पर्यावरणको संरक्षण जरुरीः राष्ट्रपति



नेपाल समाचारपत्र
काठमाडौं
जलवायु परिवर्तनले विश्वव्यापी प्रभाव पारिरहेका बेला जैविक विविधतामा सम्पन्न नेपालले सुन्दर भविष्यका लागि वनको दिगो संरक्षण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोड दिनुभएको छ।

वातावरणलाई सन्तुलन राख्दै विकास निर्माणकार्य हुनुपर्ने उहाँको भनाइ छ। सोमबार विश्व वातावरण दिवसको अवसरमा वातावरण मन्त्रालयले आयोजना गरेको मूल कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो– ‘विकास निर्माणकार्य प्रकृति र वातावरणमैत्री हुनु जरुरी छ।’

वातावरण सन्तुलनका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा भइरहेका सफल र नमुना कार्यक्रम अनुशरण गर्नुपर्ने बताउँदै राष्ट्रपतिले विगतमा भएका कार्यक्रमको समीक्षा र पुनरावलोकन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

अनियन्त्रितरूपमा भइरहेको प्राकृतिक दोहनले ढिलो–छिटो विपत्ति ल्याउन सक्ने बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो– ‘अनियन्त्रित दोहनले प्रकृति तत्काल बोल्दैन तर मानव जीवन संकटमा पार्छ।’ कार्यक्रममा बोल्दै वातावरणमन्त्री जयदेव जोशीले मुलुकका राजनीतिक मुद्दाभन्दा वातावरणीय विषय प्राथमिकतामा राखिनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै वातावरण सचिव डा. विश्वनाथ ओलीले मुलुकको विकास निर्माणकार्यले जनजीवन सहज भए पनि अनियन्त्रितरूपमा बनेका संरचना र प्राकृतिक दोहनले प्राकृतिक विपत्ति निम्त्याउने गरेको बताउनुभयो।

सोही कार्यक्रममा वातावरण मन्त्रालयले विभिन्न संघ–संस्थाका प्रतिनिधिलाई पुरस्कृत गरेको थियो। विश्व वातावरण दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखमा मनाउने गरिएको छ। यस वर्षको नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त’ तय गरिएको छ। यस अवसरमा मुलुकभर विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्था, विद्यालयले विविध कार्यक्रम गरी दिवस मनाएका छन्।

प्रतिक्रिया दिनुहोस्