हेमन्त जोशी

आवासीय एवम् व्यावसायिक वन, जलविद्युत् आयोजना, पुल, सुरुङमार्ग निर्माण, सिँचाइ आयोजना, नहर निर्माण, ह्युम पाइप, इनारलगायत भौतिक संरचना तथा भौतिक निर्माणमा फलामे छडको प्रयोग अनिवार्य भइसकेको छ।

भूूकम्पले प्रभावित भएका संरचनाको निर्माणको काम अझै सकिएको छैन। हाल पुनर्निर्माण तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत साना तथा ठूला परियोजनाका काम तीव्र गतिमा बढिरहेका छन्। भूकम्पले पूर्ण र आंशिकरूपमा क्षति पुर्याएका संरचना पुनर्निर्माण गर्दा कसरी बलियो र दिगो रूपमा बनाउन सकिन्छ भनेर प्राविधिकको सहयोग लिनु जरुरी छ । यसका अरितिक्त प्रयोग हुने सामग्रीको गुणस्तरमा पनि ध्यान दिनु जरुरी हुन्छ।

मुलुकभर वार्षिक करिब १० लाख टन स्टिलको माग रहेको अवस्थामा हाल नेपाली उत्पादनले पाँच लाख टन भन्दा बढी स्टिल उत्पादन गर्दै आएका छन्। नेपालमै उत्पादित छडहरू गुणस्तरीय भए पनि विभिन्न ठूला आयोजनामा भने अझै पनि विदेशी छड नै प्रयोग हुने गरेको छ। नेपालमै उत्पादित डन्डीहरूले नेपाली बजारमा ८० देखि ९० प्रतिशत खपत हुने गरेको छ। भारतबाट छडका लागि चाहिने कच्चा पदार्थ प्राइम ब्लेड आयातमा उच्च परनिर्भरताका कारण नेपालमा उत्पादित छडमालागत बढी पर्ने गरेको उद्योगीहरू बताउँछन्।

जलविद्युत् आयोजनामा, पुल, नहर, व्यावसायिक तथा आवासीय भवन निर्माणमा छडको खपत उच्च छ। नेपाल गुणस्तर तथा नापतौल विभागले फलामे छड उत्पादन कम्पनीका लागि नेपाल गुणस्तर चिन्ह (एनएस १९१) अनिवार्य गरेको छ। यस आधारमा पनि नेपालमै उत्पादित डन्डीहरू साना ठुला दुवै खाले संरचना निर्माणका लागि गुणस्तरयुक्त रहेको पुष्टि गरेको गोयनका स्टिल कम्पनीका जेनरल म्यानेजर उमेश बरालले बताउनुभयो। बरालका अनुसार नेपाल गुणस्तरले राखे अनुसार ५०० डी भनेको एउटा ब्रान्ड मात्रै रहेको र अन्य छड पनि सोही गुणस्तरका रहेको बताउनुभयो।

टीएमटी स्टिलको प्रयोग ठूला संरचना निर्माणका लागि अनिवार्य भइसकेको छ। हाइड्रोपावरलगायत ठूला निर्माणका लागि डन्डी भारत र टर्कीलगायत मुलुकबाट आयात हुन्छ। संरचना निर्माणका लागि नेपाली मापदण्ड नेपाल गुणस्तर अनुसार छडको उत्पादन भइरहँदा पनि ठुला परियोजनाका लागि छड आयात भइरहेको छ। नेपाल गुणस्तरका छडहरू उत्पादन गरेन भने उत्पादनकर्ता कम्पनीलाई सरकारले उत्पादन रोक्ने, लाइसेन्स खारेज गर्ने जस्ता कारबाही गर्नसक्ने व्यवस्था छ। यी आधारले पनि नेपालमा उत्पादित छडहरू सबैखाले संरचना निर्माणका लागि गुणस्तरयुक्त नै रहेको बरालले बताउनुभयो।

मुलुकभर वार्षिक करिब १० लाख टन स्टिलको माग रहेको अवस्थामा हाल नेपाली उत्पादनले पाँच लाख टनभन्दा बढी स्टिल उत्पादन गर्दै आएका छन्।

हरेक निर्माणको मेरुदण्डका रूपमा रहेको छड तथा स्टिल कम्पनीले भोगिरहेका धेरै चुनौतीमध्ये सरकारको नीति नियम नै पहिलो नम्बरमा पर्ने धारणा राख्नुहुन्छ लक्ष्मी स्टिल्स प्रालिका जेनेरल म्यानेजर कुन्दन जोशी। सरकारले नै आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्न नसकेको जोशीले बताउनुभयो। डन्डी आयातमा लगाइने नियम र बैंकिङ प्रोसेस पनि एक किसिमले चुनौती बनेका उहाँले बताउनुभयो। तरलता अभाव भएको भन्दै बैंकले अनुत्पादक क्षेत्रमा लगानी घटाएपछि त्यसको असर छट उद्योगमा पनि परेको छ। नेपाल समाचारपत्रसँंग कुरा गर्दै उहाँले भन्नुभयो– ‘व्यापारको वैधानिक प्रक्रिया भनेको बैंकमार्फत कारोबार रहेकाले बैंकमा पैसा नै नहुँदा कारोबारमा समस्या पर्ने गरेको छ।’

