सिमेन्ट उद्योगलाई अझै विद्युत् पर्याप्त छैन



ध्रुवराज थापा
अध्यक्ष, नेपाल सिमेन्ट उत्पादक संघ

हामी आत्मनिर्भर हुन सम्भव छ किनकी हामी सक्षम छौं, नेपालको लागि आवश्यक चुनढुंगा नेपालमै उपलब्ध छन्। स्वदेशी लगानीको राम्रो अवसर छ, त्यसका लागि सरकारी पक्षबाट आवश्यक वातावरण तथा पूर्वाधार निर्माण गर्नुपर्छ, नीति निर्माण गरी सरकारले सहयोगी भूमिका खेल्नुपर्छ, ठूला परियोजनामा विदेशी सिमेन्ट आयात रोक्नुपर्छ, सिमेन्ट आत्मनिर्भर भएकाले व्यापारघाटा कम गर्न सहयोग गर्न सक्छ, रोजगारी सिर्जना तथा आर्थिक उन्नतीका लागि सहयोग गर्छ।
पछिल्लो समयमा नेपाली बजारमा सिमेन्टको अवस्था कस्तो छ ?

अहिले बजार राम्रो छ, किनकी यो सिजन पनि हो। हाम्रो सिजन भनेको फागुनदेखि असारसम्म हो। साउनदेखि कम हुँदै बजार पुस–माघ लाग्न थालेपछि बजार औसत हुन्छ। नेपाली बजारको वार्षिक खपत ५० लाख टन हो। यसमध्ये ८० देखि ९० प्रतिशत आन्तरिक उत्पादनले धान्ने गर्छ। त्यस्तै ७० प्रतिशत क्लिंकर पनि स्थानीय बजारबाटै आपूर्ति हुन्छ। त्यसकारण बाँकी क्लिंकर भारतबाट आयात हुने गर्छ। नेपालमै क्लिंकर उत्पादन गर्ने कम्पनीको संख्या १३ वटा छन्।

भूकम्पपछि पुनर्निर्माण तथा नवनिर्माणको अवधिमा सिमेन्टको मूल्य उच्च गतिले बढ्यो भन्ने जनगुनासो छ, वास्तविकता के हो ?

वास्तवमा सिमेन्टको मूल्य उच्च गतिले बढेकै छैन। गत सालको तुलनामा मूल्य बढेकै छैन। साँच्चै भन्नुपर्दा निर्माण सामग्रीमा सबैभन्दा सस्तो भनेको सिमेन्ट तथा डण्डीमात्रै हुन्। निर्माण सामग्रीमा पनि सबैभन्दा कम मूल्यवृद्धि भएको भनेको सिमेन्ट र डन्डी हो। १०–२० रुपियाँ तलमाथि पर्नु भनेको ठूलो कुरा होइन। सिमेन्टको मूल्य बढ्नुका केही कारणहरूमा कच्चा पदार्थको मूल्य बढ्नु, लोडसेडिङ घटे पनि उद्योगहरू पूर्ण क्षमतामा चल्न नसक्नु, नेपालमै पर्याप्त क्लिंकर उत्पादन गर्ने नसक्नु, भारतबाट आयात गरिएका क्लिंकर तथा कच्चा पदार्थ तुलनात्मक रूपमा महंँगो हुनु, कोइलाको मूल्य बढ्नु, तर स्वदेशमै क्लिंकर उत्पादन हुन थालेपछि सिमेन्टमा उल्लेख्य मूल्यवृद्धि नभएको हो।

सिमेन्टको मूल्य घटाउन सरकारले आग्रह गरिरहँदा उत्पादन लागत घटाउन कुनै पहल भएको छ त ?

हामीले यस विषयमा धेरै अपेक्षा गरेका छौं। जस्तै चुनढुंगामा लाग्ने कर हटाउनुपर्यो। चुनढुंगाको उपलब्धता सरल बनाउनुपर्यो। यससँग सम्बन्धित वन, भूिमसुधारमा अनेक झमेला छ। यिनै कुराले हामीलाई गाह्रो हुन्छ। अर्को कुरा उद्योगले पाइरहेको १६ घण्टाको पावर पर्याप्त छैन। त्यस्तै कोइलामा भन्सार घटाउनुपर्यो। कृत्रिम रूपमा मूल्य वृद्धि भएको छैन, लागत नै बढी पर्दा हामी मूल्य बढाउन बाध्य हुन्छौं। त्यसकारण सरकारी निकायबाट सिमेन्टको लागत मूल्य घटाउने नीति बनाइदिनुपर्छ।सिमेन्टको मूल्य घटे ठूला आयोजना निर्माण, निजी घर निर्माणलगायत सबै क्षेत्रलाई फाइदा पुग्छ। समग्रमा बजार मूल्य स्थिर राख्न सहयोग गर्छ।

सबैले बुझ्न के जरुरी छ भने, नेपाली सिमेन्ट दक्षिण एसिया कै सबैभन्दा महंँगो सिमेन्ट हो। यस विषयमा सरकार गम्भीर हुनु पर्यो।

नेपाली सिमेन्टका बोरामा सिमेन्ट कुन ग्रेडको हो भनेर कहिलेदेखि लेख्न पाइन्छ ?

