धमिलो पानीको चिन्ता



सरिता चलाउने, सल्यान
कालीमाटी गाउँपालिका वडा नम्बर १ धुम्का गाउँमा बसोबास गर्ने स्थानीयबासीहरू शारदा नदीको पानी वर्षातमा धमिलो हुने भएपछि चिन्तित हुन थालेका छन्।

वर्षौंदेखि खानेपानीको स्रोतका रूपमा शारदा नदीलाई प्रयोग गर्दै आइरहेका २५ घरपरिवार रहेका धुम्का गाउँका बासिन्दाले शारदा नदी किनारमा खाल्डो पारेर जम्मा गरेको पानी पिउनका लागि प्रयोग गरिरहेका छन्।
वर्षायाममा नदीमा धमिलो पानी आउने र नदी किनारमा सफा पानी नहुने भएकाले समस्या पर्ने गरेको स्थानीयवासी गणेशबहादुर रेउलेले जानकारी दिनुभयो। नजिकमा पानीको स्रोत कतै नभएपछि वर्षौंदेखि समस्या भोग्दै आएको रेउलेको भनाइ छ।

धमिलो र फोहर छ भन्ने थाहा पाउँदा पाउँदै विकल्प नभएपछि बाध्यताले खानेपानीको रूपमा प्रयोग गर्दै आएको स्थानीयवासी मीना रावतले जानकारी दिनुभयो।

‘गाग्रीमा पानी ल्याउँदा पानी धमिलो देखिन्छ, यो खाए रोग लाग्छ भन्ने पनि थाहा छ, विकल्प नै नभएपछि के गर्ने’ रावतले भन्नुभयो। नदीबाट पानी ल्याएर केही घन्टा राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको उनको भनाइ छ।

खानेपानीको समस्या भएको लामो समय बितिसक्दा पनि कसैको ध्यान नगएको स्थानीयवासी बुद्धिप्रसाद रेउलेले जानकारी दिनुभयो।

‘खानेपानीको समस्या लिएर जिल्लाका सबै सरोकारवाला निकायमा पुगिसक्यौं तर कतैबाट समस्या हल भएन’ –रेउलेले भन्नुभयो।
नदीपारी एक घन्टा हिँडेर पानीको मुहान भए पनि पुल नहुँदा नदी तरेर पानी ल्याउन गाह्रो हुने गरेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्