रियलले जित्यो युएफा उपाधि



कार्डिफ, (एजेन्सी)
यूरोपेली क्लबको सर्वोच्च फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल मेड्रिडले जितेको छ।

योसँगै रियल लगातार दुई सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो क्लबसमेत बनेको छ। साथै रियलले १२औं पटक च्याम्पियन्स लिगको उपाधि जितेर नयाँ कीर्तिमानसमेत बनाएको छ। रियल प्रतियोगिताको इतिहासमा उपाधि रक्षा गर्ने पहिलो टोलीसमेत भएको छ।

च्याम्पियन्स लिगअन्तर्गत शनिबार राति भएको उक्त फाइनलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ को फराकिलो गोलअन्तरले हराउँदै रियलले उपाधिको रक्षा गरेको हो। रियलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै प्रेरणादायी भूमिका निर्वाह गरेका थिए।
रोनाल्डोले खेलको २०औं मिनेटमा पहिलो गोल गर्दै रियललाई शुरुआती अग्रता दिलाएका थिए। तर उक्त अग्रता धेरैबेर टिकेन। खेलको २७औं मिनेटमा मान्डुजिकले उत्कृष्ट भलि प्रहार गर्दै बललाई रियलको गोलपोस्टकों जाली चुमाएपछि पहिलो हाफसम्म दुबै टोली १–१ गोलको बराबरीमा रोकियो।

रोमाञ्चक मोडमा पुगेको उक्त खेलको दोस्रो हाफमा भने रियल हावी रह्यो। दोस्रो हाफमा रियलले एकपछि अर्को गर्दै थप ३ गोल गर्यो। जसअनुसार खेलको ६१औं मिनेटमा क्यासेमेरोको गोलमार्फत रियलले पुनः खेलमा २–१ ले अग्रता लियो। त्यसको तीन मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलको गोलसंख्या तीन पुग्यो। लुका मोड्रिचको क्रसलाई रोनाल्डोले गोलमा परिणत गरेका थिए। उक्त गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो गोलसंख्या १ सय ५ पुर्याएका छन्।

यता युभेन्ट्सले पनि गोल फर्काउने प्रयासलाई जारी नै राखेका थिए। तर खेलको ८४औं मिनेटमा युभेन्ट्सलाई अर्को झट्का लाग्यो। कुआर्डाडोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सीमित भयो। रियलका कप्तान सर्जियो रामोसलाई धक्का दिएपछि कुआर्डाडो दोहोरो पहेंलो कार्डका शिकार भएका थिए।

एक खेलाडी कम भएपछि युभेन्ट्सले अर्को गोलको सामना गर्नुपर्यो। खेलको ९०औं मिनेटमा मार्सेलोको क्रसमा डी एरियाभित्र उभिएका मार्को एसेन्सियोले वान टच प्रहारमा गोल गर्दै रियलको जितलाई सहज बनाए। यता सिजनको तेस्रो उपाधि जित्ने सुरमा रहेको युभेन्ट्सले च्याम्पियन्स लिगको पछिल्लो तीन वर्षमा दोस्रोपटक उपविजेताको रूपमै चित्त बुझाउनुपर्यो। घरेलु लिग र कप प्रतियोगिताको उपाधि जितिसकेको युभेन्टसले पछिल्लोपटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो।

जितपछि मैदानमा लडिबुडी गरी उत्साह मनाएका रोनाल्डोले च्याम्पियन्स लिग जित्नु सहज नभएको बताए विशेष गरी युभेन्ट्स जस्तो टोलीसँग जसले फाइनलसम्मको यात्रा गर्दा मात्र ३ गोल बेहोरेका थिए। यो मेरो करियरकै उत्कृष्ट क्षणमध्येको एक हो। तर म प्रत्येक सिजन यही कुरा दोहोर्याइरहेको हुन्छु।

प्रतिक्रिया दिनुहोस्