मोहन दुवाल
चार स्तम्भमध्ये कान्छो योगवीर सिंहका बारे चर्चा गर्दै उनले योगुसधाको भूमिका लेखमा आफ्नो गुरुका रूपमा योगवीरसिंहलाई चर्चा गरेका छन्। कवि योगवीरसिंहको भाषामोह कस्तो छ, यी दुई पङ्क्तिले नै छर्लङ्ग पार्छ। कवितामा नै उनले लेखेका छन् ः

नेपालभाषा जीर्ण भएको अन्छी नभई बनाइदिऊँ
भारतीय शास्त्रभवनले स्वीकृत यसलाई दिलाइदिऊँ।

सामाजिक–सुधारका पक्षपाती। चर्चित कवि। भाषासेवक योगवीरसिंहले पनि थुपै्रै भाषा र काव्य क्षेत्रमा आफ्नो अगमता प्रदर्शन गरे, जसको चर्चा यस लेखमा शृङ्खलाबद्ध ढङ्गले गरेका छन्। उनले आफ्नो काव्य गुरु योगवीरसिंहको अल्पायुमा मृत्यु भएकोमा शोक व्यक्त गर्दै आफूलाई निःसहाय छोडेर गएको भए तापनि उनकै आज्ञापालन गर्दै आफूलाई यस क्षेत्रमा सक्रिय तुल्याइरहने भाव व्यक्त गरेका छन् कवितामा ः

किन्तु जिं गुगु छंगु निंतिं काव्य–माः हन्य जक धुन
छन्त छाय्पुगु स्वे मलाकं कुटिल कालं गुरु नुन,
हा अभागीं याय् मखं गुरुयागु अन्तिम दर्शन
फक्व अयनं याय् त्यना जिं वैगु आज्ञा पालन।

यिनले कवितामा लेखेजस्तै गुरुको आज्ञापालन गरे। आफ्नो युगमा चार स्तम्भले पुर्याइदिएका योगदानहरूलाई काँधमा जिम्मेवारीझैं बोकेर चित्तधरले भाषा र साहित्यको सेवामा पछि जीवनदान दिए। थुप्रै खालका कृतिहरू लेखेर भाषाक्षेत्रको एउटा युगजस्तै बनेका चित्तधरले भाषासेवामा के मात्र योगदान पुर्याएनन् ? कवितामा आफ्नै विम्ब पोखेर सुगतसौरभ जस्तो महाकाव्यसम्म प्रदान गर्न भ्याएका महाकवि चित्तधरले नेवारी संस्कृति झल्किने थायभू जस्तो कथासङ्ग्रह प्रदान गरेर आफूलाई कथाकारका रूपमा पनि चिनाउन सफल रहे।

नेपालभाषाका जातः, मिंमन पौ, झीगु साहित्य, झीगु साहित्यया तँसा आदि खोजी–अनुसन्धानका कृतिहरू दिएर सेवा पुर्याएका यिनले भाषा व्याकरणका पुस्तकहरू सिर्जना गरेर, साहित्यिक पत्रिका नेपाललाई जीवन्त तुल्याएर, नेपाल भाषा परिषद्जस्तो संस्था संस्थापन गरेर आफ्नो गुरुवचनलाई सार्थक तुल्याइदिएका छन्। गुरुको मूल्याङ्कन गर्दै उनले लेखे – मैले यति भन्न सक्छु कि उहाँ महान् कवि मात्र नभई महान नेता नै हुनुहुन्छ। यी माथि उल्लेख भएका नेपालभाषा साहित्यका चार स्तम्भबारेका लेखहरूका साथै अन्य लेखहरूमा किन थुलिंचा ?, भित्र र बाहिर, फूस्वांको पनि, धर्मादित्य धर्माचार्य, नेपालभाषा साहित्यको आफ्नो बाटो सङ्ग्रहीत छन्। यस पुस्तकको प्रकाशनले केही मात्रामा भए पनि इतिहासको अभावलाई टेवा पुर्याइदिएको देखिन्छ।

