न्यायपालिकाको फैसलालाई एमालेले स्वीकार गर्छ -रावल



काठमाडौँ, २२ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले आफ्नो पार्टीले स्वतन्त्र न्यायपालिकाको फैसलालाई स्वीकार गर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा नेता रावलले भरतपुर घटनाका बारेमा अदालतले जे निर्णय गरे पनि एमालेलाई मान्य हुने बताउँदै चितवनमा मतपत्र च्यात्ने काममा सत्तापक्ष नै दोषी रहेको आरोप लगाउनुभयो ।
उहाँले सरकारको कार्यशैलीका कारण मङ्गलबार हुन लागेको प्रधानमन्त्री निर्वाचनमा आफ्नो दलले विपक्षमा मतदान गर्ने स्पष्ट पार्नुभयो । उपाध्यक्ष रावलले स्थानीय तहको पहिलो चरणको निर्वाचन चुनौती र आशङ्काकाबीच भएको बताउँदै सरकार निर्वाचनप्रति कटिबद्ध रहे दोस्रो चरणको निर्वाचन हुने बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले काँग्रेससँग भएको सहमतिअनुसार नै माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारबाट राजीनामा दिएको बताउँदै सरकारमा जाने विषयमा पार्टीभित्र कुनै विवाद छैन भन्नुभयो ।
राजपमा नेपालका नेता राजकिशोर यादवलले सरकारसँग भएका वार्ता र संवाद सकारात्मक दिशामा अगाडि बढेको बताउँदै लिखित सम्झौता भएमा मङ्गलबार हुने प्रधानमन्त्री निर्वाचनमा नयाँ प्रधानमन्त्रीलाई मतदान गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “राजपा लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको हो निर्वाचन विरोधी शक्ति होइन, हामीले राखेका मागलाई उचित सम्बोधन गरे हामी निर्वाचनमा जान्छौँ । ” उहाँले प्रधानमन्त्रीलाई सहयोग गर्ने वा नगर्ने तथास्थानीय तहको निर्वाचनमा जाने वा नजाने भन्नेबारे राजपाभित्र कुनै विवाद नरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्