एपीएफ सेमिफाइनलमा



काठमाडौं, (नेस)
सशस्त्र प्रहरी बलको एपीएफ क्लब कीर्तिपुरमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा पुगेको छ।

शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय मैदानमा भएको समूह ए को खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई ५ विकेटले हराएको हो। यो जितसँगै विभागीय टोली ४ अंकका साथ शीर्षस्थानमा र≈यो। यसअघि नै यो समूहबाट पश्चिमाञ्चल अन्तिम चारमा पुगिसकेको थियो। समूह विजेता आजको खेलबाट टुंगो लाग्नेछ।

टस जितेर ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो। टोलीका लागि सर्वाधिक योगदान अनुपम सिंहले दिएका थिए। सातौं नम्बरमा ब्याटिङ गर्न आएका अनुपमले ५६ रन जोडेपछि मध्यपश्चिमको सम्मानजनक स्कोरमा पुगेको थियो। अनुपमले ६ चौका प्रहार गरेका थिए। त्यस्तै राजबीर सिंहले ३७ रन बनाएका थिए। टोलीका कप्तान सुबेन्दु पाण्डेले २३ रन जोडे भने सिद्धान्त राज शाही २ छक्काको सहयोगमा ३५ रनमा नटआउट रहेका थिए।

एपीएफका लागि भुवन कार्कीले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा २ मेडन राख्दै २५ रन खर्चेर ३ विकेट लिए। अभिनाश बोहोराले २ विकेट तथा सन्दिप जोरा र कप्तान ज्ञानेन्द्र मल्लले एक–एक विकेट लिएका थिए।

जवाफमा एपीएफले ५ विकेटको क्षतिमा १८४ रन बनाएर २८.२ ओभरमै लक्ष्य पार गरेको थियो। टोलीको जितमा ओपनर सन्दीप सुनारले ८३ बलमा ८७ रन जोड्दा आसिफ शेखले ४० रनको योगदान दिएका थिए। सन्दीपको ब्याटिङमा ७ चौका र ५ छक्का सामेल थिए। त्यस्तै आसिफले ३ चौका र १ छक्का प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्