भाषा परीक्षाको केन्द्र तोकियो



काठमाडौं, (नेस)
कोरिया जान दिनुपर्ने भाषा परीक्षाका लागि केन्द्र तोकिएका छन्। आगामी जेठ २७ र २८ गते हुने कोरियन भाषा परीक्षाका लागि राजधानीका विभिन्न २६ केन्द्र निर्धारण गरेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ।

शाखाले परीक्षा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ। त्यसका लागि राजधानीका विभिन्न स्कुल तथा कलेज गरी २६ केन्द्र निर्धारण गरिएको छ। परीक्षाका पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुने ईपीएस शाखाले जनाएको हो।

तोकिएका परीक्षा केन्द्रहरुमा बागमती स्कुल सुकेधारा, रेडियन्ट रिडर्स एकेडेमी सानेपा, जेम्स उमावि धापाखेल, लिटिल एन्जेल्स स्कुल हात्तीवन, एलआरआई स्कुल कलंकी, एनकेसिंह मेमोरियल नयाँ बानेश्वर, भीएस निकेतन मीनभवन, ल्याबोरेटरी उमावि कीर्तिपुर रहेका छन्।

त्यस्तै अन्य केन्द्रहरुमा पिनाकल एकेडेमी लगनखेल, रेडन कलेज सामाखुशी, टाइम्स इन्टरनेसनल कलेज डिल्लीबजार, ट्रिनिटी इन्टरनेसनल कलेज डिल्लीबजार, युनिभर्सल कलेज मैतीदेवी, भीएस निकेतन कलेज तीनकुने, जेभियर इन्टरनेसनल कलेज कालोपुल, जेभियर इन्टरनेसनल स्कुल बौद्ध, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट खुमलटार रहेका छन्।

त्यसै गरी मोलिस उमावि पाटन, क्यास्पियन भ्याली कलेज कुमारीपाटी, गोल्डेनगेट इन्टरनेसनल कलेज बत्तीसपुतली, हिमालय कलेज कोटेश्वर, हिमालयन ह्वाइट हाउस कलेज तीनकुने, आइडियल मोडल स्कुल धोविघाट, किष्ट कलेज कमलपोखरी, नोबल एकेडेमी नयाँ बानेश्वरलाई पनि भाषा परीक्षाको केन्द्र तोकिएको छ।

परीक्षा दिन जाँदा आवेदकले सक्कल राहदानी र रंगीन प्रिन्टको प्रवेशपत्र अनिवार्य लैजानुपर्ने व्यवस्था गरिएको छ।

यो वर्ष ७५ हजार २ सय ४६ जना युवा रोजगारीका लागि ईपीएस परीक्षामा सहभागी हुँदैछन्। यीमध्ये २४ हजार २ सय ३० जनाले उत्पादनमूलक क्षेत्र तथा ५१ हजार १६ जनाले कृषि तथा पशुपालनका लागि फारम भरेका थिए। यीमध्ये १० हजार २ सय जना भाषा परीक्षमा उत्तीर्ण हुनेछन्।

विभागका अनुसार यो वर्ष २९ हजार १ सय ६१ जनाले पशुपालनका लागि आवेदन दिएका छन् भने २१ हजार ८ सय ५४ जनाले कृषिका लागि फारम भरेका छन्। त्यस्तै उत्पादनमूलक क्षेत्रतर्फ ११ हजार ९ सय जनाले फिटिङ, ७ हजार २ सय २९ जनाले नापतौल र ५ हजार ९३ जनाले कनेक्सनका लागि फारम भरेका छन्।

कोरिया सरकारले ४ हजार कामदार उत्पादनमूलक क्षेत्र र ६ हजार २ सय कामदार कृषि तथा पशुपालन क्षेत्रका लागि भाषा परीक्षा उत्तीर्ण गराउनेछ। यद्यपि भाषा परीक्षा पास गरे पनि कोरिया जाने निश्चित भने हुनेछैन। यो एकेडेमी सर्टिफिकेट जस्तो मात्र हो।

सन् २०१८ को ईपीएसअन्तर्गतको परीक्षा दिन इच्छुकले इतिहासमै पहिलोपटक अनलाइनमार्फत फाराम भर्न पाउने व्यवस्था गरेको थियो। फारम चैत १८ गतेभित्र भर्ने समय दिइएको थियो भने विवरण गल्ती भए त्यसको एक हप्ताभित्रमा सच्याउन पाइने व्यवस्था भएको थियो।

प्रतिक्रिया दिनुहोस्