चुनावमा मात्रै नेताको नमस्कार



सलिम अन्सारी, प्युठान
जिल्लाको बजारदेखि गाउँसम्म चुनावी रौनकले छपक्कै ढाकेको छ। घरघरमा राजनीतिक दलका झन्डा राखिएका छन्। निर्वाचन आचारसंहिता मिच्दै बिजुलीका खम्बादेखि सार्वजनिक स्थानका रुख, चौतारी, प्रतीक्षालय, मन्दिर र सडकका पुलहरूमा समेत दलका झन्डा टाँगिएका छन्। हरेक पार्टीको टिसर्ट र टोपीमा सजिएर मत माग्दै गरेको देख्न सकिन्छ। सरकारले दोस्रो चरणको मिति सारेपछि मतदातामा निर्वाचन हुने हो या हैन भन्ने आशंका कायमै छ।

गाउँघरका चियापसलदेखि चोकचोकमा स्थानीय तहकै चुनावकै चर्चा चलिरहेको छ। कुन दलका नेतालाई भोट हाल्नेदेखि कसले गाउँको विकास गर्छ भन्नेसम्मका बहस पनि भइरहेका छन्। दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सरे पनि जिल्लामा क्रियाशील दलका नेता तथा कार्यकर्ताहरूको सक्रियता उत्तिकै छ। बर्खायाममा हुन लागेको चुनावमा निकै उत्साहका साथ प्रचारप्रसार भइरहेको छ। आफ्नै गाउँको नेता छान्ने चुनावमा आमनागरिक उत्साहित र मेहनत गरिरहँदा झन्डा राख्ने प्रतिस्पर्धा देखिन थालिएको छ।

निकै चर्को प्रचारमा दलका नेताहरू उत्रिएका छन्। आचारसंहिता उल्लंघन गरेर भए पनि गाउँगाउँमा चुनाव प्रचारका नवीनतम शैलीहरू भित्रिएका छन्। जिल्लाका नौवटा स्थानीय तहका केन्द्र, जिल्लाका विभिन्न ठाउँमा रहेका बजारहरू चुनावले गर्दा रंगिएका छन्।

उम्मेदवारहरू कार्यकर्ताको लस्करसहित गाउँ पस्न थालेका छन् भने जनताले नेताको नमस्कार र बाचा कसम बेहोर्न थालिसकेका छन्। त्यति मात्र होइन यति बेला चुनावी चटारोमा रहेका नेता तथा कार्यकर्ता गीत–संगीतसँगै, घोषणापत्र र उम्मेदवारका पर्चासहित नमस्कार गर्दै मतदाताका माझ पुग्दा आम नागरिकलाई अभिवादन फर्काउन भ्याइनभ्याई छ। ‘चुनावभरि नेताहरू नमस्कार गर्दै आउँछन्, चुनावपछि मुन्टो फर्काउने होलान्’ –सरुमारानी–३ कोटाचौरका स्थानीय कृष्णबहादुर सामतले भने। अरू बेला जनताका समस्या समाधानका लागि खासै चासो नदेखाउने नेता कार्यकर्ता अहिले हारगुहार गरेर भोट माग्न आउने गरेको अनुभव उनले सुनाए।
दुई दशकपछि स्थानीय तहमा जित्ने आफ्नो प्रतिनिधिले गाउँ टोलको विकास गर्ने अपेक्षा पनि मतदाताले गरेका छन्। स्थानीय नेता तथा कार्यकर्ता घरमै हात जोड्दै आएपछि बूढापाका मतदाता पनि दंग छन्। तर, विगतका चुनाव हुँदा मत माग्न आउने नेताहरू चुनावपछि भने गाउँको विकास गर्नमा खासै ध्यान नदिएको उनीहरूको गुनासो पनि छ। उम्मेदवारको आकर्षक नारा र आश्वासन बाँडेर जाने गरे पनि चुनावका बेला गर्ने गरिएका यी प्रतिबद्धता चुनाव जितेपछि पूरा नगर्ने प्रवृत्तिका कारण उम्मेदवारका प्रतिबद्धताप्रति भने मतदाता विश्वस्त हुन सकिरहेका छैनन्।

‘नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मदवारहरू यहाँ भोट माग्न आइसकेका छन्। भोटको आशमा आउँछन्, हामी यस्तो गरिदिन्छौं भन्छन्’, सरुमारानी–३ हंसपुरस्थित कोटाचौरका स्थानीय रुकबहादुर सामतले भने– ‘पहिले काम गरेर देखाऊ भनेका छौं।’

यहाँ आउने सबैजसो दल र तिनका नेताहरूले जितेपछि काम गर्ने वाचासहित भोट मागेर फर्किने गरेको सामतले बताए। ‘नेताहरूले तपाईंहरूको समस्या हेरिदिन्छौं भनेका छन्’, सामतले नेपाल समाचारपत्रसँग भने– ‘हामीले खानेपानी ल्याइदिन पर्यो भनेर माग गरेका छौं।’

हंसपुरस्थित कोटाचौर गाउँ वार्डकै सबैभन्दा बढी खानेपानी समस्या भएको ठाउँ हो। बाह्रै महिना उनीहरूलाई खानेपानीको समस्या हुन्छ। वर्षौंदेखि यहाँका स्थानीयलाई घण्टौं लगाएर भए पनि धारा होइन खाल्डोमा जम्मा भएको पानीमा भर गर्नुपर्ने बाध्यता छ। चुनावपछि जितेका उम्मेदवारहरू मुखै देखाउन नआउने भएकाले भोट दिए पनि अर्थ लाग्दैन भन्छन् उनीहरू।

प्रतिक्रिया दिनुहोस्