क्लिन काठमाडौं अभियान, पहिला चेतावनी, त्यसपछि कारबाही



ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले कार्यभार सम्हाल्दा पहिलो फाइलमा काठमाडौंलाई क्लिन सिटी बनाउने योजनामा हस्ताक्षर गरेका थिए। त्यसलगत्तै महानगर वातावरण विभागले काठमाडौं शहर सफा गर्न शुरू गर्यो। ‘अहिले एक दर्जनभन्दा बढी स्थानमा सफा गर्ने काम शुरु भइसकेको छ।

क्लिन काठमाडौं अभियानअन्तर्गत बिहानैदेखि सफाइ अभियान शुरु गरेका छौं’, कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले भन्नुभयो– ‘सूर्योदय अगावै फोहोर व्यवस्थापन गर्ने कामको पनि थालनी गरिसकेका छौं, क्लिन अभियानअन्तर्गत एक दर्जनभन्दा बढी स्थानमा सफाइ शुरु गरेका छौं। पहिलो चरणमा सफा गर्छौं, वरिपरि फोहोर फ्याक्नेलाई फोहोर नफाल्न चेतावनी दिनेछौं, अटेर गरेर फोहोर फ्याँके कारबाही गर्नेछौं।’ विभागले हालसम्म आज इन्द्रचोकदेखि असन सफाइ गर्ने भएको छ। हालसम्म नारायणगोपाल चोक, कमलपोखरी, बबरमहल माइतीघर, बालुवाटार, नारायणचौर, कलंकी, बालुवाटारलगायतका स्थानलाई क्लिन गरिसेकेको छ।

‘वडा अध्यक्षसमेतको उपस्थितिमा अभियान गर्ने गरेका छौं। वातावरण व्यवस्थापन विभागका कर्मचारी स्थानीय क्लबलगायतको सहयोगमा सफाइ अभियान भइरहेको छ। पहिलो एक महिनाभित्र सबै वडाका मुख्य बाटोलाई सफा गरिसक्नेछौं त्यसपछि जनचेतना मुलक कार्यक्रम गरी फोहोर नफाल्न अनुरोध गर्नेछौं’ –श्रेष्ठले भन्नुभयो। कामपाले क्लिन गरेका क्षेत्रमा बाटोमा राखेको फोहोर झारपात, धूलोलगायत सफा गर्ने गरेको छ। सडक मात्रै नभई पेटीमा समेत सफाइ गर्ने गरेको श्रेष्ठको भनाइ थियो।

कामपाले अभियानअन्तर्गत जथाभावी फोहोर फ्याल्नेमाथि कारबाही थाल्ने भएको छ। फोहोर मैला ऐनअन्तर्गत ३ महिना कैद र १ लाख रुपियाँ जरिवाना गर्ने व्यवस्था भएअनुसार कारबाही अघि बढाउने तयारी गरेको छ। ‘कारबाही र सफाइ अभियानलाई निरन्तरता दिनेछौं’ –श्रेष्ठको भनाइ थियो। कामपाले जथाभावी फोहर गर्नेमाथि कारबाहीको मात्रा हेरेर ५ सयदेखि १ लाख रुपियाँसम्म जरिवाना गर्ने गरी योजना अघि बढाउने भएको छ। ‘खैनी, पराग, चाउचाउलगायतका जंकफुडका खोल जथाभावीरूपमा फाल्नेमाथि पहिला कारबाही गर्नेछौं’ –श्रेष्ठले भन्नुभयो। उहाँले पसलअगाडि कसैले फोहोर फ्याकेमा फ्यानमाथि समेत कारबाही गर्ने तयारी गरेको कामपाले जनाएको छ। पहिला योजना बनाउनेछौं, त्यसपछि अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाउनेछौं। कामपाले क्लिन अभियानअन्तर्गत विभिन्न योजना सार्वजनिक गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्