बैतडीमा राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा



नेपाल समाचारपत्र
बैतडी
बदर मत घटाउन बैतडीका राजनीतिक दलले घरदैलोसँगै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेका छन्। पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणको स्थानीय निर्वाचन हुने जिल्लामा दलका कार्यकर्ता आफैं बदर मत घटाउन अग्रसर भएका हुन्।

मत बदर नहोस् भनेर बैतडीका राजनीतिक दलका अगुवाहरूले मतदाता शिक्षामा जोड दिएका हुन्। नेपाली कांगे्रस बैतडीले मतदाताहरूको घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि दिइरहेको नेपाली कांग्रेसका जिल्ला सचिव वीरबहादुर विष्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘सकेसम्म मत बदर नहोस् भनेर लागेका छौं।’
सुर्नया गाउँपालिका अध्यक्ष पदका उम्मेदवारसमेत रहेका विष्टले नमुना स्वस्तिक छाप तथा नमुना मतपत्र बनाएर मतदातालाई नमुना मतदान गराइरहेको पनि बताउनुभयो। विष्टका अनुसार विभिन्न वडामा नमुना स्वस्तिक छाप र मतपत्रसहित अहिले पार्टीले मतदाता शिक्षा पनि दिइरहेको छ।

नेकपा एमालेका जिल्ला सचिव लीलाधर भट्टले आफ्नो पार्टीले जिल्लामा प्रचारप्रसार अभियानसँगै मतदाता शिक्षामा पनि जोड दिएको बताउनुभयो। ‘पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले पहिलो प्राथमिकताका साथमा मतदाता शिक्षालाई घरदैलोसम्म पुर्याउन सबै तहका प्रचारप्रसार समितिलाई निर्देशन दिइएको छ’, उहाँले भन्नुभयो– ‘सकेसम्म जिल्लामा मत बदर कम गर्न एमाले लागिपरेको छ।’

त्यसै गरी नेकपा माओवादी केन्द्रका संयोजक पे्रमप्रकाश भट्ट आदित्यले पनि जिल्लामा मतदाता शिक्षामा क्रियाशील रूपमा लागेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘घरदैलोमा गएका कार्यकर्ताले मतदातालाई मत बदर नगर्न पाठ सिकाइरहेका छन्, थोरै आउने मत पनि बदर नहोस् भनेर साना दलका नेता कार्यकर्तासमेत मत बदर कम गर्न सचेत देखिएका छन्।’

राप्रपा, नेकपा माले, नयाँ शक्ति नेपाल, राष्ट्रिय जनमोर्चालगायतका साना दलले झनै मतदाता शिक्षालाई जोड दिइएको जनाएका छन्। त्यसै गरी जिल्ला निर्वाचन कार्यालयले पनि मतदाता शिक्षालाई जोड दिएको छ। गाउँगाउँसम्म मत कसरी दिने, कसरी बदर कम गर्ने विषयमा सचेतनामूलक कामहरू जेठ ५ गतेबाट भइरहेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रसाद पुmँयालले बताउनुभयो।

राजनीतिक दलका अगुवाहरूले पनि मतदाता शिक्षामा जोड दिएपछि कार्यालय र दलको मतदाता शिक्षा अभियान अहिले जिल्लामा चलिरहेको छ। दोस्रो चरणको निर्वाचनका मतदातासमेत आफ्नो मत बदर हुने हो कि भनेर चिन्तित भएकाले मतदाता शिक्षामा आकर्षित भइरहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्