अब चर्चा गरौं किन थुलिंचा ? बारे।
यस लेखमा विशेष गरी बुद्धधर्म र नेपालभाषा पत्रिका र थुलिंचा पुस्तकले भाषा साहित्यमा पुर्याएको योगदान र महत्ताको चर्चा गरिएको छ। यस कालमा विशेषगरी योगवीरसिंहपछि धर्मादित्य धर्माचार्यले नेपालभाषा साहित्यमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरालाई स्पष्ट ढङ्गले उल्लेख गरिएको छ। जुनसुकै इतिहासलाई पनि इतिहासकारहरूले आ–आफ्नो दृष्टिकोणले काल विभक्त नै गर्दारहेछन् भन्ने दृष्टि पोखेर कवि चित्तधरले यस लेखमा लेखेका छन्– नेपाल सम्वत् १०२९ सालदेखि मुद्रण भई पुस्तक प्रकाशन भएदेखिको समयलाई आधुनिक युगभन्दा अत्युक्ति हुनेछैन। आधुनिक युगका युग प्रवर्तकहरूमध्ये गद्यमा पं. निष्ठानन्द वज्राचार्य, पद्यमा कवि सिद्धिदास अमात्य र शिक्षाप्रचारमा मा. जगत्सुन्दर मल्ल हुन्। यसै बेलादेखि मात्र बोलीचाली गर्ने भाषाले नै लेखाई गर्नुपर्ने नयाँ मान्यता हाम्रो भाषामा आयो। त्यसको प्रमाणका रूपमा गद्यमा ‘ललितविस्तर’ र पद्यमा ‘सज्जन हृदयाभरण’ हाम्रो अगाडि आउँछ। यही नै हाम्रो नेपालभाषा साहित्य मन्दिरको जग हो।

बुद्धधर्म र नेपालभाषा पत्रिकाले आफ्नो बर्कतअनुसारको भाषा साहित्यको सेवा पुर्याएको हुनाले यस पत्रिकालाई त्यस कालको विशेषता हो भन्न सकिन्छ। तीन अङ्कसम्म बुद्धधर्मको नाममा र चार अङ्कदेखि १० औं अङ्कसम्म बुद्धधर्म र नेपालभाषा नाम गरी प्रकाशित भएको यस पत्रिकाका संस्थापक र सम्पादक जे भने पनि हुने नाम हुन्– धर्मादित्य धर्माचार्य। यस पत्रिकाको प्रकाशनले राणाहरूका कोपभाजनमा धर्मादित्य धर्माचार्य परेता पनि नेपालभाषा साहित्यको इतिहासमा एउटा काल (अवधि) का रूपमा यस पत्रिकाको नाम इतिहासमा समेटियो।

यस पत्रिकामा धर्मादित्य धर्माचार्यद्वारा लिखित गद्य लेखहरू र पद्यमा पृथ्वीमानन्द वज्राचार्य, सिद्धिदास, योगवीरसिंह, वैकुण्ठप्रसाद, धर्मादित्य, इन्दुनाथ, हरिकृष्ण, पूर्णनारायण प्रधान, रत्नमान, पूर्णबहादुर अमात्य, फत्तेबहादुर सिं, चित्तधर, अच्युतानन्द, तुलसीमेहर, पुरुषरत्न भिक्षाचार्य, बेखारत्न शाक्य, श्रीप्रसाद उपासक, पूर्णमान, सिद्धिरत्न, लक्ष्मी नानी, सहस्रगुणनन्द महाप्रज्ञाहरूका पद्य रचना प्रकाशित छन् भनी यिनीहरूका कृतित्वको विवेचनासहित भएको यस लेख नेपालभाषा साहित्यका विद्यार्थीहरूका लागि इतिहास पृष्ठ नै हुन् भन्न सकिन्छ।

धर्मादित्य धर्माचार्यद्वारा उक्त पत्रिकाका माध्यमबाट भाषा साहित्यको सेवा पुर्याएजस्तै यस कालमा व्यक्तिगत रूपले पनि महत्वपूर्ण कृति लेखेर सिर्जनामा देखा परेका लेखकहरूमध्ये शहीद शुक्रराज शास्त्री पनि हुन्। जसले नेपालभाषा व्याकरण, नेपालभाषा वर्णमाला र नेपालभाषा रिडर भाग १, २ पुस्तक लेखेर धेरै गुण गरेका छन्। सु. तीर्थराज, डा. इन्द्रमान, स्थवीर धम्मालोक, देवकाजीहरूले पनि सिर्जनात्मक योगदान पुर्याएको सम्बन्धमा यस लेखमा चर्चा गरिएको छ। त्यस अवधिमा पद्यनिकुञ्ज, हृदयकुसुम, नेपाली विहार, स्वचित्र शुद्धिमार्ग, स्वयम्भु दर्शन आदि पुस्तकहरू उल्लेखयोग्य रहेको तथ्य यस लेखमा सार्वजनिक भएको छ।

थुलिंचा यो काव्यसङ्ग्रह हाम्रो भाषा साहित्यको वर्तमान युगमा दोस्रो कालको कविता यात्राको अर्को खण्ड अर्थात् पूरक खण्डका रूपमा उल्लेख गरेर कवि चित्तधरले लेखेजस्तै यो थुलिंचा पुस्तकमा जति पनि काव्यकृति सङ्ग्रह भएको छ।