आर्क फर्नेसबाट बनेको प्राइमरी स्टिल हुन्छ भने ब्लास्ट फर्नेस बाट बनेको सेकेन्डरी स्टिल हुन्छ। ब्लास्ट फर्नेसबाट बनेकोलाई थप ल्याडल रिफाइन गर्नुपर्ने हुन्छ। उत्पादन मूल्य नै एकदमै महँगो पर्न जाने भएकाले ब्लास्ट फर्नेस प्रविधिबाट बनेका छडहरू नेपालमा उपलब्ध छैनन्।

नेपाली बजारमा अहिले फाइभ हन्ड्रेड डी, ग्रेड फाइभ हन्ड्रेट र टोर ४१४ ग्रेडका डन्डी गरी तीन प्रकारका छड तथा डन्डी उपलब्ध छन्। फाइभ हन्ड्रेड डीलाई अन्य डन्डीहरूको तुलनामा बढी लचकतायुक्त मानिन्छ। शंकर ग्रुपका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालका अनुसार फाइभ हन्ड्रेड डी डन्डीमा शून्य दशमलब ७५ प्रतिशत मात्र फोसफरस र सल्फरको प्रयोग भएको हुन्छ, जसकारणले अन्य डन्डीभन्दा बढी लचक हुने बताउनुभयो। फाइभ हन्ड्रेड डी डन्डीको गुणस्तर बढी हुने भएकाले मूल्य थोरै बढी पर्ने गरेको छ।

डन्डीमा अलि बढी लचकता भएमा बढी भूकम्प प्रतिरोधी हुन्छ। लचकता भनेको स्टिल हल्लिएपछि पुनः पुरानो स्थानमा फर्किनु हो। राम्रो डन्डीमा स्ट्रेच बढी हुने भएका कारण संरचना फेरि पुरानो अवस्थामा फर्किन्छ। त्यसले गर्दा यस्तो डन्डी बढी भूकम्प प्रतिरोधी हुन्छ। नेपाल भूकम्प जोखिम क्षेत्र हो भन्ने जानकारी हुँदाहुँदै छड तथा डन्डीहरू भूकम्प प्रतिरोधी छन् छैनन् भनेर सम्बन्धित निकायले अनुगमनको पक्ष भने प्रभावकारी देखिएको छैन।

नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका पूर्वअध्यक्ष धु्रवकुमार श्रेष्ठले विद्युत् आपूर्ति सहज रूपमा हुन थालेपछि नेपालमा स्टिल उत्पादनको क्षेत्रमा आत्मनिर्भरतातर्फ अगाडि बढिरहेको बताउनुभयो। श्रेष्ठले स्टिल र छड उद्योगमा पहिले सहज विद्युत् आपूर्ति नहुँदा उत्पादनमा प्रभाव पारे पनि हाल प्रमुख समस्या एवम् चुनौतीको रूपमा सरकारको नीति नियम रहेको बताउनुभयो। सरकारी संयन्त्रले नै कच्चा पदार्थ मुलुकभित्रै उत्पादन गर्ने लगायत स्टिल उद्योगहरूको उत्पादकत्व विकास र बजार प्रवद्र्धन गर्नसके केही वर्षभित्रै आत्मनिर्भर हुनसक्ने उहाँले बताउनुभयो।

अमेरिकी डलरमा हुने उतारचढावले कच्चा पदार्थको मुल्यमा फरक आइरहने र भारतको उत्तर प्रदेशमा नयाँ मुख्यमन्त्री आएसंँगै ओभरलोडमा कडाई गरेपछि नेपालमा कच्चा अभाव देखिन थालेको श्रेष्ठले बताउनुभयो।

१ दशमलब ५ मिलियन टन वार्षिक माग रहेको स्टिल तथा डन्डी बाहिरी प्रयोजनका लागि पनि उत्तिकै मात्रामा प्रयोग हुने गरेको छ।। रोलिङ, ढोका, फलामे बार, टेबल, कुर्सी लगायतमा पनि प्रयोग हुने गरको छ। यस्ता बाहिरी प्रयोजनका लागि प्रयोग हुने फलाम र छडमा खिया लाग्न नदिन विशेष सावधानी अपनाउनु पर्दछ। खिया प्रतिरोधी पेन्टको प्रयोगले ढोका तथा बारमा लाग्ने खिया लाग्ने समस्याबाट राहत पाउन सकिन्छ। त्यस्तै तेल, ग्रिज लगायत चिल्लो पदार्थको प्रयोग पछि डिग्रिजरको प्रयोग गर्नुपर्छ।

LEAVE A REPLY