले नक्कली सवारी अनुमतिपत्र बनाउने एक गिरोहलाई पक्राउ गरेको छ। गत जेठ १६ गते प्रहरीले नियमित चेकजाँचका क्रममा रौतहट जिल्ला प्रेमपुर गोनही गाविस–१ घर भई हाल गोरखा नगरपालिका–६ खोलखोलेमा बस्दै आएका रामऔतार महतोको साथबाट नक्कली लाइसेन्स बरामद गरेको थियो। महतोसँग गरिएको अनुसन्धानपछि लाइसेन्स कीर्ते गर्ने गिरोह नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

महतो पक्राउ गरेपछि गोरखा प्रहरीले गत १८ गते रौतहट जिल्लाकै कटहरिया गाविस–९ घर भई हाल गोरखाको शहीद लखन गाउँपालिका–७ बस्ने भगवान शाह सोनार र शहीद लखन गाउँपालिका–७ कै अनिल तिवारीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट पनि नक्कली लाइसेन्स बरामद गरिएको छ। तिवारीले अन्य चार जनाको लाइसेन्स नक्कली बनाउन महतो र सोनारलाई सहयोग गरेको प्रहरी अनुसन्धानपछि खुलेको डीएसपी थापाले बताए।

लाइसेन्स बनाउने मुख्य व्यक्ति गोरखा नगरपालिका–१० छेपेटारका फिरोज खनाललाई पनि पक्राउ परेको छ। उनको कोठामा खानतलासी गर्दा विभिन्न व्यक्तिहरूको नाममा रहेको नक्कली लाइसेन्सहरूसमेत भेटिएको प्रहरीले जनाएको छ। फिरोजको कोठाबाट नक्कली सवारीचालक अनुमतिपत्र १२ थान, नागरिकता ५ थान, नागरिकताको प्रतिलिपि २४ थान, सवारी चालक अनुमतिपत्रको प्रतिलिपि ८ थान, त्यस्तै लाइसेन्स बनाएबापत उनीहरूले प्राप्त गरेको नगद र विभिन्न व्यक्तिलाई रकम पठाएको भौचर ३४ थान र नक्कली लाइसेन्स बनाउन ल्याएका विभिन्न व्यक्तिका १ सय १८ थान फोटोसमेत बरामद भएको छ। उनीहरू सबैलाई सवारीचालक अनुमतिपत्रअन्तर्गतको शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्