भरतपुर– १९ मा काँग्रेस –माओवादी केन्द्र मिले, कांग्रेसलाई माओवादीले सघाउने



चितवन,(नेस)। निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा(माओवादी केन्द्र)ले सघाउने सहमति भएको छ।

दुई दलको आइतबार बसेको संयुक्त बैठकले यसअघिको सहमतिअनुरूप प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाललाई र उपप्रमुखमा काँग्रेसकी पार्वती शाहलाई दुवै दलले सर्वा्धिक मतदान गरी विजयी गराउने सहमति भएको माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले बताउनुभयो।

सो वडामा काँग्रेसका तर्फबाट अध्यक्षमा कर्णबहादुर गुरुङ र माओवादी केन्द्रका तर्फबाट खड्कबहादुर गुरुङ उम्मेदवार रहनुभएको छ। काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार बैठकले आयोगको निर्णयको स्वागत गर्दै यथाशीघ्र निर्वाचनको मिति तय गर्न माग गरेको छ।

गत आइतबार राति मतगणनास्थलमा गणना हँुदै गर्दा ९० मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगन भएको थियो। आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ‘ख’ बमोजिक मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको छ।

आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। भरतपुर महानगरमा २९ वटा वडा छन्। तीमध्ये वडा नं १९ को मतगणना हँुदै गर्दा मतपत्र च्यातिएको हो। यससहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ।

दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा(एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७ सय८४ मतले अगाडि रहनुभएको छ। वडा नं १९ मा एक हजार ८सय मत गन्दा यो मतान्तर घटेर ७सय३३ मा झरेको थियो। सो वडामा काँग्रेसका अध्यक्ष र सदस्यले अग्रता कायम गरेका थिए।

‘किन पिसाब फेर्न गएको समेत भन्छन् ’

– मुख्य निर्वाचन अधिकृत, चितवन
नयाँ तिथी तोक्न केही दिन लाग्ने
निर्वाचन आयोगले भरतपुर महानगरमा मतदानको मिती अझै नतोकिएको बताएको छ। भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेपनि मतदानको मिती तोक्ने अधिकार सम्वन्धीत जिल्लाका मुख्य निर्वाचन अधिकृतलाई दिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

आयोगका प्रबक्ता शर्माले भन्नुभयो, ‘सबै अधिकार चितवनका मुख्य निर्वाचन अधिकृत र निर्बाचन कार्यालयलाई दिइएको छ। मतदानको मिति तय भएको वारेमा हामीलाई जानकारी आएको छैन।’

चितवन महानगरपालिकाको निर्बाचन गराउने अधिकार पाउनुभएका चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले छलफलकै क्रममा रहेकाले अझै मतदानको मिती तय नभएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसंगको कुराकानीका क्रममा भन्नुभयो–‘आयोगले ६ ⁄६ दिन लगाएर प्रतिबेदन वनाएको छ। मतपत्र मिलाउनु पर्यो।

अब भन्ने बित्तिकै कहाँ मतदान हुन्छ ? परिस्थिति यस्तो छ। कतिपयले किन पिसाब फेर्न जानुभएको भनेर समेत प्रश्न गर्ने गरेका छन्। अझै केहि दिन लाग्छ मतदानको समय तोक्न।’ प्रमुख मतदान अधिकृत मतगणनाका क्रममा पिसाब फेर्न गएको बेलामा मतपत्र च्यात्ने काम भएको यसअघि चर्चामा आएको थियो।

प्रतिक्रिया दिनुहोस्