विद्यालयका लागि ९० खालका नक्सा



ईश्वरराज ढकाल, काठमाडौं

कम्पले क्षतिग्रस्त विद्यालय निर्माण गर्न ९० प्रकारका नक्सा प्रयोग गरिएको छ। २ देखि १६ कोठेदेखि ४ तलेसम्मको विद्यालय भवन निर्माण गर्न ९० किमिमका नक्सा प्रयोग गरिएको हो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, गैरसरकारी संस्था र सरकार आफैंले विद्यालय भवन निर्माण गर्दा मनपरी नक्सा प्रयोग गर्न थालेपछि विद्यालय भवन पुनर्निर्माण गर्न गठित केन्द्रीय आयोजना कार्यान्वयन इकाइ समितिले कडाई गर्दै मापदण्डअनुसार अनिवार्यरूपमा नक्सापास गरेर मात्रै निमार्ण शुरू गर्न आग्रह गरेको हो। इकाइले हालसम्म निर्माण गरेका करिब १ हजार ८ सय विद्यालयहरू ९० प्रकारकै नक्सामध्येबाट निर्माण भइरहेको छ। इकाइले नै तयार गरेको नक्साको आधारमा निर्माण गरिएको इकाइ प्रमुख इमनारायण श्रेष्ठले जानकारी दिनुभयो। स्थानीय तहको निर्वाचनको कारण विद्यालय भवन निर्माण कार्य ठप्प भएको विद्यालय भवन निर्माण कार्य निर्वाचन लगत्तै शुरु हुने उहाँले उल्लेख गर्नुभयो। ‘हामीले नक्सा उपलब्ध गराएका छौं, सोहीअनुसार विद्यालय भवन निर्माण गर्नुपर्नेछ’ –उहाँले भन्नुभयो।

भूकम्पले ध्वस्त र क्षतिग्रस्त ९ हजार ३ सय ५३ विद्यालयमध्ये चालू आवमा करिब २ हजार ४ सय पुर्निर्माण गरिने भएको छ। इकाइले एनजीओ, जाइका, एडीबी र अन्य दातृ निकायले तयार गरेको नक्साको आधारमा विद्यालय भवन निर्माण शुरु गरेको हो। श्रेष्ठले भन्नुभयो– ‘हामीले पास गरेका डिजाइनबाट मात्रै भवन निर्माण गर्नुपर्नेछ, यदि नक्सा स्विकृति नै नगरी निर्माण गरे त्यस विद्यालयलाई कारबाही गर्ने तयारी भएको छ।’ दातृ निकाय र विभिन्न सहयोगी संस्थाले निर्माण गरेको विद्यालय भवनको नक्सा शहरी विकास तथा भवन निर्माण विभागबाट स्विकृति दिएपछि मात्रै निर्माण शुरु गर्ने व्यवस्था गरिएको छ।

सरकारले विनियोजन गरेको रकमले चालू आर्थिक वर्षभित्र २ हजार ४ सय विद्यालय मात्रै पुनर्निर्माण हुने भएका छन्। भूकम्पले ध्वस्त भएकामध्ये दुई र तीनकोठे गरी २ हजार ५ सय वटा विद्यालय पुनर्निर्माण हुन लागेका छन्। सरकारले रकम नदिँदा आउने वर्षात्मा पनि लाखौं विद्यार्थी टहरामा बसेर पढ्न बाध्य हुने देखिएको छ। वर्षायाम आउन करिब एक महिना बाँकी रहँदासमेत पुनर्निर्माणले गति लिन सकेको छैन। उता विद्यालय भवन पुनर्निर्माण गर्न ढुंगा र मोटोलाई पूर्णरूपमा निषेध गरिएको छ। ‘विद्यालय भवन निर्माण आचार संहितामा भूकम्परहित भवन निर्माण गर्न माटो र ढुंगा पूर्णरूपमा रोक लगाइएको हो। अब सबै विद्यालय भवन पक्की बन्नेछन्, माटोको जोडाई गरी निर्माण गरेर बनाउन पाइनेछैन’ –इकाइ प्रमुख श्रेष्ठको भनाइ थियो। उहाँका अनुसार सिमेन्ट र इँट्टा नपाइने स्थानमा के गर्ने ? भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको उल्लेख गर्दै त्यसको विकल्पमा कस्तो प्रविधि प्रयोग गर्ने ? भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो।

हाल एडीबी र जाइकासँग सम्झौता भएका १ सय २७ वटा विद्यालय असारअगावै पुनर्निर्माण अन्तिम चरणमा पुग्नेछन्। विद्यालय व्यवस्थापन समितिअन्तर्गत १ हजार ६५ र गैरसरकारी संस्थामार्फत् अन्य गरी २ हजार ४ सय विद्यालय मात्रै पुनर्निर्माण हुने भएका छन्। तथ्यांकअनुसार ध्वस्त भएका विद्यालय भवन पुनर्निर्माण गर्न १ खर्ब ६७ अर्ब रुपियाँ लाग्नेछ। उपत्यकामा ध्वस्त भएका ५ सय ४ वटा विद्यालयमध्ये यो वर्ष करिब ५५ वटा मात्रै पुनर्निर्माण हुने क्रममा रहेका छन्। तथ्यांकअनुसार काठमाडौंका १ सय ८७, ललितपुरका १ सय ८३ र भक्तपुरका १ सय ३७ विद्यालय ध्वस्त भएका थिए। रकम अभावको कारण ती विद्यालय भवन निर्माण अनिश्चित बन्न पुगेको हो।

प्रतिक्रिया दिनुहोस्