यार्सा टिप्न पाटनमा विद्यार्थी, पाँच दर्जन विद्यालय रित्तै



दीपेन्द्र शर्मा, जाजरकोट
बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्नका लागि जाजरकोटको उत्तरपूर्वी क्षेत्रका अधिकांश विद्यार्थी आफनो पढाइ छाडेर हिमाली पाटनतिर लागेका छन्। पूर्वी क्षेत्रका प्रायः विद्यालयका सबैजसो विद्यार्थी पाटनतिर लागेपछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ। माथिल्लो कक्षाका सबै विद्यार्थी पाटनतिर लागेपछि विद्यालयमा विद्यार्थी नहुँदा शिक्षकहरू कामविहीन भएका छन्। जिल्लाका कतिपय विद्यालयमा विद्यार्थी नहुँदा पढाइसमेत शुरू भएको छैन।

६ कक्षादेखि माथिका सबै विद्यार्थी यार्सा खोज्न लेकतिर गएका कारण पठनपाठन शुरू हुन नसकेको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए। ‘गाउँमा विद्यार्थी नै छैनन्, सबै यार्सा खोज्न हिमाली पाटनतिर लागे, विद्यालय सुनसान छ, कसलाई पढाउनु –उनले भने। जिल्लाका अधिकांश विद्यालयका विद्यार्थी बहुमूल्य जडिबुडी यार्सा टिप्न कर्णालीका जुम्ला, डोल्पाका पाटनहरूमा जाने गर्दछन्। यहाँका वारेकोट गाउँपालिकाका नायकवाडा, रामीडाँडा, सक्ला, रोकायगाउँ, कुशे गाउँपालिकाका पैक, त्रिवेणी नलगाड नगरपालिकाको रग्दा, भगवती, लहाँ, खगेनकोटलगायतका गाउँका करिब ५ हजार बढी विद्यार्थी पढाइ छाडेर पैसा कमाउनका लागि यार्सा खोज्न लेक पाटनतिर लाग्ने गरेका छन्। यार्सा खोज्न खाद्यान्न, लत्ताकपडासहित गाउँका अधिकांश मानिस गाउँ नै सुनसान हुने गरी पाटनतिर लागेका छन्।

एक महिना मात्र यार्सा टिपे एक वर्षभरिको पढाइ खर्च पुग्ने भएकाले पढाइभन्दा यार्सा टिप्नु प्यारो भएको त्रिवेणी नलगाड नगरपालिका–७ स्थित पन्चभयार मावि जिकुवाकाका कक्षा ८ मा अध्ययनरत विद्यार्थी पोषण शर्माले बताए। ‘विद्यालयका सबै विद्यार्थी यार्सा टिप्न डोल्पातिर गएपछि विद्यालयमा कोही हुँदैनन्, अनि विद्यालयमा पढाइ पनि हुँदैन, सिजन सकिएर घर आएपछि पढ्ने गर्छु’ –शर्माले भने। हरेक वर्ष यार्सा टिप्ने सिजनमा विद्यालयमा पढाइ नहँुदा कोर्स पूरा नहुने भएकाले कोर्स पूरा नहुँदै विद्यार्थीले परीक्षा दिने गरेका छन्। यो समस्याबाट कक्षा १० मा अध्ययनरत विद्यार्थी बढी मारमा पर्ने गरेका छन्। जाजरकोटका पूर्वी क्षेत्रका विद्यालय यार्सा टिप्ने समयमा सधैं बन्द हुने गरेका छन्।

जिल्लाको पूर्वी भागका विद्यालयका विद्यार्थी पढाइ छोडेर यार्सा टिप्न गएको आफूलाई कुनै जानकारी नआएको जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए। विद्यालय नै बन्द गरेर यार्सा टिप्न जानु राम्रो नभएको भन्दै यसबारेमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई सोधिने सिंहले बताए। विगतका वर्षमा यार्सा टिप्न जाने विद्यार्थीका कारण जाजरकोटका पूर्वी क्षेत्रका पाँच दर्जन विद्यालयका हजारौं विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको गरेको थियो। यसै समस्यालाई मध्यनजर गरेर जाजरकोटमा जिल्लास्तरको अनुगमन समितिको बैठकबाट बालबालिकालाई पढाइ छाडेर यार्सा टिप्न जान नदिने निर्णय गरिएको जिशिअ सिंहले जानकारी दिए। बाटोमा बालबालिकालाई यार्सा टिप्न जान नदिनका लागि प्रहरीलाई समेत जानकारी गरिएको उनले बताए। अवरुद्ध भएको पठनपाठनलाई निरन्तरता दिन तथा समयमा कोर्स पूरा गर्न विद्यालयलाई वर्षे बिदाको उपयोगका बारेमा सरोकारवालासँग छलफल गरेर के गर्ने भन्ने निर्णय गरिने जिशिअ सिंहले बताए। एउटा यार्सालाई ५ सय रुपियाँमा पाटनमा नै ठेकेदारले खरिद गर्ने गरेका छन्। राम्रोसँग खोज्न सक्ने एक जना विद्यार्थीले ३ लाखसम्म कमाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्