मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान



अनिल खत्री ⁄गुल्मी
मतदाता शिक्षा प्रभावकारी बनाउन र बदर मत कम गर्न भन्दै जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लाको विकट गाउँ अर्खाबाङ्मा नमुना मतदान सम्पन्न भएको छ। जिल्लाको विकट र मतदान केन्द्रको लागि उच्च जोखिममा रहेको मालिका गाउँपालिकाको अर्खबाङ् मतदान केन्द्रमा पुगेर नमुना मतदान गरिएको हो। नमुना मतदानमा १ सय २ जना मतदाताहरू सहभागी भएका थिए। नमुना मतदानमा खसेको मत मध्ये ९ मत आंशिक र एक मत पुर्ण रूपमा बदर भएको थियो।

निर्वाचन कार्यालयले गत साता सत्यवति गाउँपालिकाको हँसरामा पनि नमुना मतदान गरेको थियो। नमुना मतदानमा मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन लगायतका विषयमा जानकारी गराइएको थियो।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाहरूको लाइन मिलाउने, मतदाता परिचय पत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिन सिकाइएको थियो। स्वस्तिक छाप लगाए पश्चात मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो। नमुना मतदानमा सहभागीहरूले अन्य व्यक्तिहरूलाई मतदान गर्न सिकाउने र जिल्लामा कम मत बदर हुने अवस्था सिर्जना गर्न खोजिएको जिल्ला निर्वाचन अधिकारी गणेश खत्रीले जानकारी दिए। सोहि अवसरमा मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले निर्वाचन आचार संहिता र निर्वाचन शिक्षाका बारेमा मतदान स्थलमा आएका मतदाताहरूलाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्