त्यसको महत्व कविताको दृष्टिले भन्दा त्यस बखतको परिस्थितिको दृष्टिले विशेष महत्वपूर्ण छ। यसको तात्पर्य होे विषम परिस्थितिमा गरिएको यो विशेष कार्य हो। यस कार्यका लागि वैकुण्ठप्रसाद लाकौललाई बधाई दिँदै थुलिंचाको सत्य सन्देशलाई सबैले आफ्नो सिर्जनाका लागि प्रेरणापुञ्ज सम्झिदिनुपर्ने विचार कविले यस लेखमा व्यक्त गरेका छन्।
दुने व पिने (भित्र र बाहिर) यस लेखमा देशभित्र र देशबाहिर रहेर आ–आफ्नो बर्कत गच्छेअनुसार सिर्जना र भाषा आन्दोलनमा लागेका स्रष्टा द्रष्टाहरूको चर्चा गर्दै लेखको शुरु यसरी गरिएको छ– हाम्रो साहित्यमा बुद्धधर्म र नेपालभाषा पत्रिका कालको अंश भागको जिम्मेवारी पद्य भाग बोकेर हामी ९७ सालको अन्त्यमा जेलमा गयौं, गद्य भाग बोकेर भिक्षुहरू २००० सालतिर देशबाहिर गयए। यो एउटा हाम्रो भाषा साहित्यको विशेष घटना हो, कुनै पनि भाषाको इतिहासमा नहुने खालको।

कोही जेलभित्र रहेर भाषा साहित्यका लागि सङ्घर्षरत रहनुपर्ने, कोही देशबाहिर बसेर भाषा साहित्यको सिर्जनात्मक आन्दोलनमा जुटिरहनुपर्ने अवधि हो १९९७ सालदेखि २००७ सम्मको अवधि। १०४ वर्षको निरंकुश जहानिया राणा शासनमा नेपालभाषा साहित्य, संस्कृति र कलाको चर्चा र अध्ययन गर्ने कार्य युरोपेली विद्वान्हरूले गरेको चर्चा गर्दै यस लेखमा डा. हायन्स जोर्गेनशान, राइट, हडसन, ब्राउन, करपाट्रिक, ह्यामिल्टन, सिल्भेन लेभी, डाक्टर ओल्डफिल्ड, हन्टरद्वारा लिखित पुस्तकहरूको उल्लेख भएको छ। माथि उल्लेख भएका विदेशी लेखकहरूमध्ये हायन्स जोर्गेनशनले त नेपालभाषामा नै पुस्तक लेखेको र अरूहरूले पनि नेपालभाषा साहित्य संस्कृति, कलाका बारे चर्चा गरेका छन् भनेर विदेशी लेखकहरूको उल्लेख भएको यस लेखमा लेखकले भाषा आन्दोलनको इतिहासलाई संक्षिप्तमा चर्चा गरेका छन्। विदेशी लेखकहरूले हाम्रो भाषा, संस्कृति सम्बन्धमा उल्लेख गरेका भनी यस लेखमा यसरी चर्चा गरिएको छ– मैत्रीभाव मन तिव, यशोधरा मते दुख ताय, क ख ग घ का गीत छन् भने कुनैमा हाम्रो शब्दको सादृश्य देखाइरहेको।
कुनै कुनैमा हाम्रो संस्कृतिको विशेषता देखाइरहेको, कुनैमा हाम्रो कलाको चमत्कारिताको वर्णन गरिएको। कुनैमा त हाम्रो वर्ष, तिथिको नाम, हस्तलिखित पुस्तकको सूची, शब्दकोष र हाम्रो गीतका रङ्गढङ्ग पनि लेखिदिएको छ। फेरि हाम्रो नेपाः अक्षर एसिया खण्डमा सम्मान प्राप्त भएको अक्षर हो। तिब्बतमा त हाम्रा अनेक अक्षर र तिब्बती भाषाका अक्षरहरूको काठ सामग्री बनाइराखेको छ।

चीन, जापान र कोरियामा पनि उत्तिकै मान छ रे ⁄ त्यसमा पनि रञ्जना अक्षरको महत्व र मान धेरै नै रहेको छ। यस खालको चित्रण गरिएको यस लेखमा लेखक हृदयले नेपालभाषा साहित्य, कला, संस्कृति प्राचीन मात्र नभई अत्यन्त प्रभावशाली रहेको तर्क तथ्याङ्कका आधारमा प्रस्तुत गरेका छन्।

