कार्यपालिका गठनका लागि चुनाव



रसुवा, (नेस)
रसुवाको तीनवटा गाउँपालिकामा कार्यपालिका गठनका लागि चुनाव गरिएकोे छ। कार्यपालिकामा महिला सदस्य र दलित तथा अल्पसङ्ख्यक पदका लागि जिल्लाका प्रमुख दलहरुबीच सहमति हुन नसकेपछि हिजो चुनाव गरिएको हो।

उत्तरगयाको गाउँ कार्यपालिकामा महिला सदस्य र दलित तथा अल्पसङ्ख्यक पदमा नेकपा एमाले विजयी भएको छ। महिला सदस्यमा सीता भट्ट, बृन्दा रैला, शान्ताकुमारी ग्लान र ज्ञानु विकले १६÷१६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत विनीता भट्टराईले बताउनुभयो। दलित वा अल्पसङ्ख्य पदमा कृष्णकुमारी नेपाली र तीर्थबहादुर घले १६÷१६ मत ल्याएर विजयी हुनुभएको छ।

२६ मत खसेको उत्तरगया गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस र नयाँ शक्ति पार्टी नेपालबीच प्रतिस्पर्धा भएको थियो।

कालिकामा महिला सदस्यमा नेपाली कांग्रेसका चनमति विक, सानुमाया तितुङ, नेकपा माओवादी केन्द्रका कल्पना तामाङ रहेका छन्। दलित वा अल्पसङ्ख्यकमा नेपाली कांग्रेसका सानुकान्छा घर्तीले १४ र नेकपा माओवादी केन्द्रका गणेश विश्वकर्माले १५ मत ल्याई विजयी भएका छन्। २६ मत खसेको कालिका गाउँ कार्यपालिकाको निर्वाचनमा नेकपा एमाले एक्लै प्रतिस्पर्धामा रहेको थियो भने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको थियो।

यस्तै पार्वतीकुण्डमा महिला सदस्यमा नयाँ शक्ति नेपालकी निमा वाङमो तामाङले १२ मत, नेकपा एमालेका नोसाङ ग्याल्मो घलेनीले २१ मत, नयाँ शक्ति नेपालका फुर्पू लोङजे तामाङले १६ मत र नेकपा एमालेका सोनाम तामाङले २२ मत ल्याएर विजयी भएका छन्।

यस्तै दलित वा अल्पसङ्ख्यकमा स्वतन्त्रबाट उम्मेदारी दिएका छिरिङ डेरुप घलेले ११ र नेकपा एमालेका ल्याजेन घलेले १७ मतका साथ विजयी भएका छन्। २२ मत खसेको पार्वतीकुण्ड गाउँपालिकामा अल्पसङ्ख्यक पदमा भएको निर्वाचनमा २ मत बदर भएको थियो। जिल्लाको पाँचवटा गाउँपालिकामध्ये दुईवटा गाउँपालिकामा भने निर्विरोध कार्यपालिका गठन भएको थियो।

गाउँ कार्यपालिकामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, गाउँपालिकाभित्रका सबै वडाका वडाअध्यक्ष, गाउँसभाभित्रका महिला सदस्यबाट ४ जना र अल्पङ्ख्यक वा दलितमध्येबाट २ जनाको कार्यसमिति चयन गरिने व्यवस्था छ। रसुवाको ५ गाउँपालिकामा गाउँ कार्यपालिका गठन भएसँगै सबै गाउँपालिकाले पूर्णता पाएको छ।

प्रतिक्रिया दिनुहोस्