वास्तवमा नेपाली सिमेन्ट उत्पादनले ग्रेड लेख्न नपाउँदा समस्या खेप्दै आएका छन्। यो समस्या पनि चाँडै हल हुँदै छ। हामीले यस सम्बन्धित नीति बनाउने कुरामा लागि परेका छौं। तसर्थ, यही आर्थिक वर्षभित्र सबै सिमेन्टले आफ्नो उत्पादन कुन ग्रेडको हो भनेर बोरामा लेख्न पाउने दिन आँँदै छ। ठूला परियोजनामा ग्रेड नुपुगेकाले नेपाली सिमेन्ट प्रयोग हुँदैन थिए। हामीले ग्रेड लेख्न थालेपछि हामी अन्तर्राष्ट्रिय मापदण्डका छौं भन्ने प्रमाणित हुन्छ। तसर्थ ती सबैमा नेपाली सिमेन्ट प्रयोग हुनेछन्। अर्को कुरा सरकारले ठूला परियोजनालाई सिमेन्ट आयात गर्न भन्सार छुट दिँदै आएको छ। यसमा सरकारले कडाई गरे ती परियोजनामा पनि नेपाली सिमेन्ट प्रयोग गर्न कर लाग्छ।

क्लिंकरमा पनि नेपाल आत्मनिर्भर हुने सम्भावना छ ? क्लिंकरको बढ्दो आयात रोक्न के हुँदै छ ?

अबको दुई वर्षभित्र हामी यहाँको माग धान्न पनि सक्षम हुने छौं। नेपालमै उपलब्ध कच्चा पदार्थ उपयोग हुने तथा यस क्षेत्रमा लगानी बढाई सुलभ ढुवानीको वातावरण बनाउन सरकारले भूमिका खेल्नुपर्छ। यसो गर्दा मूल्यवृद्धि नियन्त्रण गर्न पनि सजिलो हुन्छ।क्लिंकर आयात विगतको भन्दा कम हुँदै छ। किनभने क्लिंकर उत्पादनका लागि लगानी बढ्दै छ। अहिलेको परिवेश हेर्दा पनि ५–६ वटा क्लिंकर उद्योग रहेको अवस्था बढेर १३–१४ को संख्यामा पुगिसक्यो।

ठूला परियोजनामा नेपाली सिमेन्ट प्रयोग कस्तो छ ?

ठूला परियोजनामा प्रायः विदेशी सिमेन्ट प्रयोग हुन्छन्। यसरी हेर्दा यो नेपालको कूल मागको १० देखि २० प्रतिशत हो। यसको प्रमुख कारण भनेको नेपाली सिमेन्टको बोरामा ग्रेड नलेख्नु र सरकारले सिमेन्ट आयातमा भन्सार छुट दिनु हो। यो समस्या पनि चाँडै समाधान हुनेमा हामी विश्वस्त छौं।

सिमेन्ट उद्योगका चुनौतीहरू के–के छन् ?

नेपालमा सिमेन्ट उद्योग चलाउन असाध्यै गाह्रो छ। जस्तै चुनढुंगा ल्याउन समस्या छ, स्थानीयस्तरलाई खुशी बनाउन गाह्रो, कुनै सरकारी निकायले पूर्णरूपमा सहयोग गर्दैनन्, सबैले कसरी दुःख दिने विषयमा मात्र केन्द्रित छन् , सबै निकायसँग तालमेल गरेर अघि बढ्ने सोच सम्भव छैन, ठूला परियोजनामा विदेशी सिमेन्ट प्रयोग कम हुनु हो।

सिमेन्ट उद्योगका सम्भावना चाहीँ के छ ?

हामी आत्मनिर्भर हुन सम्भव छ किनकी हामी सक्षम छौं, नेपालको लागि आवश्यक चुनढुंगा नेपालमै उपलब्ध छन्। स्वदेशी लगानीको राम्रो अवसर छ, त्यसका लागि सरकारी पक्षबाट आवश्यक वातावरण तथा पूर्वाधार निर्माण गर्नुपर्छ, नीति निर्माण गरी सरकारले सहयोगी भूमिका खेल्नुपर्छ, ठूला परियोजनामा विदेशी सिमेन्ट आयात रोक्नुपर्छ, सिमेन्ट आत्मनिर्भर भएकाले व्यापारघाटा कम गर्न सहयोग गर्न सक्छ, रोजगारी सिर्जना तथा आर्थिक उन्नतीका लागि सहयोग गर्छ।

 

प्रतिक्रिया दिनुहोस्