नेपालभाषा समृद्ध भाषा भएको कारणले यस भाषाका सम्बन्धमा थुप्रै विदेशी विद्वान्हरूले चर्चा र खोजी गरेका छन्। यस भाषाप्रति अनेकौं दूराग्रह राखी राणा शासकहरूले निमिट्यान्न पार्न जुन निरंकुश हैकम र दमन चलाए त्यसको परिणतिका रूपमा देशभित्र र बाहिरबाट थुपै्र आन्दोलन भए। भिक्षुहरूसमेतले आन्दोलनमा साथ दिएको कारणले राणाहरूको केही जोड चलेन। ३२ जना त यस भाषाका लेखक तथा विद्वत्जनलाई कालकोठरीमा राखे। थुपै्र भिक्षुहरू भारतसम्म पुगेर भाषाको प्रचार प्रसारमा जुटिरहे। सरकारको केही नलागेपछि पछि पुस्तक प्रकाशन गर्न स्वीकति लिनुपर्ने व्यवस्था मिलाए।

यससम्बन्धमा लेखक चित्तधर हृदयले यसरी अनुभव लेखेका छन्– २००३ साल कार्तिक १९ गतेदेखि हाम्रो भाषा पनि पास गर्ने उद्देश्यले एउटा विभाग खोलिदियो। अनि के चाहियो र ? त्यसै चोरी–छिपी भारतमा लगी छाप्नुपर्नेहरूलाई यहीँ नै पास गराई छाप्न पाइने भइसकेपछि जेलभित्र लुकी–लुकी लेखेका पुस्तकहरू पनि धमाधम पास गराई छाप्ने कार्य भयो, देशबाहिर भारतमा गई लेखी छापेको पुस्तक पनि पास गर्न गयो। जम्मा पास भएको पुस्तक संख्या ११५ पुग्यो। त्यसको संक्षिप्त परिचय हाम्रो नेपालभाषा विभागका निरीक्षक रहनुभएका खड्गमान मल्लजुले नेपाल पत्रिकामा लेख्नुभएको छ। यो नै हाम्रो साहित्यको आधुनिक युगको तेस्रो काल हो– भित्र र बाहिर।

फुस्वांको पनि यस लेखमा लेखकले कवि सिद्धिचरणद्वारा लिखित कवितासङ्ग्रह फुस्वांको समीक्षात्मक परिचय दिँदै कवि सिद्धिचरणलाई चिनाउने प्रयास भएको छ। सीस्वांपछिको फुस्वां पनि कवि सिद्धिचरणको चर्चित काव्य कृति मानिन्छ। कवि सिद्धिचरणले भूमिकामा लेखेजस्तै यो पुस्तक सिङ्गै नै भूमिका हो। यसको प्रत्येक पङ्क्ति मेरो परिचय हो। यस लेखमा लेखक चित्तधरले कवि सिद्धिचरण श्रेष्ठका काव्यगुरु सिद्धिदास भएको प्रसङ्गमा यी पंक्तिहरू उल्लेख गरेका छन्– मलाई पनि कविताको सौख भनौं कि लगन भनौं भएकोले त्यस व्यक्तिसँग म आकर्षित हुँदै गएँ। बरोबर उहाँकहाँ धाउन थालें। मेरो जीवनको मधुरतम क्षणमध्ये उहाँको आश्रयमा भएको दिन हो भन्ने कुरो अहिले बुझ्न थालें।

त्यसैले गौरवपूर्वक मैले भन्न पाएँ उहाँको एकजना शिष्य म पनि हुँ। सिद्धिचरण कविको सही ढङ्गले सटिक शैलीमा समीक्षा गरिएको यस लेखमा चित्तधर हृदयले जनजीवनका अवस्था चित्रण गर्न सफल कविका रूपमा सिद्धिचरणलाई उल्लेख गरेका छन्। उनको दृष्टिमा कवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय भावना व्याप्त भएका कवि हुन्।

यसै कारणले वि.सं. १९९७ मा यिनी १२ वर्ष जेल परे। जेलमा रहँदा कवि सिद्धिचरणले सीस्वां लेखेजस्तै अन्य लेखकहरूले लेखेका पुस्तकहरूको सूची यस लेखमा दिइएको छ। जुन पुस्तकहरूमा प्रतीक्षा, दिवसचित्र, ख्वबिं प्यागु मे, वनवासया छगू ख,ँ अर्हत्नन्द महाकाव्य, विश्वन्तरया मचात दान, ख्वबि, गौतम बुद्ध, हृदयकथा, अन्तरध्वनि, सुगतसौरभ पछि प्रकाशित भएका छन्। फुस्वांको समीक्षात्मक टिप्पणी यसमा राम्ररी भएको छ।

LEAVE A REPLY