लन्डनमा आतंककारी आक्रमण, ७ को मृत्यु



लन्डन, (एजेन्सी)
बेलायतको चर्चित लन्डन ब्रिज र बरो मार्केटमा शनिबार राति आतंककारी आक्रमण हुँदा ७ जना मारिनुका साथै ४८ भन्दा बढी घाइते भएका छन्।

स्थानीय समयअनुसार राति करिब १० बजे एउटा सेतो भ्यानले पैदल यात्रुहरूमाथि कुदाउँदा यो घटना भएको हो। लन्डन ब्रिज नजिकैको बरो मार्केटमा छुरा आक्रमण भएको थियो।

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले लन्डनमा शनिबार राति भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै ‘यो अति नै भएको’ बताउनुभएको छ।

प्रधानमन्त्री मे र लन्डनका मेयर सादिक खानलाई घटनाका बारेमा नियमित जानकारी उपलब्ध गराइरहेको र उहाँले यस विषयमा आपत्कालीन बैठक पनि बोलाएको जनाइएको छ। मेले आतंकवादविरोधी रणनीतिको समीक्षा हुने पनि बताउनुभयो।

यसैबीच बेलायतको प्रहरीले तीन जना आक्रमणकारीलाई गोली हानी मारेको बताएको छ। घटनाको बेला उक्त भ्यानको गति ५० माइल प्रतिघण्टा रहेको अनुमान प्रत्यक्षदर्शीले गरेका छन्। त्यसै गरी, एक आक्रमणकारीले एक महिलालाई १५ देखि २० पटक छुरा प्रहार गरेको र त्यसबेला ऊ ‘यो अल्लाहका लागि हो’ भन्दै चिच्याइरहेको अर्को प्रत्यक्षदर्शीले बताए।

प्रहरीको डुंगाले थेम्स नदीमा खोजी अभियान चलाएको थियो। हमलाको बेला केही व्यक्ति नदीमा खसेको हुनसक्ने आशंकाले उक्त खोजी गरिएको हो। विगत ३ महिनामा लन्डनमा भएको यो तेस्रो घातक हमला हो। उक्त हमलापछि धेरैजसो राजनीतिक पार्टीले राष्ट्रिय चुनावका लागि जारी प्रचारलाई रोकेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले घटनाको निन्दा गर्दै आफ्नो देश बेलायतको साथमा हुने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका बेलायतलाई सम्भव सबै सहयोग गर्न तयार रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्