क्रसरले बनाएको खाडलमा डुबेर एकको मृत्यु



नेपाल समाचारपत्र
काभ्रे
क्रसर उद्योगले खोलामा स्काभेटर नै लगाएर निकालिएको निर्माण सामग्रीको खाडलमा परी स्थानीय एक व्यक्तिले शनिबार ज्यान गुमाएका छन्। पानीको मुहानभन्दा ५ मिटर जति गहिरो खाडल क्रसरको स्काभेटरले बनाएपछि त्यसतल रहेका स्थानीयहरूको सिंचाइ र पिउने पानी बन्द भएको भन्दै विरोध हुँदाहुँदै खाडल गहिराउने क्रम रोकिएको थिएन। पानीको मुहानमा पुगेर फर्कने क्रममा साविक ज्याम्दी गाविस ८ हालको भुम्लु गाउँपालिका वडा नम्बर ९ घर भएका ६१ वर्षीय हरि पराजुलीको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सिन्धुपाल्चोक जिल्लाको साविक साँगाचोक गाविसको दाउन्ने र ज्याम्दी गाविसको सिमानामा भएको उक्त क्रसरले चारवटा स्काभेटर खोलामा राखी खानी सञ्चालन गर्दै आएको थियो।

सोही क्रसरका कारण पराजुलीको निधन भएको भन्दै स्थानीयहरूले साँझबाट नै आन्दोलन शुरु गरेका छन्। पराजुली दिउँसो पानीको मुहानमा हेर्न जाने भन्दै गएको र दुई घण्टासम्म नफर्किएपछि स्थानीयहरूले खोजविन शुरु गर्दा क्रसरले खोलामा बनाएको खाडलमा जमेको पानीमा डुबेको अवस्थामा फेला पारेका थिए। स्थानीयहरूले पराजुलीको शव खोला किनारमै राखेर क्रसरका सञ्चालकहरू विरुद्ध नाराबाजी गरिरहेका थिए। उक्त क्रसरका कारण ज्याम्दीका स्थानीयहरूको खानेपानीको मुहान सुकेको, सिंचाइ गर्न नसकिएको जस्ता मागहरू केही दिनअघि राख्दै आएका थिए।

सिन्धुपाल्चोक र काभ्रेका केही क्रसरहरूले पछिल्लो समय संक्रमणकालको मौका छोपी कानुनविपरीत कार्य गरिरहेको भन्दै स्थानीयहरूले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी गर्दै आएका थिए। केही व्यक्तिहरूले त प्रहरी प्रशासनको नाममा रकम उठाउँदै अवैद्य क्रसरको बालुवाहरूलाई राजधानी तथा जिल्लाका अन्य भागहरूमा समेत पुर्याउँदै आएका थिए। स्थानीयहरूले घटनाको सत्यतथ्य बुझी दोषीलाई कारवाही गर्न आयोग गठनको माग गरेका छन्। साथै मृतकका आफन्तलाई क्षतिपूर्तिलगायतका मागहरू राखेको स्थानीय शिव पराजुलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्