मकवानपुरलाई करिब साढे तीन अर्ब बजेट



नेपाल समाचारपत्र
हेटौंडा
सरकारले हालै सार्वजनिक गरेको बजेटमा मकवानपुरमा करिब साढे तीन अर्ब रुपियाँ छुट्याइएको छ। स्थानीय तह लागू भएसँगै सार्वजनिक भएको पहिलो बजेट भाषणले मकवानपुरका १० स्थानीय तहमा छुट्टाछुट्टै रकम बिनियोजन गरेको हो।

एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका रहेको मकवानपुरलाई अर्थले कूल ३ अर्ब ५६ करोड १ लाख ९९ हजार रुपियाँ बजेट विनियोजन गरेको छ। यसअघि जिल्ला विकास समितिमार्फत् नगर तथा गाउँमा बजेट छुट्याइने गरिए पनि यस पटकबाट केन्द्र सरकारले सिधैं गाउँ तथा नगरपालिकास्तरमा बजेट छुट्याउन शुरू गरेको हो।

अर्थ मन्त्रालयको आधिकारिक वेवसाइटमा राखिएको विवरणअनुसार मकवानपुरलाई वित्तीय समानीकरणतर्फ २ अर्ब ३४ करोड ६४ लाख १० हजार र सशर्त अनुदानतर्फ १ अर्ब २१ करोड ३७ लाख ८९ हजार छुट्याइएको छ।
मकवानपुरका ८ वटा गाउँपालिकाका लागि २ अर्ब ३७ करोड ५० लाख ८१ हजार रुपियाँ छुट्याइएको छ। मकवानपुरको एकमात्र हेटौंडा उपमहानगरपालिकालाई ८३ करोड ५६ लाख ६५ हजार रुपियाँ छुट्याइएको छ भने थाहा नगरपालिकाका लागि ३४ करोड ९४ लाख ५३ हजार बजेट विनियोजन गरिएको छ।

गाउँपालिकामध्ये सबैभन्दा बढी बकैया गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ। मकवानपुरको ठूलो गाउँपालिकाको लागि ४० करोड ८९ लाख २५ हजार रकम छुट्याइएको छ भने इन्द्रसरोवर गाउँपालिकाका लागि सबैभन्दा कम १६ करोड ४६ लाख रुपियाँ छुट्याइएको मन्त्रालयले उल्लेख गरेको छ। कैलाश गाउँपालिकामा २८ करोड १२ लाख ६० हजार रुपियाँ विनियोजन भएको छ। बागमती गाउँपालिकालाई ३३ करोड २८ लाख १८ हजार रुपियाँ छुट्याइएको छ भने भीमफेदी गाउँपालिकालाई २७ करोड ४२ लाख ६७ हजार रुपियाँ विनियोजन गरिएको छ।

मकवानपुरगढी गाउँपालिकालाई २८ करोड ४२ लाख ८२ हजार रुपियाँबजेट छुट्याइएको छ भने मनहरी गाउँपालिकामा ३३ करोड ७० लाख ६० हजार रुपियाँ बजेट पारित गरिएको छ। राक्सिराङ गाउँपालिकालाई २९ करोड १८ लाख ६९ हजार रुपियाँ बिनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्