दक्षिण चीन सागर सम्बन्धमा अमेरिकी चेतावनी



वासिङ्टन, (एजेन्सी)
अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले शनिबार अमेरिकाले मानव निर्मित दक्षिण चीन सागरका टापुहरूमा चीनको सैनिकीकरण स्वीकार नगर्ने बताएका छन्। सिंगापुरमा आयोजित सुरक्षा सम्मेलनमा बोल्ने क्रममा उनले यस्ता कदमको कारण क्षेत्रीय स्थिरता खतरामा पर्ने विचार व्यक्त गरेका छन्।

प्राकृतिक सम्पदाले निकै धनी दक्षिण चीन सागरमा चीनको भौगोलिक दाबीको थुपै्र राष्ट्रले विरोध जनाउँदै आएका छन्। यसैबीच जनरल म्याटिसले उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र क्रियाकलापहरू रोक्न चीनले गरेका प्रयासहरूको प्रशंसा पनि गरेका छन्।

यस वर्ष लगातार क्षेप्यास्त्रहरू परीक्षण प्रक्षेपण गर्दै गएको कारण संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लक्षित नाकाबन्दी विस्तार गरेको केही समयपछि नै उनले चीनको प्रशंसा गरेका हुन्।
सांग्रिला वार्ता मञ्चको वार्षिकसभामा भाषण दिँदै उनले भनेका छन्– ‘हामी कुनै पनि राष्ट्रले कृत्रिम टापुहरूमा सैनिकीकरण र जलीय क्षेत्रमा जबरजस्ती स्वामित्व दाबी गरेको खण्डमा विरोध गर्दछौं। कसैको एकपक्षीय अडान र दाबी हामीलाई स्वीकार्य छैन।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य वरिष्ठ अधिकारीहरूले पटकपटक आफूहरूले अन्तर्राष्ट्रिय जगत्को प्रमुख जलमार्ग दक्षिण चीन सागरको रक्षा गर्ने बताउँदै आएका थिए। यसै वर्षको शुरूमा अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले अमेरिकाले सो क्षेत्रमा चीनलाई टापु बनाउन र त्यहँँसम्मको पहुँच विस्तार गर्न नदिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्