प्रधानन्यायाधीशको दुःखेसो “राम्रो गरेको कसैले सहँदो रहेनछ”



SONY DSC

विमल विष्ट, डोटी
प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभएको छ। सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तडको भ्रमणका क्रममा आइतबार यहाँ आइपुग्नुभएकी कार्कीले सुदूरपश्चिमको दिपायल राजपुरमा रहेको उच्च न्यायालयको निरीक्षणका क्रममा सो कुरा बताउनुभएको हो।

प्रधानन्यायाधीश कार्कीले लामो समयदेखि जम्मा भएका मुद्दाहरूलाई चाँडो किनारा लगाउन निर्देशन दिनुभएको थियो।

सोही क्रममा प्रधानन्यायाधीश कार्कीले भन्नुभयो– ‘पुराना जम्मा भएका मुद्दाहरू चाँडो फैसला गरिँदा पीडितले चाँडो न्याय पाउने भएकाले त्यसमा जोड दिनुहोला। यो देशमा राम्रो गरेको कसैले देखी नसहँदो रहेछ। मैले न्याय क्षेत्रमा राम्रो काम गरौंला भन्ने सोचेको थिएँ।’

‘उल्टै मलाई महाअभियोग लगाए। थप राम्रा काम गर्नै सकिएन’ –उहाँले भन्नुभयो।
प्रधानन्यायाधीश कार्की प्रत्येक वर्ष शुक्ल नवमीका दिन लाग्ने खप्तड गंगा दशहरा मेलाको भ्रमणका लागि उहाँ आइतबार डोटीको खप्तड पुग्नुभएको हो। खप्तडमा उहाँले पूजाआजा गर्नुका साथै विभिन्न रमणीय क्षेत्रको अवलोकनसमेत गर्नुभएको थियो। त्यसै गरी प्रधानन्यायाधीश कार्कीले आइतबार नै डोटीमा रहेको सुदूरपश्चिमको प्रसिद्ध मन्दिर शैलेश्वरीमा पूजाआजा गर्नुभएको थियो।

पुनः मतदानविरुद्ध रिट, आज सुनुवाइ हुने

काठमाडौं, (नेस)
भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आइतबार रिट दायर भएको छ।

१९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दर्ता गराएका हुन्। रिटमा भरतपुरको पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सुचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ। रिटमाथि सुनुवाइका लागि सोमबारका लागि पहिलो पेसी तोकिएको सर्वोच्च अदालतबाट थाहा भएको छ।

प्रतिक्रिया दिनुहोस्