पर्यटनका लागि बजेट अपुग



काठमाडौं, (नेस)
होटल संघ नेपाल (हान)ले आर्थिक वर्ष २०७४÷७५ को बजेटले पर्यटन क्षेत्रलाई पर्याप्तरूपमा समेट्न नसकेको प्रतिक्रिया दिएको छ। यस क्षेत्रका ठूला प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्थाको माग पूरा हुन नसकेको हानले बताएको हो।

भूकम्प, नाकाबन्दी, नोटबन्दी, चुनावलगायतका कारण संकुचनमा परेको नेपाली पर्यटन क्षेत्र फस्टाउन बृहत् प्रवद्र्धन कार्यक्रमको आवश्यकता रहेको संघले औंल्याएको हो। आव २०७३÷७४ को बजेटमा घोषणा गरिएको भिजिट नेपाल २०१८ र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि घुमफिर वर्ष नारामा मात्र सीमित रहेको संघले बताएको हो।

सन् २०२० भित्र झन्डै ४ हजार तारेस्तरका होटल कोठाहरु थपिँदै गरेको अवस्थामा नयाँ बजेटले भौतिक पूर्वाधार निर्माणमा छुट्याएको बजेट प्रभावकारी रूपमा खर्च हुनुपर्ने धारण हानले रोखेको छ। त्यस्तै भूकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाको छिटो पुनर्निर्माणमा समेत बजेट विनियोजन प्रभावकारी गराउनमा सक्रिय हुनु पनि जरुरी रहेको बताएको छ।

त्यस्तै बजेटमार्फत संघीय संरचना कार्यान्वयनमा देश अघि बढेको सकारात्मक पक्षलाई मनन गरी प्रादेशिकस्तरमा हुने स्थानीय खर्चमा समेत पर्यटन पूर्वाधारका विकासमा काम शुरू गरेर तत्कालैबाट प्रदेशहरुले पर्यटनबाट राजस्व बढाउन सक्नेतर्फ पनि ध्यान जानु आवश्यक रहेको हानको धारणा छ।

‘पर्यटन विकासमा केन्द्रीय बजेटको पर्याप्त ध्यान पुग्न नसकेको अवस्थामा बजेटको सफलता र विफलता विनियोजन भएका कार्यक्रम र खर्च गर्न सक्ने क्षमतामा निर्भर रहेको पनि यहाँ उल्लेखनीय रहेको छ।’ –प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्